६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीको ‘लाइफलाइन’ सडक तर सास्ती नै सास्ती

बाँकेको कोहलपुरदेखि मुगु सदरमुकाम गमगढीसम्मको सडक साढे तीन सय किलोमिटर छ। सामान्य अवस्थामा सवारीसाधनबाट यो दुरी पार गर्न एक दिन पर्याप्त हुन्छ। तर सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्गको कथा भने बेग्लै छ। कर्णाली राजमार्ग पार गर्न तीनदेखि ६ दिनसम्म लाग्छ।

बर्खामा हिलैहिलो, हिउँदमा धुलैधुलोको बादल। कतिखेर कुन खाल्डामा परिने हो, उस्तै चिन्ता। यस्तो सास्ती व्यहोर्नुपरेको दिन होइन, महिना होइन १८ वर्ष भयो। यो सडक निर्माण थालेदेखि नै यात्रुले निकै कष्ट व्यहोर्नु परिरहेको छ।

१८ वर्षमा आधाजसो मात्रै सडक कालोपत्रे सम्पन्न भएकाले अझ कति वर्ष कष्ट व्यहोर्नुपर्ने हो ? यसै भन्न कठिन छ। कर्णालीका नागरिकको ‘लाइफलाइन’का रूपमा रहेको यस सडकको निर्माणले गति नलिँदा माथिल्लो कर्णालीका नागरिकको दैनिकी समेत तहसनहस बनेको छ।

मुगुदेखि सुर्खेतका लागि गत सोमबार बिहान घरबाट हिँडेकी जुम्लाकी कल्पना रोकायालाई कालीकोटको चौखालामा आएको ठूलो पहिरोले दुई दिन रोक्यो। उनी भन्छिन्, ‘यो बाटामा जहिल्यै समस्या खेप्नुपर्छ। कर्णालीवासीको दुःख कसले देख्ने हो ?

‘यो नाम मात्रैको राजमार्ग हो। साँघुरो र खाल्डाखुल्डी भएका कारण कर्णाली राजमार्गको यात्रा सधैं सास्तीपूर्ण हुन्छ,’ गाडीचालक भक्त रावतले भने, ‘बर्खामा त झन् सास्ती हुन्छ।’ उनका अनुसार सडक राम्रो भइदिए कोहलपुरदेखि गमगढीसम्म एकैदिनमा पुग्न सकिन्छ।

तर अहिले बर्खाको समय भएकाले कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकको अवस्था जीर्ण छ। त्यसमाथि ठाउँठाउँमा पहिरोले गन्तव्यमा पुग्ने समय निश्चित हुँदैन। ‘अघिल्लो पटक सुर्खेतदेखि मुगु पुग्न चार दिन लाग्यो, मान्मको सेरिघाटमा माथिबाट पहिरो आएपछि दुई दिन एकै ठाउँमा बस्नुपर्‍यो,’ उनले भने।

नाग्म–गमगढी सडकको कोइरेली, बड्की, बिष्टबाडा, रोकायबाडा, गोठीज्युला र कालीकोटको नाग्म, गाल्जे, चौखोला, पिलि, मोल्फा, गल्ली, सेरिघाट, गगंने खोलालगायत ठाउँमा प्रायः पहिरो झरिरहन्छ। ‘सामान्य वर्षाले पनि कर्णाली राजमार्ग कालीकोट सडकखण्ड अवरुद्ध गर्छ,’ जुम्लाका स्थानीय पदम शाहीले भने, ‘कहिले कर्णालीको सडक अवस्था सुध्रेर सहज तरिकाले गाडी चढ्न पाइएला ?’

२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्,’ जुम्लाका भक्त थापाले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौं भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’

कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक कामदार राखिएका छन् । ‘सामान्य मर्मतबाहेक हामी गर्न सक्दैनौं,’ एक कामदारले भने। जीर्ण सडकसँगै अधुरा पुल पनि सहज यात्रामा बाधक बनेका छन्। अधुरा पुलहरू, बिचबिचमा आउने पहिरोले यात्रु घन्टौं जाममा बस्नुपर्छ। डोजर पहिरो लगाएर पन्छाए पनि पुल नहुँदा खोलामा आउने बाढीले यात्रु समस्यामा पर्ने गरेका छन्।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको खिड्कीज्युलादेखि सेरीगाडसम्मको सडक सबैभन्दा साँघुरो छ । कालीकोट सदरमुकाम मान्मदेखि जुम्लाको सीमा नाग्मसम्म पनि कैयौं स्थानमा सडक साँघुरो छ भने सडकमा पटकपटक पहिरो खस्ने गर्छ । कर्णाली राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको हो।

कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि मात्र सकिएको थियो। चट्टानै चट्टानका कारण निर्माणमा समस्या भएपछि सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो। नेपाली सेनाले २०६३ चैत ३० गते ट्र्याक खोलेको सडकमा २०७२ मा ओटासिल प्रविधिको कालोपत्रे गरिएको थियो। तर अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ।

राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको छ। दुर्घटना परेर बर्सेनि यात्रुले ज्यान गुमाउनु परेको छ। सुर्खेतको बांगेसिमलदेखि दैलेख हुँदै कालीकोटको दहीखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ।

राजमार्गअन्तर्गत दहीखोलादेखि जुम्ला खलंगासम्म सडक डिभिजन कार्यालय जुम्ला खलंगाले हेर्दै आएको छ। सडक डिभिजनमार्फत पटके मर्मतसम्भारका काम हुँदै आएका छन् । तर राजमार्ग सुधार हुन सकेको छैन । अवस्था उस्तै छ ।

‘सेफ्टी बार’ जीर्ण

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन् । भिरको सडककिनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खियाका कारण जीर्ण बनेका छन्।

‘साँघुरो र अप्ठेरो सडकमा सेफ्टी बारले पनि सुरक्षित महसुस गर्न सकिन्छ,’ चालक नवीन केसीले भने, ‘कर्णाली राजमार्गमा लगाइएका सेफ्टी बार पहिरोले भाँचिएका छन्, खिया लागेर जीर्ण बनेका छन्।’ उनले डेढ दशकदेखि कर्णाली राजमार्गमा गाडी चलाउँदै आएका छन्।

एक वर्षमा १ सय १२ जनाको मृत्यृ  

कर्णालीमा एक वर्षभित्र सवारी दुर्घटनाका कारण ११२ जनाको ज्यान गएको छ। प्रदेशअन्तर्गत १० जिल्लाको तथ्यांक हेर्दा ११२ जनाको ज्यान गएको हो। गत आर्थिक वर्षमा कर्णाली प्रदेशभरि एक हजार ४४५ सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ९५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। जुम्लामा भएका ४१ दुर्घटनामा सातजनाको मृत्यु भएको हो।

मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए। सल्यानमा १३० सवारी दुर्घटनामा १९ जनाको मृत्यु हुँदा रुकुम पश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो।

यस्तै गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको थियो भने जाजरकोटमा ६८ वटा दुर्घटनामा पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

यस्तै सवारी दुर्घटनामा परी एक वर्षको अवधिमा २७७ जना घाइते भएका छन्। घाइतेमध्ये ५२४ जना गम्भीर र अन्य सामान्य छन्। घाइतेमध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार १८४ छन्। जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना छन् भने सल्यानमा २७१, रुकुमपश्चिमका १५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका १३८ जना रहेको प्रदेश प्रहरी कार्यालले जनाएको छ।

प्रहरीका अनुसार कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्। गत आवमा प्रदेशभर ७७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन्। त्यसपछि १६५ वटा अटोरिक्सा, २१८ वटा जिप तथा कार, ९१ वटा ट्र्याक्टर दुर्घटना भएका छन्।

एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक/ट्र्याकर दुर्घटना परेको प्रहरीले जनाएको छ। यस्तै २७ वटा माइक्रो फोर्स, १५ वटा टिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए।

प्रकाशित: ९ भाद्र २०८१ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App