७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दसैंमा दशा बन्न सक्छन् ग्रामीण सडक

वर्षाले बिगारेका कालीकोटका ग्रामीण सडकहरू समयमै मर्मत नगरिँदा दसैं–तिहारमा यात्रुले कठिनाइ भोग्नुपर्ने देखिएको छ। वर्षा र पहिरोले बिगारेका कालीकोटका सडक मर्मत भएका छैनन्।

विगत वर्षहरूमा भन्दा यसपालि सडकहरू बढी नै बिग्रे/ भत्केका छन्। पहिरोले बिगारेको कालीकोटको शुभकालीका गाउँपालिका–२ र ३ को भर्ता, ४ र ५ को सुकाटिया तथा पलाँता गाउँपालिकाको राडुनेटा जोड्ने सडक मर्मत गरिएको छैन। कालीकोटका ग्रामीण सडकमा असारयता साना तथा ठुला गाडी चलेका छैनन्। सडक मर्मततर्फ स्थानीय सरकारले चासो नदिँदा खासगरी दसैं–तिहारका यात्रुलाई सास्ती हुने देखिएको स्थानीय बताउँछन्।  

पहाडी सडकहरू वातावरणीय र प्राविधिक मूल्यांकन नगरी डोजरको भरमा खनिएका कारण सानोसानो वर्षाले पनि भत्किने गरेका छन्। सडक बिग्रिएर गाडी चल्न नसकेपछि स्थानीय बासिन्दाले पनि सास्ती खेप्नुपरेको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीले बताए।

उनले भने, ‘मोटरसाइकलसमेत चलाउन कठिन छ, अन्य सवारीसाधनको त कुरै नगरौं।’

सडक कतै पहिराले पुरेको छ त कतै बगाएको छ। पहिरोका कारण शुभकाली गाउँपालिकादेखि सदरमुकाम मान्म जोड्ने सडक ध्वस्त भएको छ। उक्त सडकको सांका–छेलाहान्न–भर्ता र भर्ताघाट–सेल्पी–डाँडा– सुकाटिया खण्डमा दुई महिनादेखि यातायातका साधन चलेका छैनन्।

पलाँता गाउँपालिकाको राडुनेटा जोड्ने सडक पनि बिग्रिएका कारण तीन महिनादेखि यातायातका साधन चलेका छैनन्।

‘दसैं–तिहार नजिकिइसक्यो, सबै लत्ता, कपडादेखि उपभोग्य वस्तु बजारबाट ल्याउनुपर्छ तर सडकको अवस्था नाजुक छ,’ शुभकालीका–३ का किरण अधिकारीले चिन्ता व्यक्त गर्दै भने, ‘सडक मर्मत नगरे यो वर्षको दसैं–तिहार खल्लो होलाजस्तो छ।’

युवा पलायन र बसाइँसराइका कारण गाउँका खेतबारी बाझिँदै गएकाले सामान्य तरकारीदेखि दाल, चामल, नुन, चिनी, मसलासम्म सहरबाटै किनेर गाउँ लैजानुपर्ने अवस्था छ। सडक मर्मत नभए कसरी दसैं मनाउने भन्ने चिन्ताले पनि कालीकोटवासीले सताउन थालेको छ।

नजिकिएको दसैंतिहारलाई ध्यानमा राखेर सडक चाँगै मर्मत गर्ने योजना गाउँपालिकाले बनाएका छन्। दसैं–तिहारमा देश–विदेशमा रहेका मानिस घर आउने तथा टाढाटाढाका कर्मचारीलाई घर जानुपर्ने भएकाले पनि सडक मर्मत गर्नुपर्ने शुभकालीका गाउँपालिका–३ का अध्यक्ष प्रकाशबहादुर शाहीले बताए।

प्रकाशित: ७ आश्विन २०८१ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App