२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

गठ्ठाघर दुर्घटनाको दर्दनाक सन्देश

नेपालमा सडक दुर्घटना नौलो कुरा हैन। यहाँ वार्षिक २५ हजारभन्दा बढी दुर्घटना हुन्छन्। यस्ता दुर्घटनामा वार्षिक दुई हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याकंले देखाएको छ। तर बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाले धेरैको ध्यान खिचेको छ। यो दुर्घटनाले एकैपटक धेरै सन्देश दिएको छ।

सडक सुरक्षाविज्ञ आशिष गजुरेल सरोकारवाला निकायले गठ्ठाघर दुर्घटनामा को दोषीभन्दा पनि यसले दिन खोजेका अनेक सन्देशलाई ध्यान दिनुपर्ने बताउँछन्। उक्त दुर्घटना हुनुमा कुनै एक पक्षको दोषभन्दा पनि समग्र सडक सुरक्षा प्रणालीमा विद्यमान पुरानै समस्या कारक रहेको उनको बुझाइ छ।

गजुरेलका अनुसार गठ्ठाघर दुर्घटनाले एकैपटक धेरै सन्देश दिएको छ। ‘ट्राफिक व्यवस्थापन सडकमा खटिएर हैन, प्रविधिमैत्री हुनुपर्छ,’ उनले भने, ‘सवारीचाकलले एकअर्कालाई सम्मान गर्दै सडकमा गाडी चलाउनुपर्छ, केही गरी दुर्घटना भइहाले सर्वसाधारण चालक या प्रहरीप्रति आक्रामक तरिकाले उत्रिनुपर्दैन, घटनाको विश्लेषण गर्नुपर्छ र दोषीलाई कारबाही गराउन पहल गर्नुपर्छ।’

गठ्ठाघर दुर्घटनाको विश्लेषणबाट पनि यही देखिएको उनको बुझाइ छ। ‘झट्ट हेर्दा ट्रकचाकलले स्कुटरको गति कम भएको ख्याल नगर्दा ठक्कर दिएको देखिन्छ,’ उनले भने, ‘तर यो दुर्घटना त्यत्तिमा मात्र सीमित छैन।’

सडकमा गाडी चलाउँदा चालकमा चाहिनेजति संयमता नहुनु, एकले अर्कालाई उछिन्ने प्रवृत्ति हुनु, सवारीसाधनको प्राविधिक पक्षमाथि ख्याल नहुनुले यस्ता दुर्घटना हुने उनको बुझाइ छ।

ट्राफिक व्यवस्थापन सडकमा खटिएर हैन, प्रविधिमैत्री हुनुपर्छ, सवारीचाकलले एकअर्कालाई सम्मान गर्दै सडकमा गाडी चलाउनुपर्छ, दुर्घटना हुनेबित्तिकै चालक या प्रहरीप्रति आक्रामक तरिकाले उत्रिनुपर्दैन, यसको विश्लेषण गर्नुपर्छ र दोषीलाई कारबाहीतर्फ पहल गर्नुपर्छ।

आशिष गजुरेल, सडक सुरक्षा विज्ञ

सडकमा बसेर सवारीसाधन जाँच गर्ने तरिकाले अन्ततः ट्राफिक प्रहरीको जीवन पनि जोखिममा पर्ने उनले बताए।‘हामीले विदेशमा देखेका छौं, प्रहरी सडकमा हुन्न,’ उनले भने, ‘तर कसैले गल्ती गरे कारबाही हुन्छ।’ नेपालमा सडक सुरक्षा प्रविधिको केही सुरुवात भए पनि प्रभावकारी बन्न नसकेको उनले सुनाए।

के हो गठ्ठाघर दुर्घटना?

गठ्ठाघरमा बिहीबार दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो। स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपन बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सुरुमा महिलाको मृत्यु भएको भनिए पनि पछि पुरुषको मृत्यु भएको खुलेको हो। कोइरालाको शव आफन्तले सनाखतसमेत गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनालगत्तै भएको प्रदर्शन निकै उग्र बन्यो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन भक्तपुरका एसपीको कमान्डमा ११८, काठमाडौंका विभिन्न प्रहरी युनिटका १३० र सशस्त्र प्रहरी बलका १२० जना खटिएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउन्ड अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो।

करिब दुई हजारको हाराहारीमा जम्मा भएका प्रदर्शनकारीले गठ्ठाघर चोकको ट्राफिक आइल्यान्डसमेत तोडफोड गरे। बिहीबार साँझपख मात्र गठ्ठाघर क्षेत्र सामान्य बनेको थियो। चारपाँच घण्टा सडक अवरुद्ध हुँदा सवारी आगमन प्रभावित भयो, हजारौं सर्वसाधारणले दुःख पाए।

प्रदर्शनकारीले ट्राफिक प्रहरीले सडकमा जथाभावी रोकेर सवारीसाधन जाँच गर्दा दुर्घटना भएको भन्दै आक्रोश पोखेका थिए। ‘सडकमा गल्ती हुन नदिनेभन्दा पनि गल्ती गरेको हेरेर कारबाही गर्ने प्रवृत्तिले दुर्घटना निम्ताएको हो,’ गठ्ठाघरमा भेटिएका प्रमोद महर्जनले भने, ‘चाचकमा त्रास बढाउनेगरी सडकमा कारबाही गर्नुको औचित्य छैन।’

प्रहरीले भने त्यस क्षेत्रमा बिहीबार ट्राफिक प्रहरीले सवारीसाधन रोकेर जाँच नगरेको दाबी गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले ट्राफिक प्रहरीले स्कुटर र ट्रक दुवैैलाई नरोकेको बताए। ‘त्यहाँ स्पिड गनमार्फत गति हेरिएको थियो,’ उनले भने, ‘तर स्कुटर र ट्रकलाई रोकेर जाँच गरिएको होइन।’

उनले भनेजस्तै गठ्ठाघरमा बिहीबार उक्त स्कुटरलाई ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ। दुर्घटनास्थलको सिसिटिभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुवैलाई ट्राफिक प्रहरीले रोकेको देखिएन।

फुटेजमा दुर्घटनास्थल नजिकै तीनजना ट्राफिक प्रहरी ड्युटीमा खटिएको देखिन्छ। भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई ठक्कर दिएर किच्दै केही मिटर अघि बढेको सिसिटिभी फुटेजमा देखिएको छ। त्यसपछि दुर्घटनास्थल नजिकै रहेका तीनजना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ गएको देखिन्छ।

ट्रक रोकिन्छ र त्यसबाट एक व्यक्ति ओर्लिएको देखिन्छ। ट्रकबाट ओर्लिएका व्यक्ति चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ भएको जानकारी प्रहरीले दिएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि भक्तपुर ट्राफिक प्रहरीसँग जानकारी लिँदा स्कुटर नरोकेको जवाफ आएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए। तर ट्राफिक जाँचका क्रममा दुर्घटना भएको भनिएकाले त्यस विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

गृहमन्त्रीद्वारा छानबिन निर्देशन

गृहमन्त्री रमेश लेखकले गठ्ठाघर दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन्। घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उनले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका हुन्। मन्त्री लेखले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले दुर्घटना हुनुमा कसैको गल्ती छ कि, पुलिस फोर्सको गल्ती छ कि भन्ने विषयमा छानबिन गर्न निर्देश गरेका हुन्।

केही समय मृतकबारे अन्योल

गठ्ठाघर दुर्घटनालगत्तै महिलाको मृत्यु भएको खबर सार्वजनिक भयो। दुर्घटनामा मृत्यु भएको भन्दै एक महिलाको नाम र ठेगाना सार्वजनिक गरियो। ती महिला नै प्रहरीमा उपस्थिति भएपछि मृतक महिला नभएको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी गराए।

उनले नागरिकसँग भने, ‘एक व्यक्तिले शव आफ्नी बहिनीको भएको दाबी गरे। मृत भनिएकी महिला सम्पर्कमा आएपछि शव अर्कैको भएको पुष्टि भयो।’

उनले शव अत्यन्त क्षतविक्षत अवस्थामा रहेको र केबल खुट्टाको आधारमा चिन्न सकिने स्थितिमा रहेकाले सुरुमा पहिचान गर्न समस्या भएको सुनाए। दुर्घटनामा मरेकी आफ्नी बहिनी भएको दाबी गरेका व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८१ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App