२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मष्टो देवस्थलहरूमा मेला सुरु

कालीकोटको खाँडाचक्र नगरपालिका– ३, ताडीमा धामी नाच्दै। तस्बिर: नागरिक

कालीकोट यस्तो जिल्ला हो, जहाँ मष्टो देवताहरूको आधार इलाका नै छ। यहाँ १२ भाइ मष्टाका पैठ गाउँगाउँमा छन्। प्राय: मानिस बिरामी पर्दा, अन्याय पर्दा, कसैले विभेद गर्दा सबैभन्दा पहिला देवताकहाँ जान्छन्।

त्यसपछि अस्पताल, प्रहरी प्रशासन र न्यायालय जाने गर्छन्। परिवारको राम्रो कामका लागि होस् वा शुभकार्यका लागि देवताको आशीर्वाद लिने गरिन्छ। देवतालाई यहाँ पहिलो अस्पताल, पहिलो न्यायालय र पहिलो अभिभावकका रूपमा लिने गरिन्छ।

यहाँ मष्टो धलपुरो, दाडे मष्टो, कामल्या मष्टो, सिमष्टो, खोदाई मष्टो, बज्यूमष्टो, कालासिल्लो, रमालमष्टो लगायतका १२ वटा मष्टो देवता छन्। वर्षभरिमा माघ शुक्ल पूर्णिमा, जेठ शुक्ल पूर्णिमा, साउन शुक्ल पूर्णिमा र दसैंको समयमा जुहारे स्थापना गरी चारपटक भव्य पाठ पूजा गरिन्छ।

पूजाका अवसरमा भव्य मेला लाग्छन्। पीठमा गएर स्वच्छ मनले गरेको भाकल पूरा हुने धार्मिक जनविश्वास छ। गाउँमा अन्यायमा परेकाहरूले देवताको भाकल गर्दा न्याय पाउने विश्वास छ। देवता पुकारे कसैले पनि अन्याय गर्दैनन् भन्ने मान्यता छ।

जिल्लाका ग्रामीण समुदायका नागरिकका स्थानीय देवीदेवता नै न्यायाधीश हुने गरेका छन्। कानुनको पहुँचमा सहजै नपुग्ने स्थानीय विपन्न नागरिकका लागि न्याय दिने माध्याम नै देवता हुन्।

स्थानीय नागरिक जग्गासम्बन्धी विवाद, आर्थिक लेनदेन, चोरीठगीका घटना, बिरामी पर्दा तथा घरायसी झैझगडामा देवताका धामीलाई बसालेर न्याय माग्ने गर्छन्। देवताका झाँक्रीले दिएको आदेश सबैले मान्छन्।

पहिले झारफुक गराउने धामीले नै अहिले अस्पताल लैजानुभन्दा नागरिक बिरामी हुँदा अस्पताल जान उत्साही हुन्छन्। यसले स्वास्थ्य सेवामा पनि नागरिकको विश्वास बढाउन सहयोग पुगेको छ।

देवीदेवताको पूजाले दुःखी बिरामी निको हुने, भूत लागेको छाड्ने, पारिवारिक सुख, शान्तिका साथै खेतमा राम्रो बाली पनि हुने जनविश्वास रहेको खाँडाचक्र नगरपालिका– ३ का मष्टो धलपुराका गुठियार धनप्रसाद पाण्डेले बताए।

उनले भने, ‘पहिलेको तुलनामा अहिले देवीदेवताप्रति मानिसको लगाव घट्दै गएको छ, तर विश्वासको कमी छैन। पहिले–पहिले सुरुमा पाकेका बाली र फलेको फल र कुनै नयाँ कामको सुरुवात गर्दा देवीदेवताको भरोसामा गरिथ्यो।’

मष्टो धलपुराको पैठ जिल्लाको खाँडाचक्र नगरपालिका– ३ ताडीको डाँडामा छ। हरेक वर्ष साउन पूर्णिमाको चतुर्दशीका दिन रतेडी र पञ्चमीका दिन दिउँसेडी गरेर धामी काँप्ने, पाठपूजा गर्ने, देउडा खेल्ने गरी भव्यरूपमा मेला लाग्ने गरेको छ।

पाण्डेले भने, ‘मष्टो धलपुरो खसानहरूको मूल देवता हो। खस आर्यहरू जहाँ भए पनि मष्टो धलपुरो नमान्ने कोही छैनन्।

मष्टो देवता खसहरूको पुख्र्यौली कुल देवता पनि हो। खसहरूको परम्परा नै मष्टो धलपुरो देवतासँग जोडिएको छ। कर्णाली खस राज्य भएकाले कर्णालीमा मष्टो देवता प्रायः सबैले मान्ने गरेका छन्। मष्टो धलपुरो पूजाका समयमा एकदशीका दिनदेखि व्रत बसेर स्वच्छ मनले जे माग्यो त्यही पाइन्छ। जे सोच्यो त्यही पुग्छ’, उनले भने।

देवीदेवताको विश्वासले नै हरेक देवताको पैठ (मठमन्दिर) मा खुटो धजा, फूल चामल लिएर मानिस पूजामा सहभागी हुन्छन्। बाजेका पालादेखि मानिआएको हाम्रो संस्कृति र परम्पराको निरन्तरता दिन र कुल नबिग्रियोस् भनेर देवीदेवताको पूजा गर्ने गरिएको धामी मुनिलाल पाण्डेले बताए।

साउन पूर्णिमाका दिनदेखि नै जिल्लाका नौवटै पालिकामा रहेका मष्टो देवताका पैठहरूमा मेला लागेको छ। जिल्लाबाहिर बसोवास गर्दै आएका नागरिक पनि कुल देवता पुज्नका लागि गाउँ फर्किएका छन्। देवताका स्थानलाई आफन्तहरूको भेटघाट र परिवारको सफलतासँग पनि जोड्ने गरिएको छ।

यस्तै जिल्लाको शुभकालीका गाउँपालिका– ३ भर्ता पनी देवताको थलो नै हो। भर्तामा पनि कालासिल्ला, कालीका, मष्टो, नैनेलजगतनाथ, देउतीबज्यैजस्ता देवताको स्थानमा मेला लाग्न सुरु भएको छ। अहिले गाउँमा लाग्ने मेलाले धेरैको भेटघाटसमेत जुराएको छ।

प्रकाशित: १० भाद्र २०८१ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App