४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भन्सार छलीको १ करोड ३५ लाख कपडासहित २ जना भारतीय पक्राउ

हेटौंडाबाट भन्सार छलीको एक करोड ३५ लाख रुपैयाँ बराबरको अवैध कपडासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना भारतीय हुन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमोटेमा हेटौंडातर्फ आउँदै गरेको बीआर ०५ जीडी १३४३ नम्बरको भारतीय ट्रकबाट ७४ वटा बोरामा रहेको एक करोड ३५ लाख बराबरको कपडा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालको नेतृत्वमा खटिएको टोलीले भारतीय ट्रकलाई भन्सार छलीको सामान सहित नियन्त्रणमा लिएको हो।

प्रहरीले ट्रकका चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला थाना तुकालीया पूर्वी चम्पारण सपही बस्ने ३० वर्षका जन्दार आलम र सोही स्थानका १९ वर्षका सहचालक मुना मियाँलाई नियन्त्रणमा लिएको छ।

ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर २६४ बोरा आलु राखी बाँकी कपडा लुकाएर ल्याएको फेला परेको हो। ‘ट्रकमा ३४५ बोरा आलु रहेको भन्दै सोही अनुसार भन्सारको बिल काटेर भित्री भागमा ७४ वटा बोरामा तयारी कुर्ता, रोलसहितको सर्ट एवम् पाइन्टको कपडाहरू ल्याएको पाइएको हो’, मकवानपुर प्रहरी प्रमुख रिजालले भने, ‘उक्त कपडाको बजार मूल्य १ करोड ३५ लाख रुपैयाँ रहेको छ।’

भन्सार छली गरेर ल्याइएका लत्ता कपडाहरू, आलुका बोरा र भारतीय ट्रकलाई आवश्यक कारबाहीका लागि पठाइएको छ। सामानसहितको ट्रक आवश्यक कारबाही एवम् अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रकाशित: ३ आश्विन २०८१ १८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App