१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गण्डकीमा डेंगी संक्रमणः तीनसातामा तीनजनाको ज्यान गयो

तीनसाता अवधिमा डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा तीनजनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये दुईजना तनहुँ र एकजना कास्कीका बासिन्दा छन्। गण्डकीका विभिन्न जिल्लामा पछिल्लो समय डेंगी संक्रमण ह्वात्तै बढेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। पोहोर डेंगीबाट तनहुँमा पाँच र स्याङजामा दुइ गरि ७ जनाले ज्यान गुमाएका थिए।

प्रदेशको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा.रमेशकुमार केसीका अनुसार ज्यान गुमाउनेमा एकजना महिला र दुइजना पुरुष रहेका छन्। तनहुँको ब्यास नगरपालिकाका ४८ वर्षिय पुरुषको साउन १० गते डेंगी संक्रमणबाट मृत्यु भएको थियो। कास्कीका ४१ वर्षिय पुरुषको साउन ३१ र तनहुँकी महिलाको शुक्रबार मृत्यु भएको हो।  

‘तीनसाता अवधिमा गण्डकीमा डेंगीबाट तीनजनाको ज्यान गएको छ,’ केसीले भने, ‘संक्रमण पनि ह्वात्तै बढेको छ । तनहुँ र कास्कीमा अहिले संक्रमणले निकै नै गति लिएको छ।’ मन्त्रालयका अनुसार प्रदेशमा यो वर्ष डेंगी संक्रमितको संख्या २१ सय ५७ पुुगेको छ। ती मध्ये सबैभन्दा बढी तनहुँमा ९ सय ५६, कास्कीमा ७ सय ५२ जना, पर्वतमा १ सय २८ जना संक्रमित बनेका छन्।

त्यस्तै गोरखामा ७८, बागलुङमा ६९, लम्जुङमा ५६, स्याङजामा ४८, म्याग्दीमा ४३, नवलपुरमा २५ र मनाङमा २ जनामा संक्रमण पुष्टि भएको छ। ‘तनहुँ र कास्कीमा अहिले संक्रमणले निकै नै सताएको छ,’ उनले भने, ‘हिमालपारिको जिल्ला मुस्ताङ बाहेक प्रदेशका १० जिल्लामा संक्रमण फैलिएको छ।’  

‘तीनसाता अवधिमा गण्डकीमा डेंगीबाट तीनजनाको ज्यान गएको छ,’ केसीले भने, ‘संक्रमण पनि ह्वात्तै बढेको छ । तनहुँ र कास्कीमा अहिले संक्रमणले निकै नै गति लिएको छ।’ 

तनहुँका पाँचवटा स्थानीय तहमा यो वर्ष डेंगी संक्रमण फैलिइसकेको छ। तीमध्ये सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा संक्रमित बढी छन्। आँबुखैरेनीमा ६ सय जना भन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले बताएको छ। कार्यालयका अनुसार जिल्लाका पाँचवटा गाउँपालिकामा संक्रमित हुनेको संख्या ९ सय ५६ पुगेको छ।  

सबैभन्दा बढी संक्रमण फैलिएको आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङका अनुसार अहिले गाउँपालिकामा संक्रमित दिनहुँ बढिरहेका छन्। डेंगी संक्रमित बढेपछि गाउँपालिकाले बिरामीको निशुल्क उपचार थालेको उनले बताए। ‘आर्थिक अभावमा बिरामीले उपचार पाउनबाट बञ्चित हुनु नुपरोस भनेर गाउँपालिकाको अस्पतालमा निशुल्क उपचार भईरहेको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीलाई थप उपचारका लागि अन्य अस्पताल लैजानुपरेमा पनि आर्थिक सहयोग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘असहाय र कमजोर आर्थिक अवस्था भएका बिरामीलाई उपचारमा सहज होस भनेर निशुल्क उपचार थालेका हौ।’  

उनका अनुसार १५ शैयाको आँबुखैरेनी अस्पतालमा बिरामीको भीडभाड बढेर बेड नपुगेपछि अस्पतालभित्रको खालि ठाउँमा पनि बिरामी राखेर उपचार गरिएको छ। ‘अस्पतालभित्र भए जतिको खालि ठाउँमा बेड राखेर बिरामीको उपचार गरिरहेका छौ। अहिले पनि करिब ५० जनाको अस्पतालमा उपचार भईरहेको छ। बरन्डामा राखेर समेत उपचार गर्न बाध्य छौं,’ उनले भने, ‘बिरामीको चाप थेग्न हम्मेहम्मे भएको छ। दिनहूँ ५० जनाको हाराहारीमा संक्रमित थपिन्छन।’  

गण्डकी प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। ती मध्ये सबैभन्दा तनहुँ र कास्कीमा संक्रमण फैलिएको छ। गतवर्ष गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भएका थिए। अघिल्लो वर्ष तनहुँपछि कास्कीमा २ हजार ८ सय ७५ जना संक्रमित बनेका थिए।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: १ भाद्र २०८१ १७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App