२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

केदारनाथको शिर डोलेश्वर घोषणाको १६ वर्ष : नेपाली भन्दा भारतीय भेटी बढी

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको बिहीबार १६ वर्ष पूरा गरी १७ औ वर्षमा प्रवेश गरेको छ। विक्रम संवत् २०६६ भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो ।

डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएसँगै पछिल्ला वर्षहरूमा भारतीय पर्यटकहरूको विशेष आगमन रहने गरेको जनाइएको छ । नेपाली भन्दा भारतीय रुपैयाँ बढी भेटी उठने गरेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले जानकारी गराएको छ । समितिका अध्यक्ष धर्मराज बस्नेतले पछिल्ला वर्षहरूमा नेपाली भन्दा भारतीय रुपैयाँ भेटी बढी उठने गरेको जानकारी गराए । यसको अर्थ नेपाली भन्दा भारतीय पर्यटक बढी आउँछन् भन्ने नै हो, अध्यक्ष बस्नेतले भने ।

डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको अवसरमा बिहीबार यहाँ औपचारिक कार्यक्रम पनि भएको थियो । यो वर्षको साउनी मेला समापन कार्यक्रम गरिएको हो । एक महिने साउनी मेला साउन १ गतेबाट सुरु भई भाद्र ६ गते बिहीबार समापन भएको थियो ।

कार्यक्रममा यो वर्षको एक महिने साउनी मेलाबाट कुल ८५ लाख ४७ हजार ६ सय ४० रुपैयाँ चन्दा संकलन गरेको जानकारी गराइयो । चन्दास्वरुप व्यक्तिबाट प्राप्त सहयोग (रसिद काटेर दिएको) ४५ लाख २० हजार दुई सय १६ र भेटी ४० लाख २७ हजार चार सय २४ रुपैयाँ गरी कुल ८५ लाख ४७ हजार ६ सय ४० रुपैयाँ उठेको केदारनाथको शिर डोलेश्वर महदेव मन्दिर संरक्षण तथा विकास समितिका कोषाध्यक्ष रत्नप्रसाद छुकांले जानकारी गराए । एक जना व्यक्तिबाट बढीमा एक लाख र घटीमा एक सय चन्दा दिएको जानकारी उनले गराए । उनका अनुसार रसिद काटेर चन्दा दिनेहरूमा घटीमा एक सय रुपैयाँसम्म मात्रै लिने गरेको छ । त्यो भन्दा बढी रकम चन्दा दिए मात्रै रसिद काटेर चन्दा उठाइएको जानकारी उनले गराए ।

कोषाध्यक्ष छुकांका अनुसार उठेको रकमको राशि गतवर्ष भन्दा कम भएको छ । गतवर्ष साउने मेलाको एक महिनामा एक करोड तीन लाख पैसा उठेको स्मरण उनले गरे । यो वर्ष मेलाको क्रममा १२ लाख ३६ हजारको हाराहारीमा भएको जानकारी उनले गराए ।  

डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको अवसरमा बिहीबार नगरपालिकाभरि स्थानीय सार्वजनिक बिदा पनि घोषणा गरिएको थियो । नगर प्रमुख वासुदेव थापाले तीन वर्षदेखि डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको दिन पारी भाद्र ६ गते प्रत्येक वर्ष नगरपालिका क्षेत्रभरि स्थानीय सार्वजनिक बिदा घोषणा गरी बिदा दिँदै आएको जानकारी गराए । कार्यक्रममा सूर्य विनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा अधयक्षहरु पनि सहभागी थिए । साथै कार्यपालिका सदस्यहरू तथा भक्तजनहरूको पनि उतिकै उपस्थिति रहेको थियो ।  

डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको दिनकै अवसरमा बिहीबार बिहानदेखि दिनभर मन्दिरका चार वटै ढोका खुला गरिएको थियो । बिहान ४ बजेदेखि साँझसम्म चारै ढोका खुला राखिएको थियो । यही कारण अन्तिम दिन बिहीबार भक्तालुहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने अवसर पाएका थिए । अन्य दिनहरूमा सर्वसाधारणले मन्दिर भित्र पुगेर पूजाआजा तथा दर्शन गर्न मनाही छ ।

डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन हरेक वर्ष मन्दिरका चार वटै ढोका खुला गरेर शिला छोएर पूजा गर्ने व्यवस्था हुन्छ ।

प्रकाशित: ६ भाद्र २०८१ १९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App