३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

‘चर्को महँगीले बाँच्नै गाह्रो भयो सरकार’

चर्को महँगीले उपभोक्ताहरू आक्रोशित बनेका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको प्रति गुनासो गरे।

एक उपभोक्ताले भने, "एक दर्जन केराको मूल्य दुई सय २० देखि दुई सय ५० रुपैयाँसम्म पुगेको छ। यस्तो अवस्थामा हामी कसरी बाँच्ने, सरकार ?"

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले पनि केराको मात्रै नभई, हरेक उपभोग्य सामानको मूल्य आकासिएको सुनाए। उनले आलु, प्याज, चिनी, चामललगायतका खाद्यान्नहरूको मूल्य निरन्तर वृद्धि भइरहेको भन्दै भारतले निर्यातमा कडाइ गरेपछि कालोबजारी बढेको उल्लेख गरे।

नेपाल प्रेस सोसाइटी भक्तपुरले आयोजना गरेको ‘अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र बजार अनुगमन’ सम्बन्धी साक्षात्कार कार्यक्रममा थापाले केही व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी सामानको मूल्य बढाएर उपभोक्तालाई शोषण गरिरहेको जिकिर गरे।

उपभोक्ता अधिवक्ता केदार अधिकारीले उपभोक्ता संरक्षण ऐन २०७५ लागू भए पनि यसको कार्यान्वयन कमजोर भएकाले बजारमा महँगीले कहिल्यै छोड्न नसकेको प्रति दुःख व्यक्त गरे। उनले कानुन बनाउनु मात्र नभई, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै जरुरी भएको बताए।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अव्दुल खानले दूरदर्शिताको अभावमा जनताले अझै लामो समयसम्म यो समस्या झेल्नुपर्ने बताए।

उनले चेतावनी दिँदै भने, "आयातमा हामी भर परिरहँदा समस्या झन् विकराल बन्दै जाने निश्चित छ। समाधानको लागि निर्यातलाई प्रोत्साहन गर्नुपर्छ र बाँझो खेतलाई उर्वर बनाएर आत्मनिर्भरता तर्फ अग्रसर हुनु पर्छ।"

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले नियमित बजार अनुगमनको अभावमा जनता महँगीको मारमा परेको बताए।

भक्तपुर नगरपालिकाले मात्र नियमित अनुगमन गरेको र अन्य तीन नगरपालिकामा अनुगमनको अभावले नगरवासीहरू बढी पीडित भएको उनको ठम्याई थियो।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज पौडेलले नगरपालिकाले उपभोक्ताको हितमा काम गरिरहेको र अनुगमनको प्रक्रिया अघि बढाइएको जानकारी गराए।

सहभागीहरूलाई उपभोक्ता हक अधिकार सम्बन्धी ब्रोशर पनि वितरण गरिएको थियो।

प्रकाशित: २० भाद्र २०८१ २१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App