३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

दसैँ तिहार नजिकिँदा स्थानीयलाई सडकको चिन्ता

वर्षाले बिगारेको मुर्कुची–माझखर्क सडक। तस्बिरः महेश्वर

वर्षाले बिगारेका पहाडी सडकहरू समयमा मर्मत नगरिए नजिकिएको दसैँ तिहारजस्ता चाडबाडमा स्थानीयबासी आउजाउ गर्न कठिनाइ भोग्नु पर्ने भएको छ। वर्षाले उदयपुरका अधिकतर पहाडी सडक बिग्रँदा यातायात आउजाउ कठिनाइ हुँदै नजिकिएको चाडपर्व प्रभावित हुनेमा स्थानीय चिन्तित छन्।

गएको वैशाखदेखि सुरु भएको वर्षाले विगत वर्षहरूभन्दा यसपालि सडकहरू बढी नै बिग्रे भत्केको अवस्था छ। निरन्तर वर्षाकै कारण जेठ अन्तिमदेखि असार पहिलो साता उता चल्न छाडेका ठूला बसहरू अहिलेसम्म सुचारु भएका छैनन् भने बोलेरो र सुमो जिप पनि आक्कल झुक्कल र मुस्किलले मात्र चल्ने गरेका छन्। साउन भरी त प्राय पहाडी सडकहरू सवारी आउजाउ विहीन भएर रहे। मोटरसाइकलसमेत कठिनाइपूर्वक चले भने अन्य साधनहरु त् चल्नै नसकेको यातायात व्यवसायी बताउँछन्।

वर्षाले पहिरो जानुका साथै हिलो र खाल्डाखुल्डी पर्ने गरी सडक बिग्रन गरेपछि पहाडी गाउँपालिका चिमचुङबुङदेखि सदरमुकाम गाईघाट जोड्ने सडक ध्वस्तै भएको छ। सो सडकको मुर्कुची–पुवारे–माझखर्क–बाराहा खण्डमा गएको ३ महिनायता मोटरसाइकलबाहेक लगभग यातायात बन्द छ। सडक नबिग्रेका बेला ठूला यात्रुवाहक सार्वजनिक बसहरू ४ वटा, डेढदर्जनबढी बोलेरो र सुमो जिपहरू सो रुटमा नियमित रुपमा चल्थे। मोटरसाइकल त असंख्य चल्ने नै भए। तर, वर्षाले गर्दा ३ महिनायता ठूला बसहरू ठप्प छन् भने बोलेरो ३÷४ वटा मात्र मुस्किलले चलेका छन्।

सडकको हालत खराइ भएकाले गाउँ–सदरमुकाम गर्ने एउटै माध्यम मोटरसाइकल मात्रमा सीमित हुनु परेको लिमचुङबुङ गाउँपालिकाले सञ्चालनमा ल्याएको सार्वजनिक बसका चालक खड्ग राई बताउँछन्। वर्षाले सडक बिग्रेका कारण वैशाख अन्तिमदेखि बस चलाउन छाडेको उनले बताए। गाईघाटदेखि मुर्कुचीसम्म चिल्लो मदन भण्डारी लोकमार्ग भए पनि त्यहाँदेखि गाउँपालिका केन्द्र बाराहा पुग्ने कच्ची सडकमा दर्जनौँ ठाउँ भत्के बिग्रेकाले बस चल्न बन्द भएको चालक राईले बताए।

उता बोलेरो पनि दुःखले चलाउनु परेको व्यवसायी दिनेश कटुवालले बताए। कटुवालका अनुसार दर्जन बढी चल्ने गरेका बोलेरो गाडीहरू वर्षाले सडक बिगारेपछि ४ वटामा सीमित हुन पुगेको छ। त्यो पनि ३ घण्टाको दूरी रहेको मुर्कुचीदेखि माझखर्क हुँदै बाराहासम्म पुग्न ९–१० घण्टासम्म लाग्ने उनले बताए। अर्का बोलेरो व्यवसायी राजेन्द्र राईका अनुसार झम्पल, कोदालो र गैटीजस्ता औजार उपकरण लिएर नहिँडे गन्तव्यमा पुग्नै नसकिने अवस्था छ। हिक्दा हिँड्दै कुनै पनि बेला पानी परेर पहिरो जाने, सडक पुरिने भएकाले तत्काल मर्मत नगरे बिचैमा बास पर्ने सम्भावना भएकाले मर्मतका लागि औजार उपकरण बोकेर यात्रा गर्ने गरेको राईले बताए।

‘जहाँ बिग्रेको छ, त्यहीँ गाडी रोकेर बनाउन थालिहाल्नुपर्छ, नत्र त बिच बाटोमै बास पर्ने र यात्रु अलपत्र पर्ने खतरा हुन्छ’ अर्का बोलेरो चालक प्रदिप कार्कीले भने ‘त्यसैले कोदालो, झम्पल, गैँटी त बोक्नै पर्छ, कुन बेला कहाँ बाटो बनाउनु पर्छ टुङ्गै हुन्न।’ कतिपय बेला एकाध घण्टा मर्मत गर्दा जिप छिर्न सक्छ भने कहिलेकाहीँ घण्टौँ लगाएर मर्मत गर्दै गन्तव्य साँध्नुपर्ने अनुभव कार्कीले सुनाए।

‘दसैँ तिहार नजिकिइसक्यो, सबै लत्ता कपडादेखि उपभोग्य बस्तु बजारबाट ल्याउनुपर्छ’ लिमचुङबुङ ५ का हिम्माका मदनबहादुर खड्का चिन्ता व्यक्त गर्छन् ‘सडकको हालत यस्तो छ। बेलैमा मर्मत नगरे यो वर्षको दसैँ तिहार मनाई होलाजस्तो छैन।’ युवा पलायन र बसाई सराई ले गाउँका खेती बारी सबै बाझिँदै गएकाले सामान्य तरकारीदेखि दाल, चामल, नुन चिनी, मसलासम्म सहरबाटै गाउँ भित्र्याउनु पर्ने अवस्था छ। यस्तो अवस्थामा सडक बिग्रेपछि कसरी दसैँ मान्ने भन्ने चिन्ता अर्का स्थानीय बौवा विश्वकर्मालाई पनि लागिरहेको छ।

नजिकिएको दसैँ, तिहारमा सडक सुचारु गर्न सकेसम्म छिट्टै मर्मत गर्ने योजना गाउँपालिकाले बनाएको छ। तर, अधिकतर भूभाग छिमेकी रौतामाई गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले केही अड्चन आई लाग्ने गरेको गाउँपालिका अध्यक्ष मेजर राई बताउँछन्। उनका अनुसार गाईघाट–लिमचुङबुङ डिकको मुर्कुचीदेखि माझखर्कसम्म रौतामाई गाउँपालिकाको भूभाग पर्छ।

सदरमुकामदेखि गाउँपालिका प्रवेश गर्ने दक्षिण र पश्चिम दुवै नाका रौतामाईको पर्ने भएकाले पनि भनेजस्तो सडक मर्मत गर्न समस्या हुने गरेको अध्यक्ष राईले बताए।

मुर्कुचीदेखि खमारेसम्म ७ नं. वडा, पुवारेदेखि डिल्लीबजार हुँदै सिन्कौलेसम्म ८ नं., सिन्कौलेदेखि रमितेसम्म २ नं. र रमितेदेखि माझखर्कसम्म १ नं. वडा रौतामाईको भूगोल पर्छ। माझखर्कदेखि भने पूर्वतर्फ लिमचुङबुङ  ५ जाँते, उत्तरतर्फ ४ नं. बलम्ता र पश्चिमतर्फm ३ नं. बाराहाको भूगोल जोडिएको छ।

लिमचुङबुङको भूगोल प्रवेश गर्ने अधिकतर सडक दूरी अर्को स्थानीय तह भएकाले पनि भनेको बेला सडक मर्मत र स्तरोन्नतिमा समस्या भइरहेको गाउँपालिका उपाध्यक्ष पुष्पलाल राई बताउँछन्। अर्को भूगोल परे पनि सडक मर्मत गर्ने काम भने लिमचुङबुङले नै गर्दै आएको छ।

लिमचुङबुङबासी नागरिकले उपभोग गर्ने सडक भएकाले पनि आफ्नै स्रोत साधनको प्रयोग गरी सडक मर्मत गर्दै आउनु परेको राईले बताए। उपाध्यक्ष राईले नजिकिएको चाडपर्वलाई लक्षित गरी सडक मर्मत कार्य छिट्टै थाल्ने तयारी भइरहेको पनि बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले चाडपर्वका बेला आउजाउ गर्न सडक मर्मत गर्नुपर्ने बताए। चाडबाडमा विभिन्न देश विदेशमा रहेका नागरिकहरू घर आउने तथा टाढा टाढा घर भएर गाउँपालिकामा कार्यरत कर्मचारीलाई घर जानुपर्ने भएकाले पनि सडक मर्मत गर्नुपर्ने उनको भनाई छ। त्यसका लागि गाउँपालिकाको स्काभेटर, यन्त्र उपकरण, बजेट र जनशक्ति परिचालन गरिने पनि हाकिम  गुरुङले बताएका छन्। 

प्रकाशित: १ आश्विन २०८१ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App