१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पर्साको सुपौलीबाट नागरिकता वितरण सुरु

तस्बिर : विमला गुप्ता/नागरिक

पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सुरु भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार एक कार्यक्रमबीच सुपौली कार्यालयको उद्घाटन गरेका हुन्। योसँगै उक्त कार्यालयबाट नागरिकता वितरणसहितको सेवा सुरु भएको हो। 

कर्मचारी अभावमा तीन वर्षयता सुपौली कार्यालय बन्द थियो। अहिले भने सुपौली कार्यालयमा एकजना अधिकृतसहित ७ जना कर्मचारी कार्यरत छन्। यो कार्यालयले २०७५ सालदेखि सेवा दिए पनि नागरिकता वितरण भने गरेको थिएन।

तस्बिर : विमला गुप्ता/नागरिक

कार्यालय उद्घाटन गर्दै प्रजिअ भुसालले सुपौलीबाट पासपोर्टबाहेकको सेवा सञ्चालन हुने जानकारी दिँदै नागरिकता वितरण, प्रतिलिपि वितरण, राष्ट्रिय परिचयपत्रसहित अन्य कागजात प्रमाणित गर्ने कार्य हुने बताए।

सुपौली इलाकाबाट सेवा सुरु भएपछि ठोरी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकाका स्थानीयलाई सहज हुनेछ।

यसैबिच सुपौली इलाका स्थापनाका लागि जग्गा उपलब्ध गराउने चार जना जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले जग्गाधनी प्रभु चौधरी, बिन्दु चौधरी, अनरकलिया गुरो र धर्मेन्द्र गुरोलाई सम्मानित गरेका हुन् । 

प्रकाशित: २३ भाद्र २०८१ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App