४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लेदोसहितको भेलले बस्ती बगाउँदा गोरखामा हराएका पाँचजना अझै भेटिएनन्

घाईते दुईजनाको उद्धार

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार बिहान झरेको पहिरो। यही पहिरोमा परेका पाँचजना अझै बेपत्ता छन। तस्बिर सौजन्यः सुशील गुरुङ

पहिरोले खोल्सी थुन्दा पोखरी बनेको र त्यही पोखरी फुटेर बग्ने क्रममा छहराबाट खसेको लेदोसहितको भेलले बगाउँदा गोरखामा एकैपरिवारका तीनजना सहित पाँचजना बेपत्ता भएका छन्। भेलमा परेर अरु दुइजना घाइते भएका छन्।

गोरखाका प्रहरी प्रवक्ता डिएसपी रमेश श्रेष्ठका अनुसार उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार बिहान करिब तीनबजेतिरको उक्त भेलले घर बगाउँदा एकै परिवारका तीनजनासहित पाँचजना बेपत्ता भएका हुन्। उनीहरुको खोजीका लागि स्थानीय र प्रहरी जुटेपनि फेला परेका छैनन्।

बेपत्ता हुनेमा स्थानीय ३७ वर्षिय जीतबहादुर गुरुङ, उनकी ३५ वर्षकी श्रीमती कान्छी गुरुङ, बुबा ६० वर्षका सुलालकान्छा गुरुङ, सोही वडास्थित सिङलाका ३३ वर्षिय रमेश गुरुङ र ठेगाना नखुलेका २४ वर्षिय रमेश परियार छन्। पहिरोमा परेर सिङलाका ३५ वर्षिय दिलीप गुरुङ र २७ वर्षिय खमबहादुर गुरुङ घाईते भएका थिए।  

भेलले बगाउँदा घाईते भएका उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरि उपचारका लागि काठमाडौं ग्राण्डी अस्पताल लगिएको छ। रातभरको अविरल वर्षापछि आईतबार बिहानै त्यस ठाउँमा बस्ती माथिबाट लेदो सहितको भीषण भेल बगेको थियो। त्यही भेल बस्तीमा पसेर घरलाई सोहोरेर लगेको थियो। 

प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार घटनास्थलमा सबैभन्दा नजिकमा पर्ने अढाई घण्टा दूरीको लाप्राक र चारघण्टा दुरीको माछखोलाबाट प्रहरी पुगेको छ। प्रहरीले खोजी गरिरहेपनि बेपत्ता व्यक्ति फेला नपरेको श्रेष्ठले बताए। ‘शनिबार भीषण वर्षा भएको रहेछ। आइतबार बिहान तीनबजेतिर भेलले उनीहरु सुतेको घर बगाएको हो,’ श्रेष्ठले भने।  

धार्चे–५ का अध्यक्ष भीमप्रसाद गुरुङका अनुसार रेसेखोलाको त्यो बस्ती खासै असुरक्षित होईन। पहिरो नै झर्ने ठाउँ पनि होईन। तर, बस्ती हुँदै बगेको खोल्सीको सिरानमा सानो पहिरो झरेर थुनिएको र थुनिएको पोखरी फुटेर बग्ने क्रममा छहराबाट खसेको लेदोसहितको भेलले बस्ती बगाएको अनुमान रहेको उनले बताए।  

‘रेसेखेला किनारको उक्त बस्ती खासै पहिरोको जोखिममा रहेको ठाउँ होइन। बस्ती भन्दा तल खोला छ। खोलाले क्षति गरेको पनि होईन,’ उनले भने, ‘तर माथिल्लो पाखामा खोल्सीमा पानी जम्यो, सानो पहिरोले खोल्सी थुनिँदा पोखरी बनेको र त्यही पोखरी फुटेर बग्दै गर्दा लेदो सहितको भेल बस्तीमा पसेको हो। त्यही भेलले बगाएर क्षति भएको हो।’ उनका अनुसार बस्तीमाथिबाट खसेको लेदो सहितको गेग्रानले तल क्षति गरेको हो।  

वडाध्यक्ष गुरुङका अनुसार जीतबहादुरले त्यही ठाउँमा कृषि र पशुपंक्षी फारम खोलेका थिए। उनीहरुले नै संचालन गरेको एउटा होटल पनि थियो। रेसेखोलामा निर्माणाधिन हाइड्रोपावरका कर्मचारी पनि त्यही क्षेत्रमा बस्दथे। ‘भेलले गुरुङको कृषि र पशुपंक्षी फर्म पनि क्षति गरेको छ। हाइड्रोपावरमा कार्यरत प्राविधिक पनि पहिरोमा परेका छन,’ उनले भने।  

बस्तीको माथिल्लो क्षेत्रमा तीनवर्ष अघि मोटरबाटो पनि खनिएको थियो। लाप्राक र सिङला जोड्ने गरि मोटरबाटो खन्दा निस्केको माटो खोल्सीमा फालेको र त्यही ठाउँमा पानी संकलन भएर भेल बन्दै बग्ने क्रममा निस्केको लेदोले बस्तीमा क्षति गरेको हुनसक्ने स्थानीय सुशील गुरुङको अनुमान छ।  

‘बस्ती भन्दा माथि मोटरबाटो खनिएको थियो। बाटो खन्दाको माटो खोल्सीमा फालिएको थियो। त्यही ठाउँमा पानी संकलन भएर भेल बनेर बग्दा लेदोले नै क्षति गरेको अनुमान छ,’ उनले भने, ‘खोल्सीमा पोखरी बनाउनेगरि सानो पहिरो खसेको पनि हुनसक्छ। त्यही पहिरोले थुनिएको पोखरी फुटेर भेल बग्दा बस्ती बगेको पनि हुनसक्छ। उक्त ठाउँमा मोटरबाटो पुगेको भएपनि वर्षायामपछि भने मोटर चल्दैन।  

प्रकाशित: १३ श्रावण २०८१ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App