बागलुङमा ९ वर्षपछि हनुमान नाच देखाइने भएको छ। हनुमान नाच संरक्षण परिषद्ले आगामी मंगलबार विधिवत् पूजाआजा गरी हनुमान नाच देखाउन सुरु गर्ने जनाएको छ।
भाद्र ११ गतेबाट सुरु गरेर आगामी चैतमा हनुमान नाचको समापन गर्ने योजनामा रहेको हनुमान नाच संरक्षण परिषद् बागलुङका मूल कजी ईश्वरप्रसाद श्रेष्ठले बताए। ‘भदौको पहिलो मंगलबार नै निकाल्नुपर्ने हो, त्यो दिन गाईजात्रा परेका कारण निकाल्न सकिएन,’उनी भन्छन्,‘११ गतेबाट हामी विधिवत् सरुवा गर्दैछौं। चैतमा पुगेर समाप्त गर्ने सोचमा छौँ।’
आधिकारिक रुपमा ९ वर्षपछि बागलुङमा हनुमान नाच देखाउन थालिएको हो। बिचमा कोरोना लगायतका समस्याले गर्दा समस्या भएको उनले जानकारी दिए। ‘हनुमान नाच संरक्षण परिषद्को कार्यकाल पाँच वर्षको हुन्छ, एक कार्यकालमा कम्तीमा एक पटक हनुमान नाच निकाल्नुपर्छ भन्ने मान्यता हो,’उनले भने,‘यो फेरी बिजोर वर्षमा निकाल्नुपर्ने भएका कारण कोरोनाले पनि समस्या पा¥यो। ९ वर्षपछि निकाल्दैछौं।’ तीन वा पाँच वर्षमा निकालिँदै आएको आएको हनुमान नाच निकाल्न ढिलाई भएको हो।
शिरमा श्रीराम लेखिएको पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्च जोडेर हनुमान जस्तै देखिने एक हुल मानिसहरूको दुई दुई जनाको जाडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाच भनिन्छ। हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो। मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले नाच्ने गरेका छन्। पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार अनुसार नाच्ने गर्छन्। जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रुपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउनका लागि कठिन पर्दै गएको मूल कजी श्रेष्ठको भनाई छ।
‘१३ जोडी त कलाकार नै हुन्छन्, कसैलाई केही अप्ठ्यारो पर्दा उसको ठाउँ लिने थप कलाकार तयारी अवस्थामा राख्नुप¥यो,’उनले भने,‘महिनौँसम्म अभ्यास गर्नुपर्छ। आर्थिक रुपमा र कलाकार जोहो गर्न पनि कठिन हुने गरेको छ।’ हनुमान नाचमा कलाकार बनेर सहभागी हुन सजिलो छैन। कडा अनुशासन र आचार संहिता पालना गरेर मात्रै कलाकार बन्न पाइन्छ। हनुमान नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने मूल कजी श्रेष्ठ बताउँछन्।
‘हनुमान बनेर नाच्ने र यसमा सहभागी हुने सबै कलाकार अनुशासनमा बस्नुपर्ने हुन्छ, हनुमानको भूमिकामा रहने भएकाले यो अवधिभर शारीरिक संसर्गबाट टाढा हुनुपर्छ,’उनी भन्छन्,‘कलाकार मात्र होइन यसमा सहभागी सबैलाई यो कुरा लागु हुन्छ। घरमा जुठो सुत्केरो परेको बेला श्रीमती रजस्वला भएको बेलामा पनि यसमा सहभागी हुन मिल्दैन।’ यो नेवार समुदायको परम्परा, संस्कृति, धार्मिक मूल्य मान्यतामा आधारित नाच हो।
धार्मिक, सांस्कृतिक र चारित्रिक रुपमा ठिक ठाउँमा राख्न पनि यसले सघाउ पुग्ने विश्वासले यो नाचमा सहभागी हुन्छन्। यसले मनोरञ्जनसँगै शारीरिक व्यायाम पनि हुन्छ। हनुमान नाच संरक्षण परिषद् बागलुङका प्रथम उपाध्यक्ष युवराज राज भण्डारी भन्छन्,‘यो नाच देखाउने समयमा हामी करिब एक महिना त तालिम नै गर्छौं, लामो अभ्यास नगरी नाच्न सकिँदैन।’ यस पटक पनि एक महिनादेखि हनुमान नाचको तयारी चलिरहेको छ। तीन सय वर्ष अगाडि देशका विभिन्न ठाउँबाट बागलुङ आएका नेवार समुदायले आफूसँगै लिएर आएको संस्कृतिको रुपमा हनुमान नाच रहेको लोकसंस्कृतिका अध्येता साहित्यकार प्रेम छोटा बताउँछन्।
‘झण्डै तीन सय वर्ष अगाडि देशका विभिन्न ठाउँ भक्तपुर, बनेपा, ठिमी लगायतका ठाउँबाट बागलुङ आएको नेवार समुदायले सँगै लिएर आएको परम्परागत संस्कृति हो हनुमान नाच,’उनी भन्छन्,‘लोकसंस्कृति भनेको मानिस एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदा सँगै जाने चिज हो।’ यो हनुमान नाच अहिले बागलुङमा जीवित रहँदा अन्यत्र लोप भैसकेको उनले बताए। ‘अहिले भक्तपुर बनेपामा यो देख्न पाइँदैन,’उनले भने,‘बागलुङमा अहिलेसम्म पनि जोगाएर राख्न सकिएको छ। यो सबैका लागि गौरवको विषय पनि हो।’
नेवार समुदायहरू शक्तिमा आश्रित हुने भएकाले पनि शक्तिको रुपमा हनुमानलाई खुसी बनाउन यस्तो गरिएको उनको विश्लेषण छ। ‘हनुमानलाई पूजा ग¥यो र खुसी बनायो भने कुनै पनि खालको बिघ्न बाधा आउँदैन भनेर शक्तिको प्रतीक मानेर यो चलन चलाएको पाइन्छ,’उनले भने। हनुमान नाच देखाउनका लागि करिब ५०÷६० जना प्रत्यक्ष सहभागी हुनुपर्ने हुन्छ। ‘२६ जना त नाच्ने मात्रै हुन्छन्,’उनले भने,‘त्यसमा बाजा बजाउने र अन्य सहयोगीहरू गरेर झण्डै ५०÷६० जनाको आवश्यकता पर्छ। धेरैको संख्या आवश्यक पर्ने भएकाले पनि यसलाई सञ्चालन गर्न चुनौती छ।’
रोगव्याधी र महामारी नआओस्, अनिकाल नपरोस् भनेर हनुमान नाच नचाउने उनको भनाई छ।
हनुमान नचाउँदा विभिन्न ताल छ। कलाकारले बाजाको तालमा एक अर्काले लट्टी ठोक्नुपर्ने हुन्छ। विभिन्न प्रकारका ताल छोपेर नाच्नु पर्छ। देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लङ्का पार गर्ने पद्धति लगायतका नाचले निकै रमाइलो बनाउँछ। हनुमान नाचमा संलग्न पूजारतले सेता गन्जी र कछाड बाँध्ने गर्छन्। नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन्। विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ। उनी भन्छन्,‘वीर चढ्ने भनिन्छ, तालमा बाजा बजाउँदा नाच्नेलाई मात्र होइन बाहिर बसेर हेर्ने मानिसहरूको पनि शरीर कम्पन हुन्छ।’ त्यति बेला पूजारी धूप सुँघाएपछि ठिक हुन्छ। प्रचलन अनुसार यो नाच भदौ महिनाको शनिबार, मंगलबार र बिहीबार देखाउन चलन हो।
२०१६ सालमा राजा महेन्द्र बागलुङ आउँदा पहिलो पटक हनुमान नाच आफ्नो समय भन्दा फरक समयमा देखाउन थालिएको थियो। हनुमानले खुट्टामा घलङ (बझाउने मुजुरा) बाँधेर नाच्छन्। दुई पण्डितहरूले धूप बालेर विधिवत् पूजा गर्ने गर्दछन्। निधारमा रातो टीका र माला पनि लगाउँछन्। नेवार परम्परासँग जोडिएको संस्कृति भए पनि यसमा अन्य समुदायलाई पनि सहभागी गराउने गरिएको हनुमान नाच संरक्षण परिषद्का सचिव जय राज भण्डारी बताउँछन्। ‘नेवारी संस्कार भए पनि अन्य जातिका पनि युवाहरू सहभागी हुन्छ,’उनले भने,‘विगतमा खड्का, क्षेत्री युवाहरू सहभागी थिए। यसपालि एक जना मगर भाइ हामीसँगै सहभागी हुनुहुन्छ।’
बागलुङका नेवार युवाहरूको संस्था नेवा ल्याम पुचःको अगुवाइमा यस पटक हनुमान नाचलाई प्रस्तुत गर्ने वातावरण सिर्जना गरिएको उनी बताउँछन्। नेवारी संस्कृति र चाडबाडहरू केही खर्चिलो भएको र बसाइँ सराइले गर्दा पनि सबै प्रकारका संस्कृतिहरू जोगाउन कठिन हुँदै गएको नेपाल भाषा मंका खलः बागलुङका सचिव सुदिप राज भण्डारी बताउँछन्। ‘हाम्रा परम्परा र संस्कारहरू केही खर्चिलो पनि छन्, पछिल्लो समयमा त बसाइँ सरेर जाने ठूलो संख्याले पनि अप्ठ्यारो पारेको छ,’उनी भन्छन्,‘कतिपय हाम्रा परम्परागत संस्कृतिहरू हराएर गएका पनि छन्। हामी त्यसको खोजी गरिरहेका छौँ तर भने जस्तो उपलब्धि भएको छैन।’
हनुमान नाचलाई जीवन्त राख्नका लागि यस पटक डकुमेन्ट्री बनाउने तयारी रहेको उनले बताए। हनुमान नाचमा भारतीय र तिब्बती संस्कृतिको मिश्रणको रुपमा रहेको काजी गाउँले श्रेष्ठ बताउँछन्।
प्रकाशित: १० भाद्र २०८१ १५:१६ सोमबार