४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बिजोग छन् ३० निकायले हेर्ने उपत्यकाका सडक

काठमाडौं उपत्यकामा रहेका सडकको स्तरोन्नति तथा मर्मत–सम्भार गर्ने ३० भन्दा बढी निकाय छन्, तर सडकको अवस्था बिजोक छ। खासगरी भित्री सडक निकै टिठलाग्दा छन्। जहाँतहीँ खाल्डाखुल्डी छन्, जहाँ यात्रुहरूले दिनदिनै सास्ती भोग्नु परिरहेको छ।

संघीय सरकारमातहत रहेर सडक हेर्ने गरी सडक विभाग र काठमाडौं उपत्यका चक्रपथ विस्तार आयोजनालाई जिम्मेवारी तोकिएको छ। सडक विभागको मातहतमा काठमाडौं, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै सडक डिभिजन कार्यालय रहेका छन्। यसैगरी उपत्यकामा सडक विस्तार तथा विकास गर्ने उद्देश्यबाट सडक विभागमातहत अर्को छुट्टै कार्यालय खोलिएको छ।

हाल केन्द्र सरकारको मातहतमा काठमाडौंमा चार सय ७२, ललितपुरमा दुई सय चार तथा भक्तपुरमा एक सय ४० किमि सडक रहेका छन्। सडक विभागले आफूमातहतमा रहेको सडकमा ‘स.वि.’ भनेर सबैले देख्ने गरी लेख्ने गरेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत पनि काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र सघन सहरी तथा भवन निर्माण आयोजनाले पनि उपत्यकाका सडक हेर्ने गर्छन्। एकीकृत बागमती विकास समितिले बागमती कोरिडोरको सडक हेर्ने गर्छ भने काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला कोरिडोरलगायतका सडक हेर्न गर्छ। प्रदेश सरकारमातहत पनि पूर्वाधार विकास कार्यालय र सहरी विकास कार्यालय छन्।

यसैगरी काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायत उपत्यकाका नगरपालिका तथा गाउँपालिकाले उपत्यकाका सडकको मर्मत–सम्भार तथा स्तरोन्नतिको जिम्मेवारी लिएका छन्। उपत्यकामा २१ वटा नगरपालिका तथा गाउँपालिका छन्। यसबाट उपत्यकाका सडक हेर्न २१ वटा स्थानीय सरकार, एउटा प्रदेश सरकार र एउटा केन्द्र सरकार गरी २३ वटा सरकार छन् भने यी सरकारको मातहतमा ३० वटाभन्दा बढी निकाय छन्।

करिब दुई हजार आठ सय किलोमिटर सडक मर्मत तथा स्तरोन्नतिको जिम्मा प्रदेश सरकार र स्थानीय सरकारले लिएका छन्। काठमाडौं महानगरका अनुसार महानगरले एक हजार चार सय किलोमिटर सडक महानगरपालिकाले हेर्दै आएको छ, तर उपत्यकाका सडक नाजुक रहेको विषय उठ्दा भने सडक हेर्ने जिम्मेवारी लिएका निकायहरू एकले अर्कालाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने गरेका छन्। ती निकायका अधिकारी आफ्नो जिम्मेवारीमा रहेका सडकमा समस्या नरहेको दाबी गर्दै आएका छन्।

सडक विभाग काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं डिभिजनले हेर्ने सडक सही अवस्थामा रहेको दाबी गरे। ‘हामीले हेर्ने सडकलाई राम्रो अवस्थामा राखेका छौं। समस्या आउनेबित्तिकै सामधान गर्ने गरेका छौं’, उनले भने।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार संघीय सरकारले देशभरि ८० वटा राजमार्ग हेने गर्छ। यी राजमार्गको कुल लम्बाइ १३ हजार नौ सय १३ किलोमिटर छ। राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने तथा आठ मिटरभन्दा बढी चौडाइका सडक तथा राजमार्ग र ट्राफिकको अवस्था संघीय सरकारले नै हेर्दै आएको छ।

प्रकाशित: २९ श्रावण २०८१ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App