३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङमा चट्याङले तीन जना गम्भीर

खोटाङमा चट्याङको झट्काले तीनजना गम्भीर घाइते भएका छन्।

सामान्य वर्षासँगै शुक्रबार राति परेको चट्याङको झट्काले जिल्लाको ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्क पातेलका २१ वर्षीय डेनिस भुजेल, ६ वर्षीया अनिशा भुजेल र १५ वर्षीया समीक्षा दर्जी घाइते भएका हुन्।

स्थानीय मोहन भुजेलका घरमा बसिरहेका बेला डेनिस र अनिशालाई राति ८ः३० बजेको समयमा र समीक्षालाई आफ्नै घरमा सोही समयमा चट्याङको झट्काले गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार चट्याङले गम्भीर घाइते भई बेहोस रहेका तीनैजनाको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क लगिएको छ।

उद्धारमा खटेका प्रहरीका अनुसार उनीहरू तीनैजनाको प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रहरी निरीक्षक हरि बराललाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

१२ घन्टाको उपचारपछि उनीहरू होसमा आइसकेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। तीनैजना  खतरामुक्त भइसकेको पनि प्रहरी भनाइ छ।

घाइते डेनिस मोहन भुजेलका छोरा, अनिशा दुर्गानाथ भुजेलकी छोरी र समीक्षा ओडारेका टेकबहादुर दर्जीकी छोरी भएको बताइएको छ। फरक–फरक घर र गाउँ भए पनि तीनैजनालाई एकैचोटी परेको चट्याङले बेहोस बनाएको पनि स्थानीयले बताएका छन्।

शुक्रबार राति परेकोे चट्याङले व्यक्तिसँगै विद्युतीय सामग्रीमा पनि ठूलो क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ। ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता तथा ३ नं. वडा ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीका अनुसार चट्याङले दुई किशोरीसहित तीनजनालाई घाइते मात्र नबनाएर कैयन् घरका विद्युत्का मिटरबक्स, टेलिभिजन, बल्वजस्ता विद्युतीय सामग्रीमा ठूलो क्षति पुर्‍याएको छ।

चट्याङले गाउँपालिकाका विभिन्न वडा र बस्तीवासीको पनि विद्युतीय तथा भौतिक सम्पत्तिमाथि क्षति गरेको खबर आइरहेको वडाध्यक्ष राजभण्डारीले बताए। क्षति विवरण गाउँपालिका र प्रहरीले संयुृक्त रूपमा संकलन गरिरहेकाले अहिलेसम्म कति हानिनोक्सानी भयो भन्ने यकिन भइसकेको छैन।

गाउँपालिकाको अर्थिङ व्यर्थ

खोटाङको ऐंसेलुखर्क गाउँपालिका चट्याङ बढी पर्ने ठाउँ भएकाले गाउँपालिकाले यसबाट बच्ने उपाय अपनाउँदै आएको छ। स्थनीयलाई चट्याङबाट बचाउने उद्देश्यले यसअघि नै गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङ जडान गरेको जनाएको छ।

जसअनुसार अघिल्लो कार्यकालमा जनप्रतिनिधिले गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको बताइएको छ, तर अर्थिङ हुँदा पनि चट्याङ पर्न नछाडेको र क्षति हुने क्रम जारी रहेको वडाध्यक्ष राजभण्डारीको भनाइ छ। यस वर्ष पनि मनसुन परिवर्तनसँगै ऐंसेलुखर्कका विभिन्न ठाउँमा पटकपटक चट्याङ परेर क्षति हुने क्रम जारी रहेको छ।

सदरमुकाम दिक्तेल रूपाकोट मझुवागढी र त्रिधार्मिकस्थ हलेसी रहेको हलेसी तुवाचुङ गरी २ नगरपालिकासहित १० स्थानीय तह रहेको खोटाङमा बर्सेनि चट्याङले जनधनमाथि क्षति पुर्‍याउँदै आएको छ। चट्याङको जोखिममुक्त गर्न सम्बन्धित व्यक्ति र निकायबाट ठोस कदम चाल्न ढिला गर्न नहुने सर्वसाधारण जिल्लावासीले माग गर्दै आएका छन्।

प्रकाशित: १५ भाद्र २०८१ १७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App