३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपहिरोले कर्णाली सडक सञ्जालबाट विच्छेद

पुल बगायो, सडक खुल्न साता लाग्ने

निरन्तरको वर्षापछि आएको पहिरोका कारण कर्णाली सडक सञ्जालबाट विच्छेद भएको छ। बुधबारको वर्षापछि आएको बाढीपहिरोले कर्णाली राजमार्गअन्तर्गत दैलेख–कालीकोट जोड्ने दहीखोलाको सडक पुल बगाएको छ। 

कालीकोटको गगने खोलामा आएको पहिरोले ५० मिटरको ग्याबिन वाल बगाएको छ। यस्तै जितेगडामा १५ मिटरको ग्याबिन वालका साथै दैलेखको आठबिस नगरपालिका–५ मालाचौरमा पनि १५ मिटर सडक बाढीपहिरोले बगाएको छ।

जिल्ला प्रहरी कार्यालयका कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बुधबार रातिको अविरल वर्षाका कारण पुल बग्नुका साथै ठाउँठाउँमा सडक भत्किँदा र पहिरोमा सडक पुरिँदा यातायातका साधन सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने बताए। उनले पहिरोका कारण साबिकको कर्णाली सडक सञ्जालबाट पूर्ण विच्छेद भएको बताए।

कर्णाली राजमार्ग हुँदै कालिकोट, जुम्ला र मुगु पुगिन्छ भने कर्णाली राजमार्गपछि जोडिने कर्णाली करिडोरले कालिकोट हुँदै सुदूरपश्चिमको बाजुरा र कर्णालीको हुम्ला जिल्लालाई जोड्छ। ‘रातिभरिको वर्षाले कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो खसेको छ। 

दैलेखबाट साबिकको कर्णाली अञ्चल जोड्ने एक मात्र कर्णाली राजमार्गको दहीखोलामा रहेको पुल बगाएको छ,’ उनले भने, ‘सडकको नयाँ ट्र्याक खोलेर यातायातका साधन चलाउन केही दिन लाग्नेछ।’

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतन मण्डलले वर्षाले कर्णाली राजमार्गमा ठुलो क्षति पुर्‍याएको बताए । उनका अनुसार दहीखोलाको पुलका साथै जितेगडा, गगने खोला, एस मोडलगायत ठाउँमा वर्षाले ठुलो क्षति पुर्‍याएको छ। 

‘अघिल्लो वर्ष मात्रै कालीकोटका विभिन्न ठाउँमा सडक फराकिलो बनाएका थियौ, नाला निर्माण गरेका थियौं, ग्याबिन जालीसहितका वाल निर्माण गरेका थियौं,’ उनले भने, ‘ती सबै संरचना एकै रातको वर्षाले बगायो।’

उनले स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन नै नगरेर खनेका सहायक सडकका कारण कर्णाली राजमार्गमा क्षति पुगेको बताए। ‘गगने खोलामा नियमित पहिरो जानुको एउटै कारण कालिकोटको शुभकालिका गाउँपालिकाले खनेको सहायक सडक हो,’ उनले भने, ‘अहिले जहाँजहाँ पहिरो गएको छ, त्यहाँत्यहाँ सहायक सडकहरू खनिएका छन्।’

दहीखोलानजिकै पुलमा रोकिएका दुईवटा मालवाहक ट्रकमा पनि पहिरोले क्षति पुर्‍याएको छ। ट्रक चालक कमल जैसीले वर्षा हुन थालेपछि पुल छेउमा रोकेर राखेका ट्रकहरू पहिरोले बगाएको बताए। ‘बाढीले पुल बगाए पनि ट्रक केही वर रहेकाले केही धकेलियो,’ उनले भने, ‘पल्टिएको भए ठुलो क्षति हुन्थ्यो।’ उनले खोलामा ठुलो बाढी आउन थालेपछि आफूहरू मकैबारीमा गएर बसेको बताए ।

‘मसहित १२ जना साथी मकैबारीमा गयौं, रातभर त्यहीँ बस्यौं,’ उनले भने, ‘पुल बगाउने गरेर आएको बाढीले हामीलाई पनि लगेर जान्छ कि जस्तो लागेको थियो, धन्न बाँचियो ।’ दही खोलानजिकै रहेको एउटा घर पनि बाढीले बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

वर्षाले जितेगडादेखि दैलेखको खिड्कीज्युलासम्म ३५ ठाउँमा पहिरो गएको छ। यो पहिरो पन्छाउन, भत्किएको ठाउँमा सडकको नयाँ ट्र्याक खोल्न एक साता लाग्ने देखिन्छ। बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी अर्जुन केसी, सशस्त्र प्रहरीका डिएसपी दीपेन्द्रराज विष्ट, पत्रकारलगायतले सडकको अनुगमन गरे। 

प्रजिअ गणेश नेपालीले कर्णाली राजमार्ग खुलाउने विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको बताए। नले पहिरो पन्छाउन स्काभेटर आइसेकाले जति सकिन्छ चाँडो सडक खुलाउने गरी काम हुने बताए। ‘गगने खोला र एस मोडमा स्काभेटर पठाइसकेका छौं,’ उनले भने, ‘एस मोडमा ठुलो ढुंगा खसेकाले फुटाउन समय लाग्न सक्छ।’

सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुराका यात्री बाटोमा अलपत्र परेका छन्। बिरामीले झन् सास्ती पाइरहेका छन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध हुँदा गाडी ठाउँठाउँमा रोकिएका छन्। दुई सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक बर्खा लागेसँगै अवरुद्ध हुँदै आएको छ। असारयता मात्रै ४१ पटक कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

प्रकाशित: १४ भाद्र २०८१ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App