२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

अबको दुई/तीन महिनापछि आन्दोलनले ठूलै रुप लिन्छ: अध्यक्ष दाहाल

फाइल।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दुई/तीन महिनाभित्र आन्दोलनले ठुलै आँधीबेहरी सिर्जना गर्ने दाबी गरेका छन्।  

उनले अहिलेको सरकार ‘भ्रष्टाचारीहरुको र भ्रष्टाचारी बचाउन बनेको’ भनेर जनताले बुझेको आरोप लगाउँदै कुनै पनि बेला आन्दोलन भड्किन सक्ने जिकिर गरे।

‘त्यो आन्दोलन हुँदा एकातिर सामन्ती अवशेषहरू स्थास्थितीवादीतिर लाग्ने, अहिलेको सरकार सञ्चालकहरू चाहिँ २०४७ सालतिर फर्कने र माओवादीसहित केही दल भने अहिलेको उपलब्धिको पनि रक्षा गर्ने र थप उन्नतिका निम्ति अगाडि परिवर्तनका पक्षमा रहनेछौं,’ अध्यक्ष दाहालले शनिबार साँझ इटहरीमा योङ्ग कम्युनिस्ट लिग नेपाल इटहरीको छैटौँ इटहरी सम्मेलनका क्रममा भने।

आन्दोलनबाट परिवर्तन भएर राजनीतिक मात्रचित्रलाई नयाँ ठाउँमा पुर्‍याउन सकिने भएकाले कार्यकर्तालाई तयारी अवस्थामा रहन उनले निर्देशन समेत दिए।

अहिले खास गरि एमाले नेतृत्वले अहिलेको संविधान भन्ने बित्तिकै माओवादीको अनुहार देख्ने गरेकाले गर्दा पुरानै २०४७ सालको संविधानमा फर्कन खोजेको उनले आरोप लगाए।

‘एमालेले अहिलेको परिवर्तन संघीयता, धर्म निरपेक्षता, गणतन्त्रलगायत सम्पूर्णमा माओवादी झल्को देख्न गर्छ,’ उनले भने, ‘अहिले त एमाले नेतृत्व दुर्गा प्रसाईं र बालेनलाई पनि प्रचण्डले उचालेको भन्न थाली सके।’

उनले दुर्गा प्रसाईंलाई केपी ओलीले नै केन्द्रीय सदस्य बनाएको र बालेनलाई माओवादीको पोल्टामा हाल्दा फाइदै पुग्ने टिप्पणी गरे।

अध्यक्ष दाहालले माओवादी नेतृत्व सरकारले सुशासनको पक्षमा, आर्थिक न्यायको पक्षमा, समृद्धिको पक्षमा अभियान चलाउँदा देशका दलाल पूजीपति, नोकरसाह, विचौलिया, कमिसनखोरीले तारो बनाएको आरोप लगाए।

‘हाम्रो नेतृत्वको सरकारले भ्रष्टाचारीहरु, त्यसमा पनि सबैभन्दा हाई प्रोफाइलका मान्छेहरू जेलमा परे, अनि ठूला ठूला मान्छेहरू राज्यबाट जनताको सार्वजनिक जग्गा व्यक्तिको नाममा पारेर चलखेल गर्नेहरूविरुद्ध फिर्ता ल्याउने काम भयो,’ उनले भने, ‘ललिता निवास, बासवारी छाला जुत्ता कारखानासँगै गिरीबन्धुलगायतका भ्रष्टाचारीविरुद्द ठूलो कदम बढाउँदै लाने योजनामा थियौं।’

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति गिरफ्तार गर्ने बित्तिकै तिनीहरूको बयान बालकोट तिर पनि सुझियो, अनि बुढानिलकन्ठतिर पनि सोझिएपछि ठूलो आतंक सिर्जना भएर रातारात कांग्रेस र एमाले मिलेको उनले जिकिर गरे।

‘पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको इतिहास केही छैन, भारतमा कांग्रेस आइ र जेपिआई मिलेर कहिल्यै सरकार बनाएका छैनन्। अपवादमा ठुलै दुर्घटना हुँदा मात्र राष्ट्रिय सरकार बन्छ,’ दाहालले भने, ‘मिल्नुपर्ने एउटै मात्र कारण भ्रष्टाचार बचाउन।’

उनले संख्याको आधारमा माओवादी सरकारबाट बाहिर निस्किदा पनि गर्जिएर बाहिर निस्किएको र कांग्रेस-एमाले सरकारमा रुझेको बिरालो जस्तो भएर गएको टिप्पणी गरे।

‘विगतमा हामी (माओवादी) बाट कमजोरी भएको हो। अलिअलि पूजीपतिसँग, अलिकति दलालसँगै विचौलियासँगको संगत गर्न लाग्यौ, अब जनताको अगाडि लाज नमानीकन भनेर जानुपर्छ,’ दाहालले भने।

अध्यक्ष दाहालले २०६४ सालमा माओवादीलाई मत हालेका र तिनका छोराछोरीको सूची तयार पार्नुका साथै माओवादी जनयुद्धमा साथ दिएका वाइसिएल र जनमुक्ति सेनाको अवस्था, घाइते, अपाङ्ग, शहीद र बेपत्ता परिवारको अवस्थाको तथ्याङ्क तल्लो वडा तहदेखिको राख्न निर्देशन दिए।

‘यी सम्पूर्ण रेकर्ड प्रारम्भिक रुपमा तयारी गरेपछि यसैका आधारमा अब ठुलै अभियान चलाइनेछ। यो अभियान अब आउने चुनावसम्मको तीन वर्षको हुनेछ। पार्टीको उद्देश्य अब पुरानै तरिका र शैलीले हुने छैन, जसले गर्दा अब परिवर्तन भएर जानैपर्छ,’ उनले भने।

प्रकाशित: २९ भाद्र २०८१ २१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App