‘परीक्षामा अनुत्तीर्ण भएमा त्यसलाई सहन गर्न र सहजरूपमा लिन सकिन्छ तर परीक्षामा ठगी एवम् छलछाम गर्नु ठूलो बेइमानी र असफलता हो’, यो भनाइ शैक्षिक क्षेत्रका अभियन्ता शिक्षाविद् फादर जिजु भर्गिजको हो। यस भनाइले नेपालको वर्तमान शैक्षिक क्षेत्रमा देखिएको बेथितिको चिन्ताजनक अवस्थालाई सङ्केत गरेको छ। यो अवस्था र प्रवृत्तिलाई कसैले फाट्टफुट्ट हुने घटना र हल्का मजाकका रूपमा लिन्छन् भने यो अझै डरलाग्दो विषय हो। वास्तवमा यो प्रवृत्ति दिनप्रतिदिन वनमा लागेको डढेलो जस्तै फैलिरहेको छ। जुन सिङ्गो समाज र राष्ट्रका लागि निकै घातक र पीडादायी विषय हो।
कुनै पनि मुलुकलाई ध्वस्त पार्न आणविक हतियार वा लामो दुरीसम्म प्रहार गर्ने क्षेप्यास्त्र निर्माण आवश्यक छैन। यसका लागि त्यो मुलुकको शैक्षिक स्तरलाई ध्वस्त पारिदिए पुग्छ र विद्यार्थीलाई परीक्षामा चोर्न मात्र दिए पुग्छ। त्यसो गरियो भने–
– त्यस्ता डाक्टरको हातबाट सहजै बचाउन सकिने सयौँ बिरामीहरू अकालैमा मर्नेछन्,
– त्यस्ता इन्जिनियरबाट निर्मित हजारौँ भवन र पुल जस्ता पूर्वाधारहरू ध्वस्त हुनेछन्,
– त्यस्ता अर्थविद्का हातबाट देशको अर्बौं ढुकुटी स्वाहा हुनेछ,
त्यस्ता धार्मिक अभियन्ताका हातबाट हार्दिकता र मानवता मसानघाटमा पुग्नेछ,
– त्यस्ता न्यायाधीशका कारण न्याय खरानी हुनेछ,
– त्यस्ता राजनेताबाट समाज र राज्य रसातलमा भासिन पुग्नेछ,
– त्यस्ता शिक्षकबाट सिंगो पुस्ता बरबाद हुनेछ,
त्यसैले शिक्षा ध्वस्त हुनु भनेको राज्य ध्वस्त हुनु हो। साउथ वेस्ट विश्वविद्यालयका अनुसन्धानकर्ता अउआज्याक ओबेनले
आफ्नो अनुसन्धानपत्रमा लेखेका यी भनाइ निकै मर्मस्पर्शी छन्।
यस वर्षको प्रारम्भमा युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (युएसएमएलइ) ले नेपाली परीक्षार्थीहरूका बीचमा एउटा अनुसन्धान गरेको थियो। यस अध्ययनले नेपाली विद्यार्थीमा रहेको समस्याग्रस्त अवस्था अगाडि सारेको पाइन्छ।
उक्त अनुसन्धानअनुसार नेपाली परीक्षार्थीले आफ्नो चरणगत परीक्षामा असामान्यरूपमा उच्च अंक प्राप्त गरेका थिए। उनीहरूले सही वा गलत जे भए पनि धेरैजसो प्रश्नका समान उत्तर छनोट गरेका थिए। यो तथ्यले पनि नेपाली परीक्षार्थीहरूमा देखिएको चोरी वा ठगीलाई पुष्टि गर्ने आधारलाई बढावा दिएको पाइन्छ।
वास्तवमा यस किसिमको विसङ्गत व्यवहार बेइमानीपूर्ण अभ्यास बिनालगभग असम्भव जस्तै मान्ने गरिन्छ। यसै छलछामपूर्ण व्यवहारकै परिणामस्वरूप अनुसन्धान प्रभावित भयो र यसलाई संयोग मात्र मान्न नसकेर उक्त परीक्षामा सहभागी धेरैजसो नेपाली परीक्षार्थीको नतिजा रद्द गरिएको थियो।
नेपालमै भए/गरेका यस किसिमका घटनाक्रमलाई आधार मानेर हेर्ने हो भने पनि प्रशस्त उदाहरण भेट्न सकिन्छ। केही महिनाअघि सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित हुन नसकेको खबर पनि सार्वजनिक भएका थिए।
उक्त परीक्षामा परीक्षार्थीले मात्र नभई परीक्षा सञ्चालनमा खटिएका निरीक्षकहरूले पनि आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई बिर्सेर व्यापकरूपमा अनियमितता र घोटाला गरेका समाचारले पत्रपत्रिकाको हेडलाइन भरिएका थिए। उनीहरूलाई परीक्षा हलमा ठगी गरेको गम्भीर आरोप लागेको थियो।
त्यस्तै उक्त परीक्षामा जाजरकोटलगायत केही जिल्लाका परीक्षा केन्द्रका विद्यार्थीलाई परीक्षा केन्द्रमा खटिएका केही निरीक्षकले नै प्रश्नपत्रका उत्तर दिएर एक अर्कामा नक्कल गर्न दिएको समाचार बाहिरिएको थियो। यसैगरी केही साताअघि मात्र सकिएको कक्षा १२ को बोर्ड परीक्षामा चोरी र ठगीका यस्ता घटना बढ्दै गएको खुलासा भएको छ।
यी माथि प्रस्तुत घटना केही प्रतिनिधि उदाहरण हुन्। यसबाट के बुझिन्छ भने नेपालको शैक्षिक क्षेत्रमा एउटा भाइरसरूपी डरलाग्दो र चिन्ताजनक रोगको प्रवेश भइसकेको देखिन्छ र यसले खतराको घन्टी बजाइसकेको महसुस गर्न सकिन्छ तथा परीक्षा हल नजिकका शौचालयहरूमा परीक्षाहलहरूमा चिट र नोटहरू लुकाउने जस्ता परम्परागत ठगी विधिदेखि लिएर आजको समाजका परिष्कृत प्राविधिक उपकरणको प्रयोगले विद्यार्थीको वास्तविक मूल्याङ्कनलाई कमजोर पार्न महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। यी घटनाले विद्यार्थीमा नैतिकताको खडेरी पर्दै गइरहेको र आधारभूतरूपमा शिक्षाको उद्देश्यमाथि निर्मम प्रहार गर्दै गएको अवस्थालाई चित्रण गरेका छन्।
परीक्षा भनेको वास्तविक सिकाइ र ज्ञान मूल्याङ्कनको आधार हो। त्यसकारण परीक्षा त ज्ञान, सिप र अनुभवको मापन गर्न महत्त्वपूर्ण अवसर हुनुपर्ने थियो तर यो त छलछाम र ठगीको केन्द्र बन्न पुगेको छ। यो निकै भयावह र दुःखद कुरा हो। यस किसिमको छलछाम र ठगीको व्यापकताले भोलिका दिनमा कस्तो जनशक्ति तयार होला ? यसले आज नेपालको शिक्षा क्षेत्र र परीक्षा प्रणालीमाथिको विश्वासलाई घटाउँदै गएको मात्र छैन, शैक्षिक प्रमाणहरूको वैधता र विश्वसनीयतामाथि नै गम्भीर शङ्का सिर्जना गर्न पुगेको छ।
सन्तुलन गुमेपछिको अवस्था
आज धेरै मानिसले आफूले गरेका राम्रा नराम्रा सबै काम सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा सार्वजनिक गर्दै आइरहेका छन्। अझ त्यसमा पनि आफूले गरेका ठगी र बेइमानीपूर्ण कार्यहरू पनि बडो बहादुरीका कर्म जस्तै गरी राख्दै आइरहेको पाइन्छ। त्यस्ता काममध्ये विद्यार्थीबीच भइरहेका शैक्षिक बेइमानी र ठगीका कार्यहरू वृद्धि हँुदै जानु निकै दुःखद र चिन्ताजनक विषय बनेको छ।
कसैको परीक्षा दिन जाने सट्टे (प्रोक्सी) उम्मेदवारदेखि लिएर कतिपय विद्यालय र शिक्षकले पनि यस्ता अनियमित काममा सहजीकरण गरिदिँदा यो झन् विकराल समस्याका रूपमा देखापरेको छ। यस किसिमका ठगी वा अनियमितताका कार्यमा आफूले गरेका गल्ती, कमजोरीमा दोषी वा पश्चाताप महसुस गर्नुको सट्टा यस्ता धोकाधडीमा गौरव गरेको सम्झनु भनेको सामाजिक, प्रशासनिक, राजनीतिक, आर्थिक सबै क्षेत्रको सन्तुलन बिग्रनु हो।
यो सामान्य विषय हुँदै होइन, यहाँ त अनुचित कर्मका माध्यमबाट सफलताको महिमागान गर्ने गलत संस्कृति विकास हँुदै गएको देखिन्छ। सामाजिक सञ्जालहरूमा यस किसिमका गलत व्यवहार आदान–प्रदानबाट यो संस्कृति वर्षैपिच्छे मौलाउँदै गएको छ, शैक्षिक इमानदारिता खस्कँदै गएको छ र उपलब्धिलाई विकृत बनाउन पुगेको छ।
परिणामस्वरूप स्वस्थ मस्तिष्कहरू पनि विकृत संस्कृतिको प्रभावमा विचलित भएका छन्। विकृत र भद्धा आदर्शले समाज नै प्रदूषित बन्न पुगेको छ। जसले गर्दा नैतिकता र इमानदारिताका आवरणमा बेइमानीले घृणित उत्सव मनाइरहेको महसुस गर्न सकिन्छ।
खतराको घन्टी
परीक्षाका बेला गरिने अनुचित, अमर्यादित र धोकाधडीबाट प्राप्त हुने नतिजाले परीक्षा तयारीमा इमानदारीपूर्वक लागेर साँचो प्रयास गरेका विद्यार्थीमा गम्भीर र नराम्रो असर परेको देखिन्छ।
साँच्चै नै शान्त, स्वच्छ र निष्पक्ष वातावरणमा ध्यान केन्द्रित गरेर परीक्षामा लेख्न चाहने योग्य विद्यार्थी अमर्यादित र अराजक कार्य हुने परीक्षा हलहरूमा पुग्दा तथा अरूले उनीहरूलाई जवाफका लागि दबाब समेत दिँदा कस्तो मनोदशामा पुग्छन् होला ? के यो योग्य र अध्ययनशील विद्यार्थीका लागि अत्यासलाग्दो वातावरण होइन र ? परीक्षाका समयमा गरिने यस किसिमका अनुचित व्यवहार र ठगी कार्यले परीक्षा हलको सन्तुलन नै बिगारिदिन्छ।
राम्रा विद्यार्थीको मथिङ्गल नै हल्लाइदिन्छ। असहज र अन्यायपूर्ण वातावरण सिर्जना गर्दछ। परीक्षा हलभित्र बसेर परीक्षा दिइरहेका असल विद्यार्थीहरू खराब काम गर्ने सहपाठी साथीहरूको साक्षी बन्नुपर्दा आफूलाई निकै अप्ठ्यारो र निरीह महसुस गर्न पुग्छन्। बेइमानीपूर्ण रणनीतिको सहारा लिएर अगाडि बढ्न खोज्ने विद्यार्थीका कारण योग्य विद्यार्थीले मेहनत गरेर प्राप्त गरेका उपलब्धिको सत्यतामा पनि प्रश्नचिह्न खडा भएको छ।
साँच्चै यतिबेला ठगीका कारण शैक्षिक मूल्याङ्कनहरूको विश्वसनीयता कमजोर सावित हुन पुगेको छ। फलस्वरूप योग्य र सक्षम विद्यार्थी मनोवैज्ञानिक र भावनात्मकरूपले कमजोर बन्न पुगेका हुन्छन्। यस्तो अवस्थामा लगनशील विद्यार्थीले परीक्षाको निष्पक्षता र योग्यतालाई समर्थन गर्न नसक्ने भएकाले बेइमानी र धोकाको महसुस गर्छन्।
परीक्षा हलमा निरीक्षकले परीक्षाको मर्यादामाथि बेवास्ता गर्नाले तथा विद्यार्थीले एकअर्कालाई आफ्नो उत्तर देखाउने, सिकाउने जस्ता गलत कामका लागि प्रोत्साहन हुने किसिमको वातावरणले कतिपय परीक्षार्थी यस्ता अमर्यादित काममा सहभागी हुने वा प्रतिरोध गर्ने भन्ने सन्दर्भमा केही समय अलमलमा पर्छन्।
यस्ता विद्यार्थी पनि ढिलो÷चाँडो प्रचलित व्यवहारको सिकार बन्ने सम्भावना बढी हुन्छ। जसरी एउटा बोरामा एउटा मात्र कुहेको आलु पर्नाले सबै आलुलाई कुहाउने सम्भावना रहन्छ, त्यसरी नै आज इमानदार र लगनशील विद्यार्थीमाथि पनि बिग्रन सक्ने खतराको घन्टी बज्नै थालेको अनुभव गर्न सकिन्छ। त्यसैले कमजोर पर्यवेक्षणले पनि परीक्षाको मर्यादालाई बिगार्ने, शैक्षिक बेइमानी बढाउने र विद्यार्थीलाई दुव्र्यवहारमा चुर्लुम्म डुबाउने भएकाले यसतर्फ पनि ध्यान दिनु आवश्यक देखिन्छ।
गल्ती साना, क्षति भयङ्कर
परीक्षासँग आबद्ध शिक्षकहरूले परीक्षाको संवेदनशीलता बुझ्न नितान्त आवश्यक हुन्छ। परीक्षा हलमा के होला र भनेर शिक्षकहरूले बेवास्ता गर्दा समस्या झनै बढ्छ। यसले गर्दा विद्यार्थीमा अनुचित कार्य गर्न हौसला बढ्छ।
धोकाधडी र बेइमानी गर्नु ठीक हो भन्ने सन्देश प्रवाह हुन्छ। वास्तवमा यस्तो अवस्था सिर्जना हुनुमा शिक्षक र विद्यालयको गैरजिम्मेवार भूमिका प्रमुख कारक तत्त्व बन्न पुगेको हुन्छ। यतिबेला शिक्षक निष्ठाको मापदण्ड कायम गर्न र अनुशासनका उपयुक्त विधि र उपायहरू लागु गर्न चुकेका हुन्छन्। यस किसिमका व्यवहारका फलस्वरूप अनुकूल सिकाइ वातावरण र सिंगो शैक्षिक क्षेत्रलाई नै तहसनहस बनाउँछ।
एउटा गुरु वा शिक्षक विद्यार्थीको आदर्श व्यक्ति बन्न सक्नुपर्छ। सत्य, धर्म, नैतिकता र उच्च मर्यादा कायम गर्ने कुरामा ऊ कहीँकतैबाट चुक्नुहँुदैन। नैतिक आचरण उसको गहना हो। यस किसिमको नैतिक आचरण उसले परीक्षाका समयामा पनि देखाउन सक्नुपर्छ।
परीक्षाको समयमा पनि हामीले उच्च नैतिकता प्रदर्शन गर्न सकेनौँ, परीक्षामा विद्यार्थीबाट हुने चोरी, ठगीलाई प्रश्रय दिइरह्यौँ, अनुचित व्यवहारलाई निरन्तर अनुमति दिइरह्यौँ भने हामी शिक्षाका केन्द्रविन्दु मानिने शिक्षकहरू सत्य, निष्पक्षता, पूर्ण र आदर्शका सिद्धान्तहरूबाट विचलित हुनेछौँ। त्यसकारण शिक्षकले परीक्षामा हुने गडबडी नियन्त्रण गर्न आफ्नो उपस्थितिलाई आवश्यकताका आधारमा मजबुत बनाउन सक्नुपर्छ।
यसो भएमा मात्रै परीक्षाको मर्यादा र प्रतिफल सुखद र परिणाममुखी बन्न सक्छ। यसका लागि शिक्षकमा आफ्नो जिम्मेवारी पूरा गर्न उच्च साहस र जवाफदेही मूल्य हुनै पर्छ। हामी कहीँकतै चुकेका, हारेका र विचलित भएका छौँ भने आफ्ना गल्ती कमजोरीहरूमा पुनर्विचार गर्न पनि आवश्यक हुन्छ। वास्तवमा गुरुको व्यावसायिक कर्मको सार यही होइन र ?
विद्यालय भनेको सिकाइका माध्यमबाट उच्च र असलमा नवनिर्माण गर्ने पवित्र मन्दिर हो। त्यसैले विद्यालयलाई शैक्षिक बेइमानी गर्ने स्थलका रूपमा चिनाउनु किमार्थ स्वीकार्य हुन सक्दैन। यस्ता अवाञ्छित गतिविधिबाट विद्यालयलाई अछुतो राख्नुपर्छ।
शैक्षिक उद्देश्यहरूको पूर्णतया रक्षा गरी विद्यालयलाई अनैतिक व्यवहारहरूबाट मुक्त राख्नु शिक्षकको कर्तव्य हो। यो कर्तव्य पूरा गर्ने क्रममा कहिलेकाहीं असामान्य र प्रतिकूल वातावरणसँग लड्नै पर्छ र प्रतिरोध गर्नै पर्छ। साथै शैक्षिक अखण्डता र नैतिक सत्यताको बलियो खम्बा बनेर स्वच्छ शैक्षिक नेतृत्वका रूपमा सेवा गर्नुपर्छ।
विषम शैक्षिक स्थिति
शिक्षा शब्दको उत्पत्ति ल्याटिन भाषाको ‘इडियुसिएटिआइओ’ बाट भएको हो। यसको शाब्दिक अर्थ ‘पालन’ हो। नैतिकरूपमा इमानदार, बौद्धिकरूपमा सक्षम, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ हुने किसिमबाट विद्यार्थीको पालनपोषण गर्नु नै यसको बृहत् अर्थ हो। त्यसैले शिक्षा भनेको विद्यार्थीको समग्र व्यक्तित्व निर्माणको उपयुक्त माध्यम हो। त्यसैले शिक्षा प्राप्तिका लागि अनुकूल वातावरण हुनै पर्छ।
विद्यार्थीको भविष्यसँग जोडिएको हुनाले शैक्षिक संस्थाहरू पनि उनीहरूको समग्र व्यक्तित्व निर्माणको आधार बन्न सक्नुपर्छ। यसो भएमा मात्र विद्यार्थीमा आलोचनात्मक सोचको विकास, बौद्धिक जिज्ञासाहरूको पोषण, उच्च नैतिक मूल्यहरू स्थापित गर्न सकिन्छ। यसो भएमा मात्रै शिक्षाका प्रमुख उद्देश्य तथा लक्ष्यहरू हासिल गर्न सम्भव हुन्छ। यी लक्ष्यमध्ये नैतिक स्तरहरू स्थापित गर्नु निकै चुनौतीपूर्ण मानिन्छ। यही नै महत्त्वपूर्ण कुरा र जीवन कौशल पनि हो। यही कौशलले नै जीवनभर दिशानिर्देश गर्ने कम्पासका रूपमा काम गरेको हुन्छ।
माथि उल्लिखित जीवन कौशलको मापन र मूल्याङ्कन गर्ने प्रमुख आधार परीक्षा हो। परीक्षामा हुने अनुचित व्यवहारले समग्ररूपमा शिक्षाको मूलमन्त्र र आदर्शलाई नै धमिल्याउने काम गर्छ। वास्तवमा यस्तो अनुचित र अमर्यादित व्यवहारले शैक्षिक मूल्यमान्यतामाथि निर्मम प्रहार गरेको हुन्छ र सिकाइको विश्वसनीयतालाई कमजोर बनाउँछ।
यस्तो व्यवहार विद्यार्थी आफूले अध्ययन गरेको विद्यालयको वातावरणबाटै प्राप्त गर्ने हुनाले परीक्षाका समयमा कुनै पनि किसिमका प्रतिकूल व्यवहार हुन नदिन विद्यालय तथा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ। भर्खरै सम्पन्न कक्षा १२ को परीक्षामा भएका ठगीका घटनाले पनि यस कुराको पुष्टि गर्छन्।
यी घटनाक्रमले पनि शिक्षकको मानसिकतामा तत्काल परिवर्तन गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन्। स्वस्थ शैक्षिक वातावरणलाई निरन्तरता प्रदान गर्नका लागि अब शिक्षकहरूलाई सशक्त बनाउन जरुरी भइसकेको छ।
विषम र प्रतिकूल परिस्थितिमा गुज्रिरहेको नेपालको आजको शिक्षा प्रणालीलाई व्यवस्थित गर्न तथा सही मार्गमा डोर्याउन पनि नेपालको परीक्षा प्रणालीलाई स्वस्थ र मर्यादित बनाउन अझै पनि ढिलाइ गर्याैं भने देशले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ। त्यसैले निष्पक्षता तथा योग्यतालाई कायम राख्न एवम् स्वस्थ, योग्य र सक्षम जनशक्तिको माध्यमबाट देशलाई विकासको शिखरतर्फ चढाउन हामी सबै होस्टेमा हैँसे गर्दै जुट्नुपर्ने बेला आइसकेको छ। त्यसका लागि हामी सबैको एकमुष्ट प्रयास आवश्यक छ। अनि मात्र हामीले खोजे जस्तो उच्च निष्ठा, नैतिकता र आचरणले युक्त समाज निर्माण गर्न सकिनेछ।
सबैको अटुट प्रतिबद्धता र अठोट भएमा विद्यार्थीमा स·ठनका नाममा गरिने अमर्यादित क्रियाकलापरूपी त्रासदीको सामना र प्रतिरोध गर्दै सकारात्मक र उच्च नैतिकताले भरिएको युवा शक्तिलाई देश विकासको महाअभियानमा परिचालन गर्न सकिनेछ। अनि मात्र समृद्धि सम्भव छ। अन्त्यमा, हामीले चाहेको सभ्य र भव्य समाज हो। उच्च नैतिकतामा आधारित समाज हो। त्यसका लागि हामी साधनाको एकलव्य बन्नैपर्छ। पठन संस्कृतिलाई बढाउनै पर्छ। निष्ठा र इमानको बाटोमा लाग्नैपर्छ।
प्रकाशित: २८ श्रावण २०८१ ०७:३८ सोमबार