४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरको नवदुर्गामा घरमा भित्राइयो वडादशैंको खम्ये

भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सोमबार भित्राइएको महिषासुरको प्रतिक मानिने ठूलो राँंगो खम्ये । तस्बिर : कृष्ण किसी/नागरिक

प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रप्रमुख (राष्टपति) दर्शन गर्न आउने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर)मा सोमबार महिषासुरको प्रतीक मानिने खम्ये (निखर कालो ठूलो राँगो) भित्राइएको छ। भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायक गछेंस्थित द्योछेंमा विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्ये भित्याइएको हो।

नवदुर्गा गणका बालगोपाल वनमालाले यसवर्ष स्थानीय विश्वराम सुवालले स्वर्गीय बुवा मुक्तिबहादुर सुवालको नाममा सो खम्ये चाढाएको जानकारी दिए। वनमालाका अनुसार सुवाल परिवारले पाँचवर्ष आगाडि नै खम्येको लागि एक लाख रकम बुझाइराखेका थिए। दाताहरुले बुझाएको रकम संस्थामा अगाडि नै बुक गरी राखिदिने र खम्ये ल्याउने समयसम्ममा खम्ये खरिदका लागि आवश्यक सम्पूर्ण रकम संस्थामा जम्मा गरिदिएर खम्ये ल्याइदिने चलन छ।  

दश वर्ष कुरेर यसवर्ष आफूले खम्ये चढाउन पाएको बताउँदै सुवालले आफ्नो स्वर्गीय बुवाको मनोकांक्षा यसवर्ष पूरा भएको भन्दै खुशी व्यक्त गरे।  

गणका सदस्य वनमालाका अनुसार, २०९१ सालसम्मका लागि खम्ये जात्रामा राँगो दिने भक्तजनले आफ्नो नाम दर्ता गराई सकेका छन्।  

महिषासुरको प्रतीक खम्ये नौरथाको नवमी कालरात्रीमा वध गरिन्छ। यसअघि नवमीमा द्योछेंबाट नगरभरि राँंगोलाई दौडाई जात्रा गरिन्छ। नगर परिक्रमापछि नगरको पूर्वस्थित ब्रम्हायणीमा लगेर राति राँगो वध गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा खम्ये जात्रा भनिन्छ।

दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ। मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर लगिन्छ। यो क्रममा बाटोभरि हजारौं नगरबासी दुवै छेउमा बसेर जात्रा हेर्ने गर्छन्।

नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्छ। दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन्।  

प्रकाशित: २१ श्रावण २०८१ १६:०५ सोमबार

#Dashain #Bhaktapur Kamalbinayak