२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विपद् पछिको पोष्टमार्टम, बिरालो छोपेर श्राद्ध !

रोल्पा अस्पतालको पोष्टमार्टम भवन। तस्बिर: दिनेश/नागरिक

रोल्पा नगरपालिका-१० का ३२ वर्षीय तोयाराम रोका मंगलबार साँझ घाँस काट्न भनेर घरबाट निस्के। घाँस काट्न क्रममा उनलाई अरिङ्गालले टोक्यो। उनलाई तत्कालै रोल्पा अस्पताल पुर्‍याइयो। उपचारकै क्रममा उनलाई चिकित्सकले साँझ ८ बजेतिर मृत घोषित गरे।

प्रहरीले मृतकको शवको पोष्टमार्टम गर्नुपर्छ भनेपछि सोही रात प्रहरीको निर्देशनमा शवलाई पोष्टमार्टमका लागि अस्पतालको मुर्दाघरमा राखियो। त्यसपछि पीडित परिवार रातभर पोष्टमार्टमको प्रतितक्षामा रहे।

भोलिपल्ट बिहान भयो। तर पोष्टमार्टमका लागि डाक्टर अझै उपस्थित भएनन्। करिब साढे १० बजेतिर प्रहरीले मुचुल्का तयार गर्‍यो। मृतकको २९ वर्षीया श्रीमती देविकला रोका क्षेत्री अर्धचेत अवस्थामा अस्पतालमै रहिन्। उनका सानो छोरा आमाको दूधको लागि तड्पिँदै रोइरहेको दृश्यले सबैलाई भाव विह्वल बनायो। तर पोष्टमार्टम अझै सुरु भएन।

अघिल्लो दिन साँझै मृत घोषणा गरिएका रोकाको करिब १९ घण्टासम्म पोष्टमार्टम गरिएन। स्थानियहरूले अस्पताल प्रशासन र प्रहरीसमक्ष बारम्बार गुनासो गरे। तर पनि कुनै सुनुवाइ भएन। त्यसपछि एक छिमेकी युवक आएर प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत गुनासो गरे।

अन्ततः प्रमुख जिल्ला अधिकारीलाई गुनासो गरेपछि मात्र दिउँसो अबेला अर्थात् २:४५ मा डाक्टर पोष्टमार्टमका लागि आए। र पोष्टमार्टमको काम सुरु भयो।

यस घटनाले मृतकको परिवारलाई झन् मानसिक तनाव दियो। मृतक परिवार विक्षिप्त अनि पीडामा थिए। सोझा गाउँले उनीहरू अस्पताल र प्रहरीले जसो भन्यो थपक्क उसै गरे। करिब १९ घण्टा शव कुरेर बसे। धन्न छिमेकी एक युवा आएर प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत् गुनासो गरेपछि अलि छिटो पोष्टमार्टम भयो।

यस विषयमा रोल्पा अस्पतालका निमित्त प्रमुख डा. लोकरत्न ज्ञवाली आफ्नो कमजोरी स्वीकार गर्ने पक्षमा छैनन्। जनशक्ति अभाव र बिरामीको चापका कारण विलम्ब भएको उनको दाबी थियो। ‘जनशक्ति कम छ। बिरामीको लाइन थियो। डाक्टरहरुको प्राथमिकता बिरामी जाँच गर्नुहो।’ उनले भनिन्। सकेसम्म सबै सेवा छिटो दिने प्रयास गरेको उनले दाबी गरिन्।

बिरालो छोपेर श्राद्ध गरे जस्तो विपद् पछिका पोष्टमार्टमले पीडितलाई थप दुखाउने गर्दछ। विपद् आउँछ मृत्यु हुन्छ, अनि महँगो खर्चमा शव बोकेर अस्पताल ल्याउनुपर्ने र त्यसमाथि पनि घण्टौँ डाक्टर कुर्नुपर्ने, अनि फेरि शव बोकेर गाउँ फिर्कनुपर्ने। यही नै यहाँका दुर्गम स्थानीयको तितो सत्य हो।

प्रकाशित: ५ भाद्र २०८१ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App