१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दसैंमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम हुँदैछः भौतिक मन्त्री दाहाल

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले दसैं लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम सुरु गरेको बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले यस्तो जानकारी गराएका हुन। उनले दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताए। उनले नियमित रूपले बनाउने सडक पूर्वाधारसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्ने गरी सडक मर्मतको काम अघि बढेको उल्लेख गरे । 

मन्त्री दाहालले  संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिए । बैठकमा उनले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरूमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गरे ।

उनले निर्माणाधीन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी गराए। उनले निर्माणाधीन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको बताए । उनले सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानुन बनाउन सरकार लागेको बताए ।

मन्त्री दाहालले रुग्ण आयोजनाहरूको काम अघि बढाउनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएर काम भइरहेको जानकारी गराए । उनले निर्माण व्यवसायहरूसँग अध्ययन गर्ने भनी सरकार र निर्माण व्यवसायी महासंघले निकालेको निष्कर्षका आधारमा रुग्ण आयोजना अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए । 

प्रकाशित: २५ भाद्र २०८१ १८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App