आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट। सतहमा रंगी–बिरंगी जंगली फूलहरू। मध्यभागमा कलकल बग्ने खोला। खोला किनारमा मन्दिर। प्रकृतिको यो कस्तो मनोहर उपहार ? बाजुराको बडिमालिका नगरपालिका र त्रिवेणी नगरपालिकामा पर्ने बडिमालिका धार्मिक स्थलमा आज मुख्य पूजा हुँदै छ।
नेपालको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा हरेक वर्ष श्रावण शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। यस वर्ष भदौ २ गते श्रावण शुक्ल चतुर्दशी परेकाले मुख्य पूजा हुने भएको हो। बडिमालिका तीर्थयात्रा गए मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। बाजुरा र कालीकोटबाट सुनको गजुरसहित पुजारी र सरकारी टोली बडिमालिकाको तीर्थयात्रामा निस्केका छन्। प्रत्येक वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्पराअनुसार एक हप्ताअगाडि नै बाहिरबाट आउने गरेका छन्। बडिमालिका मन्दिर समुद्री सतहबाट चार हजार २१६ मिटर उचाइमा रहेको छ।
त्यहाँ पुग्न ७ दिनको पैदल यात्रा गर्नु पर्दछ। औपचारिक पूजाआजाको परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला, कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडिमालिका प्रस्थान गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमध्ये एक हो। बडिमालिकामा हरेक वर्ष श्रावण शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। बडिमालिकामा दुईवटा पुजारीहरूले पूजा गर्छन्। यीमध्ये एक जना कालिकोटबाट जान्छन् भने अर्को एकजना बाजुराका पूजारी छन्। डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीको हातबाट देवीको सरकारी पूजा हुन्छ।
प्राकृतिक अनुपम सौन्दर्यले भरिएको शक्तिपीठ बडिमालिकाको दर्शन गर्नाले मनको इच्छा पूरा हुने भक्तजनमा विश्वास छ। मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट धामी झाँक्री र तीर्थालुको घुइँचो लाग्ने गरेको छ। मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालु त्यहाँ मेला भर्न आउँछन्। बडिमानिका लागि उचित बास बस्ने स्थान नभएकाले भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफैं गर्नुपर्छ। आफूलाई आवश्यक पर्ने चामल, पिठो, ओढ्ने, ओछ्याउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसामान बोकेर दुर्गम बाटो, उकालीओराली, भिरपहरा र भन्ज्याङहरू पार गरेर यहाँ पुग्न धेरै चुनौती रहेको छ।
यो वर्ष बडिमालिका तीर्थयात्रामा हेलिकोप्टर चार्टर र पैदल यात्रा गरी पाँच हजारभन्दा बढी भक्तजन दर्शन गर्न पुगेको पर्यटन पत्रकार महासंघ कालिकोटका अध्यक्ष प्रेमराज सिंखडाले बताए। उनले भने, ‘यो वर्ष धेरै भक्तजनको घुइँचो लागेको छ। पाटनभरि भक्तजनले भरिएको छ।’ बडिमालिका तीर्थयात्रामा मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालु मेला भर्न आउँछन्। तर सरकारले उचित व्यवस्था गर्न नसक्दा बडिमालिकाको मन्दिर ओझेलमा परेको स्थानीयको भनाइ छ।
प्रकाशित: २ भाद्र २०८१ १०:०६ आइतबार