५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री गाउँपालिका साक्षर घोषणा कार्यक्रम उद्घाटन गर्दै। तस्बिर : गोल्डेन बुढा\नागरिक।

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका, हिमा, सिंजा, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भएका हुन्। साक्षर घोषणा गर्न तोकिएका सूचकहरू पूरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो।

कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरेका छन्।

मन्त्री भण्डारीले शुक्रबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेरै कनकासुन्दरीलाई घोषणा गरेका गरे। उनले गुणस्तरीय शिक्षा अहिले आवश्यकता रहेको बताए। यस्तै पातारासी गाउँपालिका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले साक्षर पालिका घोषणा गर्नुभएको हो।

उनले हिमा गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा र सिंजा गाउँपालिकालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा गरेका हुन्।

तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्। कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन रोकायाले कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर रहेको बताए।

यता पातारासी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको उपाध्यायले बताए। उनका अनुसार, एसएलसि वा एसईई पास गरेका ९ सय २८, कक्षा १२ पास गरेका ६ सय ६४, स्नातक तह उत्तीर्ण एक सय ४९ र स्नात्तक तह उत्तीर्ण गरेका ४९ जना छन्।

प्रारम्भिक बाल विकास केन्द्रमा ६ सय ३३, आधारभुत हत (१–५) मा ३ हजार ४, आधारभुत हत (६–८) मा १ हजार ३ सय ४५, माध्यमिक तह (९–१०) मा ७ सय १३ र माध्यमिक तह (११–१२) मा ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाभित्रका रहेका १६ देखि ६० वर्षसम्मका १७ हजार निरक्षरलाई गत वर्षको वैशाख देखि गत असारसम्म साक्षर बनाइएको बताए।

यता चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताए। उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए। उनीहरूलाई साक्षर बनाएसँगै नगरपालिका साक्षर घोषणायोग्य मानिएको हो।

सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ। शिक्षा शाखा प्रमुख शंकर धितालले जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रूपमा संकलन गरिएको तथ्यांकले साक्षर गाउँपालिका घोषणायोग्य देखिएपछि गाउँपालिका नै साक्षर घोषणा गर्न संभव भएको बताए।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन्। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरू साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउककबस्तीमै पुगेका थिए।

गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १ सय ५५ जनाले स्नातक तह, र ८ सय  जनाले आइएड तह उत्तीर्ण गरेका छन्। उच्च मावि पास गरेका १ हजार १ सय ९६, एसएलसी पास गरेका ९ सय ५० र एसइई पास गरेका १ हजार ६ सय ४८ जना रहेका छन्। बालविकासको क्षेत्रमा ४ सय २२ जना सामान्य साक्षर छन् भने ५ हजार ३ सय जना विद्यालय उमेरका बालबालिका साक्षर छन्।

जिल्लाका अन्य तीन स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्न वडास्तरमा कर्मचारीहरू परिचालन गरेर तथ्यांक संकलन गरिरहेका छन्। शिक्षक, अभिभावक, स्थानीय नागरिक र जनप्रतिनिधिहरूसँग घनिभूत छलफल गरिरहेको छन्। तातोपानी,गुठिचौर र तिला गाउँपालिका साक्षर गाउँपालिका घोषणा गर्न लागि परेका छन्।

प्रकाशित: ५ आश्विन २०८१ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App