२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

हत्याको ‘हब’ बन्दै मधेस प्रदेश

आइतबार राति सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भयो। ‘हाई प्रोफाइल’ व्यक्तिको हत्यामा संलग्न पत्ता लगाउन काठमाडौंदेखि प्रदेशसम्मको प्रहरी अधिकारी परिचालित छन्। तर प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको सुराक अझैसम्म पाएको छैन।

मधेस प्रदेशमा रायको हत्या पहिलो घटना भने होइन। तर पछिल्लो समय भएका हत्याका घटनामध्ये यो हाई प्रोफाइल घटनाचाहिँ हो। त्यही भएर यो घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न प्रहरीलाई व्यापक दबाब छ। सिआइबी, मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत घटना अनुसन्धानमा माहिर मानिएका प्रहरी अधिकारीहरूलाई राय हत्याको ‘क्लु’ पत्ता लगाउन खटाइएको छ। मधेस प्रदेशका प्रहरी प्रमुख (डिआइजी) यज्ञविनोद पोख्रेल आफैं पनि यस घटनाको तहकिकातमा खटिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेतासमेत रहेका पुराना राजनीतिज्ञ राय परिवारसहित काठमाडौंमा बस्दै आएका थिए। राय गत साता मात्र खेती गर्न गाउँ आएका थिए। गाउँमा दुईवटा भोजमा सहभागी भएर उनी घर फर्केका थिए । जग्गाको विवाद मिलाइदिन भन्दै आएका तीन जना उनकै घरको अर्को कोठामा सुतेका थिए। अबेर राति घरमै बीभत्स अवस्थामा रायको शव फेला परेको थियो। टाउकामा धारिलो हतियार प्रयोग गरिएको र रगतले लतपतिएको अवस्थामा उनकै कामदार रामउजैन रायले देखेका थिए। घरको काम सघाउन सहयोगीका रूपमा विलासी नगरपालिका–३ मदनपुरका २१ वर्षीय रामउजैन पूर्वमन्त्रीको घरमा बस्दै आएका थिए । नातामा मृतक राय रामउजैनका हजुरबुवा पर्छन्।

हत्यापछि रामउजैन प्रहरी नियन्त्रणमा छन्। प्रहरीसँगको बयानमा उनले ‘हजुरबुवाले तिमी छतमा सुत्न जाऊ भनेर पठाएपछि म सुत्न गएको थिएँ, त्यसपछि के भयो मलाई थाहा छैन’ भनेका छन्। प्रहरीले उनको मंगलबार पोलिग्राफ परीक्षण गराइएको जनाएको छ। रगतको उजैन सुतेको छतमाथि पनि देखिएकाले उनलाई शंकाको घेरामा राखेर सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो। रायको घरमा आएको भनिएका तीनै जना फरार छन्। स्थानीयबाट घटनाबारे जानकारी पाएपछि सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंह राति नै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर घटनास्थलमा खोजतलास गरेका थिए। कुकुरले घटनास्थलबाट उत्तर–पश्चिमतर्फ करिब ५० मिटर टाढाको बाँसको झाङबाट उखु काट्न प्रयोग हुने हतियार (ग्रासी) फेला पारेको थियो।

पूर्वराज्यमन्त्री राय गाउँ आएकोबारे सुरक्षा निकायले उनको हत्यापछि मात्र थाहा पाएका थिए। उनको हत्यापछि रतनपुर क्षेत्रका बासिन्दा त्रसित छन्। रतनपुर मात्र होइन, पछिल्लो समय हत्या अपराधले सीमा नाघेपछि समग्र मधेसी समाज नै डराएका छन्। रायको हत्या अँध्यारोको आडमा भयो। तर एक महिनाअघि बाराको कलैयामा उज्यालोमै क्याम्पस प्रमुख मारिए। जेठ ३२ गते दिउँसै कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भयो। 

आदर्श कोतवाल गाउँपालिका–२ खजुरियागाउँ घर भएका ४८ वर्षीय कुशवाहा कलैयामा डेरामा बस्दै आएका थिए। खजुरिया गाउँमा माछापालन गर्दै आएका कुशवाहा माछा बेचेपछिको हिसाबकिताब गर्न गाउँ पुगेका थिए। काम सकेपछि उनी एक्लै मोटरसाइकलमा माछा लिएर डेरामा फर्किंदै थिए। मोटरसाइकलमा डेरा फर्किरहेका उनीमाथि बतरा र भटिनिया गाउँबीचको सडकमा मोटरसाइकलमै आएका समूहले गोली प्रहार गर्‍यो। पिठ्युँमा गोली लागी सडकमै ढलेका उनको वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो।

यसअघि कात्तिक १३ गते बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको दिउँसै गोली हानी हत्या गरिएको थियो। त्यतिबेला मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्ति तीन राउन्ड गोली हानेर फरार भएका थिए। असार ५ गते सर्लाहीको बरहथवामा हत्या गरी फालिएको अवस्थामा बरहथवा नगरपालिका–१२ की ३५ वर्षीया लीलावती देवी महतोकोे शव खेतमा फेला पर्‍यो। महतोको घरबाट करिब डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको मृतक महतोको अनुहार र घाँटीमा चोट थियो। प्रहरीले घटनालगत्तै मृतक महिलाका पति ३८ वर्षीय शंकर महतो र कान्छी पत्नी वर्षीया सजनीदेवी महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्‍यो। गत जेठ २९ गते पर्साको जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारमा नेपालतर्फको सिमानाको दसगजा भन्दा ८० मिटरभित्र खाली जग्गामा गाडिएको अवस्थामा दुई शव प्रहरीले बरामद गर्‍यो। वन्यजन्तुले शव खोस्रिरहेको सूचना आएपछि पर्सा प्रहरीले विशेषज्ञ टोली शव बरामद गरेको थियो।

जेठ ३० गते दुवै शवको पहिचान बारा कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकवाल कुम्हाल र बाराकै आदर्शकोतवाल गाउँपालिका–७ निवासी ४० वर्षीय सुरेश ठाकुर को भएको थियो। प्रहरीको अनुसन्धानबाट कुम्हाल र ठाकुरको हत्या पारिवारिक रिसइबी र जग्गा जमिनको विवादका कारण गरिएको खुल्यो। हत्यामा संलग्न मुख्य योजनाका जगरनाथपुर गाउँपालिका–५ का ३२ वर्षीय सन्तोषप्रसाद कुम्हाल, जगरनाथपुरकै ४५ वर्षीय महादेव महतो नुनिया र बारा कलैया उपमहानगरपालिका–५ का ३३ वर्षीय लक्ष्मणकुमार प्रजापति रहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले बताए।

हत्या गर्ने पूर्वयोजना बनाई कुम्हाल र ठाकुरलाई झारफुक एवं धामीझाँक्रीको विश्वासमा पारि बाराबाट बोलाएका थिए। उनीहरूको हत्याका लागि सुपारी किलर ८ लाख रूपैयाँमा मगाइएको थियो। गत जेठ २५ मा साँझ करिब ६ बजे कुम्हाल र ठाकुर बाराको कलैयाबाट बस चढेर पर्साको प्रतिमा चोकमा झरेका थिए। त्यहाँबाट पावरहाउस चोकमा आएर विन्दवासिनीको केहुनिया जाने गाडी चढेका थिए। विन्दवासिनी चोकबाट घटनामा संलग्न एक व्यक्तिले दुवैलाई मोटरसाइकलमा चढाएर बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुर्‍याएका थिए।

त्यहाँबाट नहरको बाटो हुँदै बिसुनपूर्वास्थित ओरिया खोला लगेका थिए । डिएसपी भारतीका अनुसार कुम्हाल र ठाकुरको साथमा रहेको गम्छाले घाटी थिची हत्या गरेका थिए। दुवै शवलाई घटना घटाएको स्थाननजिकै ओरिया खोला तटमा शव गाडेका थिए। मधेस प्रदेशमा घटेका हत्या अपराधका पछिल्लो घटनाले यहाँको समाजलाई झस्काएको मात्र छैन, त्रसित बनाइदिएको छ। यी घटनाबाट यहाँको समाजको असुरक्षालाई मात्र दर्साएको छैन, सुरक्षा बन्दोबस्तीलाई समेत गिज्याएको छ।

समाजमा सुरक्षाको ठाउँ अपराधले लिन थालेको छ। डर अपराधीलाई होइन, जनसाधारणलाई हुन थालेको छ। समग्रमा समाज अपराध, असुरक्षा, बेथिति र भद्रगोलले थिलथिलो हुँदै गएको सर्लाहीका बुद्धिजीवी रजनिकान्त झाले बताए। पहिला गाउँघरमा प्रहरीको सघन गस्ती हुन्थ्यो। अहिले दूरदेहातमा सुरक्षाकर्मीको अनुहार नै देखिँदैन। पहिला रातबिरात गाउँघरमा प्रहरी गस्ती गर्न आउँथ्यो, जसको डर अपराधीहरूमा फैलिन्थ्यो झाले भने, ‘अहिले त सुरक्षाकर्मीहरू पनि कार्यक्रममा सीमित हुन पुगेछन्।’ प्रहरीको उपस्थितिले आम जनतामा सुरक्षाको प्रत्याभूति र अपराधीमा असुरक्षाको डर कायम हुने हो । तर पछिल्लो समय प्रहरीको गतिविधि पनि जनमैत्रीभन्दा अर्कैतिर केन्द्रित देखिन्छ।

प्रहरीको सादा पोसाककर्मी (घुमुवा), राष्ट्रिय अनुसन्धानकर्मीको भूमिका समाजमा सुरक्षाको जग बलियो बनाउने किसिमबाट परिचालित हुनुभन्दा सन्देहपूर्ण कार्यमा संलग्न भएको ग्रामीण जनताको गुनासो छ। पछिल्लो समय मधेस प्रदेशमा हत्या अपराधको ग्राफ बढ्दो छ। प्रदेशका आठवटै जिल्लामा दर्ता भएका मुद्दालाई आधार मान्ने हो भने हत्याजन्य आपराधिक घटना बढ्दो देखिएको हो। 

मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कर्तव्य ज्यानसम्बन्धी १२५ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा १२६ जनाको हत्या भएको छ। त्यसमा ७८ पुरुष र ४८ महिला छन्। यी घटनामा संलग्न १४७ जना पक्राउ परेका छन् भने ११३ जना अझै फरार छन्।

प्रकाशित: ११ श्रावण २०८१ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App