१८ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

एसियन गेम्स छनोट : नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित

एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग दुई विकेटले पराजित भएको हो। यससँगै नेपालले एसियन गेम्समा छनोट हुने अवसर गुमाएको छ।

नेपालले जितका लागि दिएको १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो। मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ४८ रन बनाइन्। यस्तै धनुश्री मुहुननले २१, आइना हमिजाले १८ र माहिरा इजातीले १४ रन बनाइन्। 

बलिङमा नेपालकी रिया शर्माले तीन विकेट लिइन् भने मनिषा उपाध्याय र रुबिना क्षेत्रीले दुई दुई तथा सीता रानामगर एक विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनाएको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाउँदा कविता कुँवरले ३३, रुवि पोदारले १७ र पूजा महतोले १५ रन बनाएकी थिइन्।

बलिङमा मलेसियाकी विनिफ्रेड दुराइसिङ्गामले दुई तथा आइसा एलिसा र माहिरा इजातीले एक एक विकेट लिइन्।

अब नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। फाइनलको लागि भने मलेसिया र थाइल्यान्ड छनोट भएको छ।  

प्रकाशित: १६ जेष्ठ २०८३ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App