३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नुवाकोटमा हजार महिला उद्यमीको भेला, स्थानीय उत्पादनको बजारीकरणमा जोड

हरितालिका तीजको अवसरमा आयाेजित महिला उद्यमी भेला तथा वृहत् स्वास्थ्य शिविर कार्यक्रम शनिबार नुवाकोटमा सम्पन्न भएकाे छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथिका रूपमा उपस्थित कार्यक्रममा हजारौं महिला उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला उद्यमी महासंघका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि शोभा ज्ञवालीले महिला सशक्तीकरणका लागि उद्यमशीलता एक महत्त्वपूर्ण माध्यम रहेको बताइन्।

उनले नेपाली समाजमा छोराहरूलाई विदेश पठाउने र छोरी-बुहारीलाई घरमा सीमित गर्ने प्रवृत्तिलाई परिवर्तन गर्न र छोरी-बुहारीहरूले उद्यमशीलता अपनाएर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्।

यसैगरी, महिला उद्यमी संघ नुवाकोटका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गीता अमात्यले वर्तमान सरकार उद्यमशीलताको पक्षमा रहेकोले महिला उद्यमीहरूको विकासमा सहजता आएको धारणा राखिन्।

उनले भनिन्, "महिला उद्यमशीलताको प्रवर्द्धनका लागि सरकारले विशेष चासो देखाएको छ। आवश्यक बजेट केन्द्रबाटै आउने गरेको छ। तसर्थ, उद्यमसम्बन्धी कुनै आवश्यकतामा हामीसँग सम्पर्क गर्नुहोस्। हामी सधैं सहयोगका लागि तयार छौं।"

स्थानीय तभरमा यहाँ धेरै कुराहरू फल्ने बताउँदै अमात्यले त्यसलाई बिक्री वितरण कसरी गर्ने र यहाँ फलेका कृषिका सामग्रीहरू बजारीकरण व्यवस्थाका साथै राष्ट्रिय स्तरमा बेच्न पाइयोस् भन्ने धारणा राखिन्।

कार्यक्रममा मुख्यमन्त्री लामा र अध्यक्ष ज्ञवालीले महिला उद्यमी, कृषक, र महिलाहरूले बजाएको नौमती बाजालाई पुरस्कृत गरे। साथै, अध्यक्ष शोभा ज्ञवालीले "म उद्यमी" नामक म्युजिक भिडियोको पनि विमोचन गरिन्।

कार्यक्रममा स्थानीय उत्पादनको बजारीकरणकाे विषयलाई जाेड दिइएकाे थियाे।

यसका साथै नजिकिँदै गरेकाे हरितालिका तीजलाई लक्षित गर्दै महिला उद्यमीहरूले बनाएका कृषि तथा हस्तकला सामग्रीहरू, माला, लत्ताकपडा तथा गहनाहरूको प्रदर्शन गरिएकाे थियाे।

स्वास्थ्यको महत्त्वलाई दृष्टिगत गर्दै लायन्स क्लब अफ काठमाडौंको सहयोगमा वृहत् स्वास्थ्य शिविर समेत सञ्चालन गरिएकाे थियाे। शिविरमा सहभागी महिला दिदीबहिनीहरूलाई स्वास्थ्य सामग्री पनि वितरण गरिएकाे थियाे।

प्रकाशित: १५ भाद्र २०८१ २३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App