२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

पढ्दै उद्यमी बन्ने योजना बुन्दै

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी विज्ञप्ति सुवेदीले पछिल्लो समय युवामाझ लोकप्रिय फुटसलमा लगानी गर्ने योजना बनाएकी छन्। सानो मैदानमा खेल्न सकिने भए पनि म्याग्दीमा नहुदाँ छिमेकी जिल्ला बागलुङ जानुपर्ने फुटसल पारखीको बाध्यता अन्त्य गर्ने उनको योजना छ।

फुर्सदको साथी जस्तै बनेको फुटसलप्रति युवाको ‘क्रेज’ बढ्दो छ। ‘इन्डोर’ खेल फुटसलबाट शारीरिक व्यायाम पनि हुन्छ। यो खेल सबै मौसममा खेल्न मिल्छ। क्याम्पसमा सञ्चालित ४० दिने उद्यमशीलता सहायता कार्यक्रममा छात्रा सुवेदीले फुटसलको विकासमा लगानी गर्ने व्यावसायिक योजना प्रस्तुत गरेकी हुन।

बेनी नगरपालिका–५ डडुवाकी सुजता खत्रीले पनि व्यावसायिक रूपमा मौरीपालनका लागि उद्योग दर्ता गरेकी छन्। उनी अहिले मौरीपालन व्यवसायमा लगानी खोज्दैछिन्। म्याग्दीकै नमुना मौरीपालक कृषक आमा राजकुमारीबाट मौरीपालन सिकेकी खत्रीले मिसावट महको बिक्रीवितरण रोक्ने र म्याग्दीलाई घर मौरीपालनको केन्द्र बनाउने आफ्नो योजना रहेको सुनाइन्।

म्याग्दी बहुमुखी क्याम्पसमै अध्ययनरत रघुगंगा गाउँपालिका–३ मौवाफाँटका सन्दिप खत्रीले बंगुर पनि पालेका छन्। ‘अफ्रिकन स्वाइन फिभर’ को संक्रमणका कारण बंगुरको खोर रित्तै भए पनि उनले हिम्मत हारेका छैनन्। उनले क्याम्पसको पढाइपछि कामका लागि विदेश नजाने बरु गाउँमै बसेर उद्यम गर्ने योजना बुनेको बताए।

‘मेहनत गरे गाउँघरमै महिनामा लाख रूपैयाँ कमाइ हुन्छ, मैले आधुनिक बंगुर फार्म खोल्ने योजना बनाएको छु,’ उनले भने।  

विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले हालै आयोजना गरेको उद्यमशीलता तालिममा १३ जना विद्यार्थीले आ–आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका हुन्।

विश्वविद्यालय अनुदान आयोगले उद्यमशिलता सहायता परियोजनाका लागि १८ वटा क्याम्पसमा छनोट गरेको र त्यसमा म्याग्दी बहुमुखी क्याम्पस पनि परेको हो। उद्यमशीलता तालिमका लागि छनोट भएका विद्यार्थीले तालिम अवधिभर सैद्धान्तिक ज्ञान, अध्ययन अवलोकन भ्रमण, विषयविज्ञ र सफल उद्यमीहरूको अनुभव सुनेपछि व्यावसायिक प्रस्ताव तयार पारेको परियोजना संयोजक रामजीप्रसाद सुवेदीले बताए।  

कार्यक्रममा विद्यार्थीले प्रस्ताव गरेका उद्योगको प्रकृति, लगानीको आधार, प्रतिफललगायत सम्रग विषयमा छलफल गरिएको थियो। क्याम्पस तहको पढाइपछि कामका लागि वैदेशिक यात्रामा जाने विद्यार्थीलाई स्वदेशमै उद्यमी बनाउने उद्देश्यले सञ्चालन गरिएको उद्यमशिलता तालिमको सुरुवातमा ४२ जना विद्यार्थीको सहभागिता रहेको र समापनसम्म आउँदा १३ जनाले व्यावसायिक अवधारणा पत्र तयार पारेको क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए। ‘उत्कृष्ट पाँच परियोजनालाई छनोट गरी पठाउँछौ, तालिमले विद्यार्थीमा उत्साह थपेको छ,’ उनले भने ।

चालीस घण्टाको पाठ्यक्रममा आधारित उद्यमशीलता तालिममा विद्यार्थीलाई उद्यमी बन्न आवश्यक ज्ञान, सीप, उत्प्रेरणासम्बन्धमा स्थानीय र राष्ट्रियस्तरका सफल उद्यमीसहित विषयविज्ञले सहजीकरण गरेका थिए। विद्यार्थीले तयार पारेका व्यावसायिक योजनामा टिम्बुर खेती, सुन्तला खेती, मौरीपालन, गार्मेन्ट उद्योग, ट्राउट माछापालन, नेपाली कागज निर्माण, अल्लोको व्यावसायिक खेती र प्रशोधन उद्योग, बंगुरपालन, बाख्रापालन, फुटसल विस्तार लगायत छन्।

म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाका प्रतिनिधिले प्रस्तावित अवधारणा पत्रमध्येबाट छनोट हुनेलाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि यही साउन १४ गतेभित्र विश्वविद्यालय अनुदान आयोगमा पठाइने छ। ९० परियोजनाका लागि देशभरका १८ क्याम्पसबाट छानिएका विद्यार्थीका अवधारणा पत्रबीच प्रतिस्पर्धा गराइनेछ। छनोट भएकालाई अनुदान रकम उपलब्ध गराइनेछ।

अनुदानको रकम व्यवसायको प्रगतिअनुसार किस्ताबन्दीमा प्राप्त गर्न सकिने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले बताए। उत्कृष्ट हुनेले ४० लाख रूपैयाँसम्म अनुदान पाउन सक्ने छन्। छनोट भएकाले अनुदान रकम बिनाब्याज प्रयोग गर्न पाउने छन् तर उद्योगबाट आम्दानी गर्न थालेपछि किस्ताबन्दीमै फिर्ता गर्नुपर्ने छ।

तालिम समापन कार्यक्रममा किङ्स कलेज काठमाडांैका सञ्चालक नरोत्तम अर्याल, उत्तम खड्का र कालिका बहुमुखी क्याम्पस पोखराका वसन्त बरालले व्यावसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिङ सुविधाको उपयोग, ऋण लगानीलगायत विषयमा सहजीकरण गरेका थिए ।

प्रकाशित: १४ श्रावण २०८१ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App