६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लाको चन्दननाथ नगरपालिकाले गर्‍यो १४ जना नगर प्रहरी भर्ना

स्थापनाको आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ।  प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढाको नेतृत्वमा १४ जना नगर प्रहरी भर्ना गरेको हो।

नगर प्रहरी नहुँदा नगर क्षेत्रको शान्ति सुरक्षा बलियो हुन नसकेको, विपद् तथा प्रकोपमा राहत तथा उद्धारको काम छिटोछरितो गर्न नसकिएको र बजार तथा फोहोरमैला व्यवस्थापन गर्न नसकिएको नगरपालिकाले जनाउँदै आएको थियो।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गण हेडक्वाटर जुम्लाले नगर प्रहरीको भर्ना छनोटदेखि आधारभूत तालिम समेत दिएको थियो। १ सय २८ जनाले आवेदन दिएकामा चार जना महिला र १० जना पुरुष नगर प्रहरीमा छनोट भए।

मंगलबार एक कार्यक्रम गरेर उनीहरूलाई दीक्षित गरेपछि कार्यक्षेत्रमा परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।

नगरको शान्ति व्यवस्था, नागरिकको सुरक्षाका लागि इमानदारीका साथ कर्तव्य पालना गर्ने प्रतिबद्धता नगर प्रहरीले गरेका छन्।

दीक्षित नगर प्रहरीलाई चन्दननाथकी उपमेयर रामुदेवी खड्का, सशस्त्र प्रहरीका एसपी लालबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दर्जानी चिह्न प्रदान गरेका थिए।

चन्दननाथ नगरपालिकामा औपचारिक रूपमा नगर प्रहरीमा नियुक्तिको प्रक्रिया सकिएको उपप्रमुख खड्काले बताइन्।

‘मंगलबारदेखि नै नगर प्रहरी काममा खटिएका छन्,’ उनले भनिन्, ‘अब नगरमा काम गर्न सहज हुनेछ।’ नगर प्रहरीले तालिममा सिकेका सीप र ज्ञानलाई इमानदारीपूर्वक लागू गरी आगामी दिनमा दंगा व्यवस्थापन, अतिथि सुरक्षा, बजार व्यवस्थापन, विपद् व्यवस्थापन लगायत विषयमा सहज हुने विश्वास आफूले लिएको उनले बताइन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीय तहको अधिकार प्रयोग गर्दै नगर प्रहरी भर्ना गरेको बताए।

प्रकाशित: ६ भाद्र २०८१ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App