१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लफ्याङ सडक मर्मतपछि सुचारु

बिग्रेको सडक मर्मत गर्दै स्काभेटर। तस्बिर: महेश्वर

वर्षाले बिगारेर अवरुद्ध भएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ५ स्थित लफ्याङक्षेत्रको सडक मर्मत पछि सुचारु भएको छ।

मझुवागढी नगरपालिकामा पर्ने सो सडकको मर्मत साकेला गाउँपालिकाले गरेपछि सुचारु भएको हाे।

साकेला–साप्सु–दिक्तेल जोड्ने कच्ची सडकको लफ्याङ खण्ड वर्षाले भत्काएर यातायात आउजाउ नै रोकिएको थियो। नगरपालिकाले मर्मत गर्नुपर्ने भए पनि समयमा नगर्दा गाउँलेलाई सदरमुकाम आउजाउ गर्न बाधा पुगेकाले गाउँपालिकाले बाध्य भएर मर्मत गर्नु परेको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए। उनका अनुसार बिग्रेको सडक समयमै मर्मत नगरे दिक्तेल आउजाउ गर्न समस्या पर्ने गरेकाले गाउँपालिकाकै खर्चमा मर्मत गरेर सडक सुचारु गर्नु परेको हो।

साकेला र दिक्तेल रुपाकोट मझुवागढीको सीमास्थल साप्सु खोलादेखि साकेलातर्फ गाउँपालिका केन्द्र मात्तिम–मानेभन्ज्याङ हुँदै पाँचधारेसम्म जोड्ने सडक स्तरोन्नतिसहितको छ। तर, मानेभन्ज्या–मात्तिम–साप्सु खोला पुल तरेपछि लफ्याङ–दिक्तेल जोड्ने कच्ची सडक भने हरेक वर्षामा बिग्रने गरेकाले साकेलाबासी नागरिक सदरमुकाम आउजाउ गर्न समस्यामा पर्ने गरेका छन्। अलिअलि वर्षा हुनेवित्तिकै सडक बिग्रेर हिलाम्य र खाल्डाखुल्डी हुने हुँदा लफ्याङक्षेत्र भएर नियमित यातायात आवागमन समस्या हुने गरेको छ।

दिक्तेल बजारको अस्पताल चौकदेखि लफ्याङ हुँदै साप्सुखोलासम्म आइतबार दिनभर लगाएर दोस्रो पटक सडक मर्मत गरिएको छ। लफ्याङक्षेत्रको करिब १० किलोमिटर सडक केहीदियताको वर्षाले बिग्रेर सबै खाले सवारी साधन गुड्न नसक्ने अवस्था भएको थियो। गाउँपालिकाले आफ्नै स्काभेटर, ट्याक्टर र जनशक्ति प्रयोग गरी मर्मत गरेपछि सोमबार बिहानदेखि यातायात सुचारु भएको गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले बताए।

उनका अनुसार सो सडक दिक्तेल बजारदेखि साप्सु खोला हुँदै साकेलाको मानेभञ्ज्याङ–पाँचधारे जोडिएको छ। त्यसैगरी छिमेकी दिप्रुङ चुईचुम्मा गाउँपालिका भएर उदयपुर सदरमुकाम गाईघाट हुँदै तराई जिल्लासम्म साकेलालाई पनि जोडेको छ।

‘पहिला पनि यो सडक धेरै बिग्रेको थियो, नगरपालिकालाई कत्ति भन्दा पनि वास्ता गरेनन्, त्यसैले आफैले मर्मत गरियो’ वडाध्यक्ष तामाङले भने ‘यस पटक पनि फेरि बिग्रेर यातायात आवागमन नै रोकिएकाले पुनः मर्मत गरेका हौँ।’

यो सडक साकेला गाउँपालिकाबासीलाई प्रशासनिक कार्यका साथै सदरमुकाम दिक्तेलदेखि दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न तथा बिरामीलाई आकस्मिक उपचार गर्न लान एम्बुलेन्स आउजाउ गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ।

यो सडक अवरुद्ध हुन पुगे साकेला गाउँपालिका पुरै प्राकृतिक नाकाबन्दीमा पर्ने गरेको छ। त्यसैले बिग्रे भत्केको बेला अर्को स्थानीय तह भए पनि आफैले मर्मत गरेर सुचारु गर्ने गरेको छ। 

प्रकाशित: २४ भाद्र २०८१ १६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App