माछा मिठो असला दरमखोलाको
ओई मायाले सुनेनौं र बोलाको किन टोलाको
चर्चित गायक बसन्त थापाले शब्द संगीत र स्वर दिएको गीतको पंक्ति हो। यसमा महिला कलाकारको रूपमा निता पुनले साथ दिएकी छिन्। झन्डै एक दशक अगाडि बजारमा आएको यो गीतले खुब चर्चा पायो । यो गीतले मात्रै चर्चा पाएन। दरमखोलाको असला माछाको ख्याति र पहिचान पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा थप बढायो। बागलुङको गलकोट भन्नेबित्तिकै असला माछा खाने भन्ने सबैको मुखमा झुन्डिन थाल्यो। माछाको चर्चासँगै माग बढेपछि जथाभावी माछा पार्ने प्रवृत्ति पनि बढेपछि गलकोट नगरपालिकाले असला माछाको संरक्षण थालेको छ।
नगरपालिकाले गतवर्षबाट जलचर संरक्षण ऐन निर्माण गरी जारी गरेर गलकोटको पहिचान बनेको असला माछा संरक्षणका लागि पहल थालेको हो। गलकोट नगरपालिकाको माछा जोगाउन नगरपालिकाले अहिले मार्न प्रतिबन्ध लगाएको छ। गलकोट नगरपालिकाले दरमखोला र गौंदीखोलामा तीन महिनाका लागि माछा मार्न प्रतिन्ध लगाएको हो । गलकोटकै पहिचान बनेको असला प्रजातिको माछा संरक्षणका लागि नगरपालिकाले माछाले फुल पार्ने समय भएकाले भदौदेखि कात्तिकसम्म मार्न रोक लगाएको हो।
गतवर्षको अनुभवले असला संरक्षणका लागि फुल पार्ने समयमा प्रतिबन्ध लगाइएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी ‘हेमन्त’ले बताए। ‘गलकोट आएपछि माछा खाने भन्ने अधिकांशको रोजाइ हुन्छ,’ भण्डारी भन्छन्, ‘गलकोटलाई देश भित्र र बाहिर पनि चिनाउने असला माछा जोगाउन हामीले कार्यविधि नै बनाएर काम गरेका छौं। गतवर्ष तीन महिनाका लागि माछा मार्न रोक लगाएका कारण हिउँदमा खोलामा प्रशस्त माछा पाइएको थियो ।’ फुल पार्ने समयमा माछा मार्दा नयाँ उत्पादन रोकिने भएका कारण माछा नै नपाइने अवस्था सिर्जना हुनबाट रोक्न यस्तो गरिएको उनी बताउँछन्।
‘माछा गलकोटको पहिचान नै बन्यो, यसलाई जोगाउनुपर्छ भन्ने हेतुले नै यो कार्य गरेका हौं, फुल पार्ने बेलामा मात्रै जोगाउँदा माछा उल्लेख्य वृद्धि भएको पाइयो,’ उनले भने। गलकोटमा माछा छैन भनेपछि पाहुनाहरू गलकोटमा नरोकिने गरेको होटल व्यवसायी कौशिला घर्ती बताउँछिन्। ‘माछा खानकै लागि भनेर त आउँदैनन् तर गलकोट आइसकेपछि माछा नै सबैको रोजाइ हुन्छ,’ उनी भन्छिन्, ‘माछा छैन भनेपछि पाहुनाहरू यहाँ रोकिनुहुन्न । टाढाबाट आउने पाहुनालाई गलकोटमा रोक्ने भनेकै माछा खाने निहुँमा हो।’ देश विदेशामा माग बढेपछि एक ताका निकै महँगो भएको माछाको मूल्य अहिले स्थिर हुँदै गएको उनी बताउँछिन्।
‘गलकोटबाट जापानमा धेरै गएका कारण कोसेलीको रूपमा सुकाएर त्यता पठाउने भएकाले एक ताका त हामी स्थानीय होटल व्यवसायीले माछा पाउनै गाह्रो भयो,’ उनले भनिन्, ‘आलो माछाकै मूल्य चौध पन्ध्रसय रूपैयाँ प्रतिकिलोसम्म पुग्यो। अहिले जापानले सुकुटी माछामा रोक लगाएपछि अलि सहज रूपमा पाइन थालेको छ। सुकेको माछोको मूल्य नै चौथ पन्ध्र हजार पुगेको थियो। अहिले आठदेखि दश हजार रूपैयाँमा पाइन्छ ।’ जापानले सुकुटी माछा लैजान नदिएपछि अहिले अलि सहज भएको उनको भनाइ छ। गलकोट नगरपालिकाले जलचर संरक्षण ऐन नै बनाएर माछा संरक्षणको प्रयास थालेको छ।
प्रतिबन्धित समयमा माछा मारेमा एक लाख रूपैयाँसम्म जरिवाना तोकिएको छ। जथाभावी माछा मार्न रोक लगाउँदै आएको गलकोट नगरपालिकाले अब माछा मार्नेहरूका लागि अनुमतिपत्रको समेत व्यवस्था गर्न लागेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रममै माछा मार्नेहरूका लागि अनुमति पत्र व्यवस्था गर्ने उल्लेख गरेको छ। माछाको संरक्षणसँगै व्यावसायिकरण र यसबाट राजस्वमासमेत वृद्धि गर्ने उद्देश्य अनुसार नगरपालिका अगाडि बढेको नगरप्रमुख भरत शर्मा गैरे बताउँछन्।
प्रकाशित: २४ श्रावण २०८१ ०८:०५ बिहीबार