२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

कानुनी प्रक्रियामै अल्झियो सरकार, रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार

खगेन्द्रप्रसाद र खगेन्द्रकली तत्काल कतार नजाने

नेपालले कतारलाई उपहारस्वरूप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन्। कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउन समस्या देखिएको हो।

वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा हात्ती पठाउने भनिएको थियो, तर कानुनी तथा प्राविधिक प्रक्रिया नमिलेपछि हात्ती पठाइएको थिएन।

हात्ती कतार पठाउन अझै केही महिना लाग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाह बताउँछन्। उनका अनुसार कतारका तर्फबाट कानुनी प्रक्रिया पूरा नहुँदा समस्या देखिएको हो।

‘हात्ती लोपउन्मुख वन्यजन्तुअन्तगर्त पर्दछ। यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ’, उनले भने, ‘साइटिस पालनाका लागि हामीले कतारलाई पत्र पठाएका छौं। त्यसको जानकारी अहिलेसम्म आएको छैन।’

यसअघि नेपाल सरकार र कतारबिच भएको सम्झौतामा केही परिवर्तन गरेर नेपालले कतारलाई पत्र पठाएको छ। त्यसको कानुनी प्रक्रिया पूरा गरेपछि नेपालले हात्ती पठाउन सक्ने शाहले बताए।

‘नेपालको तर्फबाट सम्झौताको ड्राफ परिवर्तन गरी तीन महिनाअघि कतार पठाइएको छ। यस विषयमा नेपालस्थित कतारको राजदूतावाससँग पनि छलफल भएको छ’, शाहले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि पठाउँछौं।’

हात्ती नेपालको संरक्षित जनावर हो। उपहारस्वरूप विदेश पठाए पनि वार्षिक रूपमा हात्तीको रिपोर्ट कतार सरकारले दिनुपर्ने माग नेपालले राखेको छ। हात्तीको आवधिक स्वास्थ्य परीक्षण, त्यहाँको वातावरणको अवस्था र पोषणसम्बन्धी विषय नयाँ बनाएर पठाएको सम्झौतामा समावेश गरिएको उनले बताए। जनावरहरू ओसारपसार गर्नका लागि चिसो मौसम उपयुक्त हुन्छ। कतारबाट स्वीकृत भएमा चिसो मौसममै हात्ती पठाउने तयारी भएको उनले बताए।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा हात्ती उपहार दिने निर्णय सरकारले गरेको थियो। नेपालले चितवनमै जन्मिएर हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका दुई हात्ती कतार पठाउन लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनले बताए।

खगेन्द्रप्रसाद २०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो। अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्रमा छ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा हुर्कंदै गरेकी रुद्रकली पाँच वर्षको भई। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो। पूजाकलीको मृत्युपछि उसलाई माउतेले रेखदेख गरेर हुर्काएका थिए। दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिइएका हात्ती हुन्।

नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता विभिन्न देशलाई अरू जनावर उपहार दिइए पनि पहिलोपटक हात्ती दिन लागिएको हो। कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

यी हात्ती कतार पठाउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको वातावरण अध्ययन गरेर फर्किएको थियो। अध्ययन टोलीले हात्ती राख्न बनाइएको ठाउँ उपयुक्त रहेको निचोड निकालेको थियो।

हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट आएको प्राविधिक टोलीसमेत फर्किसकेको थियो। टोली दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौलसमेत लिएर फर्किएको छ।

निकुञ्जका अनुसार चार महिनाअघि कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल एक हजार एक सय ९० किलो र रुद्रकलीको तौल एक हजार दुई सय किलो रहेको थियो।

सरकारको निर्देशन आएमा निकुञ्जबाट उनीहरूलाई पठाउन कुनै समस्या नरहेको सूचना अधिकारी तिवारीले बताए। उनका अनुसार नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन्। जङ्गली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान छ।

हालसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ।

सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगाय देशलाई २६ वटा गैंडा उपहार दिइसकेको छ। नेपालले पहिलोपटक सन् १९८५ मा विदेशी राष्ट्रलाई गैंडा उपहार दिएको थियो।

प्रकाशित: २३ श्रावण २०८१ २१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App