२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

स्मार्ट बसपार्कविरुद्धको आधा दर्जन रिट एकै पटक खारेज, निर्माण सुरु

भानुचोकमा रहेको साँघुरो र अस्तव्यस्त बसपार्कलाई हस्तान्तरण गर्ने उद्देश्यसहित धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण भइरहेको स्मार्ट बसपार्क विरुद्धको आधा दर्जन मुद्दा खारेज भएको छ। अर्को एउटा मुद्दामा भने आंशिक रिट जारी भएको छ।

उच्च अदालत विराटनगरले बसपार्क विरुद्धको रिट खारेज गरेसँगै निर्माण कार्य पनि सुचारु भएको छ। गत असार मसान्तसम्म बसपार्कको निर्माण अवधि रहेको थियो। तर आयोजना र उपमहानगरपालिकासँग असन्तुष्ट स्थानीय एवं बसपार्कको लागि जग्गा निःशुल्क प्रदान गरेकाहरूले केही जग्गादाताहरूले उच्च अदालतमा मुद्दा दायर गर पछि एक वर्षदेखि निर्माण कार्य प्रभावित भएको थियो।

मुद्दाको कारण निर्माण कार्यमा अवरोध नपुगेको भए निर्माण सम्पन्न गर्ने अवधिभन्दा ६ महिना अघि नै काम सक्ने लक्ष्य लिएको बिकोई गिताञ्जली जेभीका इन्जिनियर सरोज यादवले बताए। ‘१० प्रतिशत मात्र काम सक्न बाँकी थियो। मुद्दाले नरोकिएको भए ६ महिनाअघि नै काम सकेर बोनस पनि पाउँथ्यौँ,’उनले भने,‘मुद्दा सबै खारेज भएको जानकारी आएकोले काम फेरि सुरु गरेका छौँ। म्याद थप पनि अब गर्नुपर्ने भएको छ।’

बसपार्कको काम रोक्न भन्दै स्थानीय मणिराज राई, हकवाला सरनबहादुर लिम्बु, शिवकुमारी राई, दिलमाया लामा र बालकुमार राईले उच्च अदालतमा छुटा छुट्टै मुद्दा दायर गरेका थिए। आयोजनामा नपर्ने इमानसिंह राईले वातावरणलाई असर पुग्ने भन्दै काम रोक्न माग गरेर मुद्दा दायर गरेका थिए। बालकुमार राईले अन्तरिम आदेशको पालना नभएको भन्दै अदालतको अवहेलना सम्बन्धी अर्को पनि मुद्दा दायर गरेका थिए। यी सबै मुद्दा साउन २८ गते न्यायाधीश केशवप्रसाद बास्तोला र कृपासुर कार्कीको संयुक्त इजलासले खारेज गरिदिएको हो।

‘सात वटा मुद्दा थियो, एउटा मुद्दामा वातावरणको ख्याल गर्नु भनेर आंशिक रिट मात्र जारी भएको छ, अरु सबै रिट खारेज भयो। तर पूर्ण पाठ आइसकेको छैन,’ धरान उपमहानगरका कानुनी सल्लाहकार जे.के.साम्पाङ राईले भने,‘धेरैले हामीलाई जानकारी नदिई बसपार्क बनाइयो भनेर काम रोक्न मुद्दा लगाएका थिए। तर उहाँहरूलाई पहिला नै जानकारी थियो। कागज प्रमाण छ। आयोजना स्वीकार गरेर बसपार्क बाहेकको जग्गा फिर्ता लिएर बेचिसकेको अवस्था पनि छ। बसपार्क ल्याउनुपर्छ भन्ने माग उहाँहरूकै थियो। त्यसैले झुकाएर बसपार्क बनायो भन्ने अदालतले ठहर्‍याएन।’

मुद्दा खारेज भएपछि कानुनीरुपमा नै बसपार्कको बाँकी रहेको काम सम्पन्न गर्न बाटो खुलेको छ। निर्माण कम्पनीले पनि थाती रहेको काम धमाधम सुचारु गरिसकेको छ। बसपार्क स्थानान्तरण गर्ने योजनासहित २०५९ मा तत्कालीन धरान नगरपालिकाले नेपाल सरकारलाई तीनकुने सुन्दर बस्ती विकास आयोजनाको प्रस्ताव पठाएको थियो। आयोजनाको बिचमा बहुउद्देश्यीय क्षेत्र २७ कट्ठा छुट्टाइएको थियो। त्यहाँ बसपार्क बनाउने योजना राखिएको थियो। उक्त जग्गा बसपार्कको लागि स्थानीय जग्गाधनीहरूले नै निःशुल्क उपलब्ध गराएका थिए।

आयोजनाले बसपार्कसँगै ४ वटा सेल्स प्लट भनेर पनि जग्गा राखेको थियो। उक्त जग्गा बेचेर बाटो, ड्रेन, बिजुलीलगायतको खर्च व्यहोर्ने योजना थियो। आयोजनाले धेरै जग्गा काटेको र नगरका कर्मचारी, जग्गा व्यापारी मिलेर बसपार्कको मुखतर्फ आफ्नो जग्गा पारेको भन्दै स्थानीय असन्तुष्ट भएका थिए। स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा सोही विवादले बसपार्कसहित आयोजनाको काम डेढ दशकसम्म रोकिएको थियो। २०७४ मा स्थानीय तह बनेर जनप्रतिनिधि निर्वाचित भएपछि मात्र असन्तुष्ट जग्गाधनीहरूसँग वार्ता गरेर आयोजनाको काम सुचारु भएको थियो। यद्यपि, केही जग्गाधनीहरूले चित्त नबुझाउँदै अदालतमा मुद्दा दायर गरेका थिए।

प्रकाशित: ३० श्रावण २०८१ १७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App