७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

यौन शोषणपछि २४ दिनमै स्वदेश फर्कन बाध्य

वैदेशिक रोजगारीमा कुवेत पुगेकी सिन्धुपाल्चोककी २४ वर्षीया एक युवती महिना दिन नपुग्दै स्वदेश फर्केकी छन्। काखे छोरा छाडेर कुवेत उडान भरेपछि उनको दुःखका दिन सुरु भए। कुवेतमा यौन दुव्र्यवहारपछि छोरा बिरामी भएको बहानामा फेरि कुवेत आउने सर्त राख्दै उनी नेपाल फर्केकी हुन्। काठमाडौंको कपनस्थित शारोन म्यानपावर सर्भिस प्रालिलाई २ लाख २३ हजार रूपैयाँ तिरेर सप्लाई कम्पनीका लागि गत असार ५ गते कुवेत पुगेकी उनी समस्यामा परेका कारण स्वदेश फर्केकी हुन्।

नयाँ देशमा कामका लागि आशा र ऊर्जा बोकेर उनी कुवेत उडान भरेकी थिइन्। तर कुवेत पुगेर म्यानपावरले भनेको भन्दा ठ्याक्कै उल्टो काम थियो। उनलाई चलचित्र हेर्ने हलमा दिनको समयमा दैनिक १२ घण्टा काम गर्नुपर्ने भनेर नेपालबाट पठाइएको उनी बताउँछिन्। तर त्यहाँ रातमा काम गर्नुपर्ने ड्युटी उनलाई दिइयो। ‘म्यानपावरले भनेको भन्दा फरक काम थियो,’ उनले भनिन्, ‘कमाउनै भनेर विदेश गएकी थिएँ। हलमा रातको समय ड्युटीमा लगाए। जस्तो काम भए पनि गर्नैपर्‍यो। राति खाना पनि  दिइन्नथ्यो।’

उनलाई दिनप्रतिदिन कामको धपेडी बढ्दै थियो। खानै नखाई हलमा रातभरिको ड्युटी गर्नुपर्दा उनी सन्तुष्ट थिइनन्। एक महिला म्यानेजरले दिएको सुझाव स्मरण गर्दै उनले भनिन्, ‘यो काम तिमी गर्न सक्दिनौं। बोसले तिम्रा लागि अर्कै काम दिन्छ। सजिलो पनि छ।’ यसरी उनी नयाँ कामको प्रतीक्षामा थिइन्। उनको अर्को काम थियो, बोसलाई रिझाउनु। फेरि उनी म्यानेजरले भनेको सम्झिन्, ‘तिमीले दुईचार जना बोसलाई के–के चाहिएको छ, त्यो दिनुपर्छ। त्यसपछि तिम्रो रात दुईगुना दिन चौगुना तलब बढ्छ।’ उनको जवाफ थियो, ‘म यहाँ रमाउन आएकी होइन, कमाउन आएकी हुँ। त्यस्तो काम गर्दिनँ, बरु घाँटीमा पासो लगाउँछु।’

सोही रात कम्पनीको एक कोठामा आफू सुतिरहेको मौका पारी बोस छिरेर हातपात गरेको उनले नागरिकलाई बताइन्। ‘चुकुल लगाउने ढोका थिएन। मस्त निद्रामा थिएँ। कोही आएको पनि थाहा भएन,’ उनले भनिन्, ‘पछि मेरो शरीर मुसार्दै गरेको चाल पाएपछि तर्सिएर चिच्याएँ। ब्युँझँदा त त्यही कम्पनीको एक मालिक थियो। उसले एउटा हातले मेरो मुख थुनिदियो र अर्को हातले सुमसुम्याइरह्यो। मेरो हातखुट्टा काँपेर सल्याकसुलुक भयो।’

पीडित महिलाका अनुसार त्यो रात बोसले हातपात पनि गर्‍यो र निदाउन पनि दिएन। अन्य बोसहरूले पनि दुव्र्यवहार गरेको उनले सुनाइन्। त्यसपछि बोसको खुसीका लागि सुन्दर जीवन नदिने निर्णय गरी नेपाल फर्कन विभिन्न बहाना खोज्न थालेको उनले बताइन्। उनले कम्पनीमा बिन्ती बिसाउँदै भनिन्, ‘नेपालमा छोरा सिकिस्त बिरामी भएर अस्पताल भर्ना गरेको छ। बिरामीले छोरो आवाज निकाल्न नसक्ने अवस्थामा छ। जसरी पनि नेपाल जानु छ। बरु साता दिन बसेर आउँछु।’ कम्पनीले कुवेत फिर्ता हुने सर्तमा आफूलाई नेपाल पठाएको उनले सुनाइन्। ‘अहिले मान्छेहरू विदेश भनेर मरिहत्ते गरिरहेका छन्। उनीहरूलाई त्यस्तो अप्ठेरो पर्दैन होला त ? काठमाडौं अवतरण नगरेसम्म सासले ठाउँ छाडेको थियो। मैले ज्यान जोगाएर आएँ। तर घरपरिवारले बुझ्दैनन्। पैसा नलिई घर नआइज भनेका छन्,’ उनले भनिन्।

सरकारअन्तर्गतको शारोन म्यानपावरले त्यस्तो काममा पठाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिन जाँदा पनि न्याय नपाइएको ती पीडित महिलाको गुनासो छ। विभागमा न्यायको भिख माग्न जाँदा त्यहाँका अधिकारीहरूले यो केसमा उजुरी दिनुभन्दा पनि मिल्नु नै जाति हुने सुझाव मिलेको उनले बताइन् । विभागको महिला अधिकृतले भनेको उद्धृत गर्दै पीडितले भनिन्, ‘मैले शारोन म्यानपावरसँग पनि कुरा गरें। राम्रै कम्पनीमा पठाएको भने। ती महिला फर्केर आएको भए हामी ८० हजार दिन्छौं भनेका छन्। त्यसैमा सहमति भए तिमीलाई धेरै राम्रो हुन्छ। पछि त्यही पैसा पनि पाउँदैनौ । घर गएर ठन्डा दिमागले सोच।’

पीडित महिलाले ऋण गरेर करिब साढे दुई लाख शारोन म्यानपावरलाई बुझाएको बताइन् । कुवेतमा केही दिन काम गरे पनि पैसा नपाएकको उनले सुनाइन्। ‘आफ्नो ज्यान बचाएर स्वदेश फर्कें । ८० हजार रूपैयाँमा सहमति कसरी घर फर्किनु ?’ उनले भनिन्। कमाउन गएकी पत्नी बिचैमा घर फर्केपछि पति पनि रिसाएको उनको भनाइ छ। पतिले भनेका कुरा छुराजस्तै रहेको पीडित महिलाले बताइन्। उनले नागरिकसँग भनिन्, ‘खुब विदेश गएर बुढालाई पाल्छु भनेर छोरा मलाई टासो लगाएर ऋणको भारी बोकाई गएकी थिइस्। विदेशमा महिना दिन टिक्न नसक्नेले कसरी घर गरेर खान्छे । खुरुक्क त्यो सबै पैसा उठाएर घर फर्की । होइन भने घरमा तेरो बास छैन ।’ उनी म्यानपावरलाई बुझाएको पैसा फिर्ता गर्न काठमाडौंमा भौंतारिरहेकी छन्। विभागबाट पनि न्याय नपाएपछि उनी मानव बेचबिखन अनुसन्धान ब्युरोमा आइतबार उजुरी दिन पुगेकी थिइन्।

शारोन म्यानपावरका कर्मचारी नवीनराज देवकोटाले श्रम स्वीकृति गराई कुवेतको एक सप्लाई कम्पनीमा ती महिलालाई पठाएको बताए। त्यहाँ उनीजस्ता थुप्रै नेपालीले काम गरिरहेको र कसैलेआफूलाई यस्तो भयो भनेर नेपाल नफर्किएको देवकोटा बताउँछन्। ‘उहाँ आएर वैदेशिक रोजगार विभाग नगई मानव बेचबिखन अनुसन्धान ब्युरोमा जानु राम्रो हो त ? हाम्रो कार्यालयमा आएर केही प्रमाण पनि बुझाउनुहुन्न,’ देवकोटाले नागरिकसँग भने, ‘लिखित प्रमाणबिना सिधै मान्छे बेचेको झैं ब्युरोमा गएर डिएसपीको पावर लगाउने, वकिल र पत्रकार लगाउने । यस्तो पनि हुन्छ। कुवेतबाट छोरा बिरामी भयो भनेर आउनुभएको हो, अरू होइन।’ उने थपे, ‘८० हजार रूपैयाँ दिन्छौं भनेकै थियौं । त्यसमा केही थपघट गर्न हुन्थ्यो। उहाँ सिधै पावर लगाउन हिँडेर हुन्छ र ?’

सरकारी निकायको प्रत्यक्ष अनुगमनमा रहनुपर्ने म्यानपावर कम्पनीले सर्वसाधारणलाई ठगी गर्ने क्रम बढिरहेको छ। बाध्यताले वैदेशिक रोजगारमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। विभागमा पीडित पुगेपछि उजुरी लिनुभन्दा पहिला त्यहाँका कर्मचारीले म्यानपावर कम्पनीलाई तपाईंविरुद्ध उजुरीका लागि यस्ता पीडितहरू आएका छन् के गर्ने भनेर खबर पुर्‍याउने गरेका छन्। यसरी खुलेआम सरकारी निकायहरू नै म्यानपावरको पक्षमा रहेपछि पीडितले न्याय पाउने आशा कमजोर भएको बताइन्छ।

प्रकाशित: ९ श्रावण २०८१ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App