३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु

संरक्षणविद्हरुले सीमित र अपर्याप्त मान्ने जामुनखाडी सामुदायिक वनको खोरभित्र सारस, ढेडु, हिमाली कालो भालु र भारतीय चितुवा बस्छन् । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल

एक दाजुभाइलाई जिज्ञासु बनाउँदै घेरिएको ठाउँको एउटा कुनामा दुई अजिङ्गर गुजुल्टिएर बसेका छन् । ११ वर्षका अनिल थापा त्यस खोरको तार जालीलाई घचेडेर हल्लाउँछन् भने ४ वर्षका अनिश त्यही हल्लाएको तारजालीको प्वालबाट अजिङ्गरतिर एउटा मसिनो ढुङ्गा फ्याँक्छन् । ढुङ्गा ठ्याक्कै ठाउँमै पर्छ । अजिङ्गर चलमलाउँछ र केटाहरु तर्सेर 'ला! टोक्छ, भाग्' भन्दै चिच्याउँछन् र पर सर्छन् । 

यी दाजुभाइ पूर्वी नेपालको जामुनखाडी सामुदायिक वनको सानो चिडियाखानामा छन् । विगतमा उद्धार केन्द्र रहेको यस ठाउँ कुनैबेला जङ्गलमा बसोबास गर्ने तर घाइते भएकाले यहाँ ल्याइएका वन्यजन्तुहरुले भरिएको छ । हाल यो ठाउँ सर्वसाधारणको लागि खुला गरिएको छ ।

सन् २०१७ मा सरकारले वैधता प्रदान गरेयता नेपालका सामुदायिक वनभित्र साना चिडियाघर छ्याप्छ्याप्ती खुलेका छन्, तर जनावरहरुलाई साँघुरो खोरभित्र राखिएको र अदक्ष कर्मचारीद्वारा खाना खुवाउने र रेखदेख गर्ने गरिएको संरक्षणविद् बताउँछन् । स्कूलका विद्यार्थीका लागि यी जूहरु लोकप्रिय फिल्ड ट्रिप गन्तव्य हुने गरेको छ । त्यसैले, बालबालिकाले वन्यजन्तुप्रतिको उचित व्यवहारको बारेमा गलत सन्देश पाइरहेकाले शिक्षाविद् र अभिभावकहरु चिन्तित बनेका छन् । यदि यस्ता सामुदायिक चिडियाखानालाई प्रभावकारी सिकाइ केन्द्रको रुपमा विकास गर्ने हो भने, त्यहाँ वन्यजन्तुका बारेमा सूचना पाटी हुनुपर्छ र उनीहरुका बासस्थान पनि प्रत्येक प्रजाति सुहाउँदो हुनुपर्छ, उनीहरु भन्छन् । 

यो पनि पढ्नुहोस्

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

'साँच्चै नै सिकाइ केन्द्र बनाउने हो भने वन्यजन्तु-मैत्री खोर बनाउन आवश्यक छ,' पाथीभरा इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल राजन सिग्देल स्कूलका १५० विद्यार्थीहरुसँग जामुनखाडीको सामुदायिक चिडियाखानाको भ्रमणमा बताउँछन् । केही विद्यार्थी आफूलाई ती जनावरसँग तुलना गर्ने र उनीहरुलाई सानो खोरभित्र देखेर दु:खी हुने गरेको उनी बताउँछन् । 'साँघुरो खोरमा दुर्गन्ध फैलिने गरी वन्यजन्तु राख्दा बालबालिकाको मस्तिष्कमा नकारात्मक छाप पर्नसक्छ ।'

जामुनखाडी सामुदायिक वनमा राखिएको चितुवा हेर्दै बालबालिका, शिक्षक र अभिभावकहरु ।  तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल 

उनी एउटै खोरभित्र चारवटा हिमाली गिद्ध बसेको तर्फ इशारा गर्छन् । एउटाको खुट्टा सुन्निएको छ । जङ्गलमा बस्दा यी जनावरहरु गुँडमा एक्ला(एक्लै वा स(साना समूहमा बस्ने गर्दछ्न्, प्राकृतिक छटा विनाको भुइँमा होइन कि ठाडा भीरपहरामा पँखेटा फिजाउँछन् ।

कामदारहरुमा जनावरको रेखदेख गर्ने प्राविधिक ज्ञानको कमीले गर्दा हालैमात्र पूर्वी नेपालका सामुदायिक चिडियाखानामा केही जनावरहरु मरेको वन विभागका कर्मचारीहरु बताउँछन् । तर यस्ता केन्द्रहरु विभागको क्षेत्राधिकारभन्दा बाहिर पर्ने भएकोले विभागले मृत्युको कुनै आधिकारिक रेकर्ड नराख्ने र सामुदायिक वन समूहले नै यसको व्यवस्थापन गर्ने डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अन्जना पुरी बताउँछिन् ।

सन् २०२२ मा तापले गर्दा मेचीनगरको कालिका सामुदायिक वनको चिडियाघरमा दुई अजिङ्गर मरेको वन उपभोक्ता समितिका वन हेरालु राजन राई बताउँछन् ।

'अजिङ्गरलाई माटो चाहिने रहेछ । हामीले सिमेन्टको पक्की खोर बनायौं, बाफिएरै मरे,' उनी भन्छन् । 

यो पनि पढ्नुहोस्

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

सन् २०१९ मा जामुनखाडीको चिडियाघरमा पनि एउटा अजिङ्गर मरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका निवर्तमान अध्यक्ष ख्यामराज सिटौला बताउँछन् । यस संस्थाले सो चिडियाघर संचालनको निरीक्षण गर्ने गर्दछ ।

त्यस्तै, सन् २०२० यता बाँसबारी सामुदायिक वनको चिडियाखानामा मरेकामा चार हरिण, एक दर्जन लभ वर्ड र एउटा अस्ट्रिच रहेको जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ नेपालका झापा अध्यक्ष वेदप्रकाश भण्डारी बताउँछन् । अनुचित बासस्थानको कारण केहीलाई भने अन्य जनावरहरुले आक्रमण गरेर मारिदिएका थिए ।

'नेपालका सामुदायिक वनको जूहरुको अवस्था दयनीय छ । त्यहाँ उद्धार गरेर राखिएका वन्यजन्तुको उद्धार गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ,' राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता अम्बिकाप्रसाद खतिवडा भन्छन् ।

पर्या-पर्यटकको आकर्षण

यी साना चिडियाघर नेपालका चर्चित सामुदायिक वनभित्र छन् जसलाई संरक्षणको विकेन्द्रित मोडेलमा स्थानीय समुदायद्वारा पूर्णरुपमा व्यवस्थापन गरिएको छ । सन् २०१७ अघिसम्म सामुदायिक वन समूहले प्राणी उद्यान खोल्ने अनुमति नपाएपनि, जामुनखाडीसहित १७ वटा त्यस्ता समूहले घाइते वन्यजन्तुको लागि उद्धार केन्द्र संचालन गरेका थिए । केही समय अघिसम्म पनि नेपालको एकमात्र अधिकारिक चिडियाखाना ललितपुरको सदर चिडियाखाना थियो ।

जङ्गलको चट्टानी भीरमा बस्ने हिमाली गिद्धहरु जामुनखाडीको सामुदायिक चिडियाखानाको भुइँमा बस्दै ।  तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल 

तर नेपाल सरकारले सन् २०१७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई संशोधन गरी सामुदायिक वन समूहलाई पर्या(पर्यटन उद्यमको रुपमा वन्यजन्तुको प्रदर्शन गर्न अनुमति दिएयता यसमा परिवर्तन आएको हो । सरकारले सन् २०१९ को नयाँ वन ऐनमा पनि यी संशोधनलाई निरन्तरता दिएको थियो । त्यसयता करिब ५० सामुदायिक चिडियाखानाहरु खुलेका छन्, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी भन्छन् ।

जामुनखाडीमा पहिलेदेखि नै उद्धार केन्द्रमा बसिरहेका घाइते, बुढा वा जङ्गलमा बाँच्न नसक्ने जनावरहरुका साथसाथै धेरै दुस्ख दिएकाले जङ्गलबाटै समातिएका वन्यजन्तु समावेश छन् । त्यहाँ स्वस्थ्य जनावरहरु पनि छन् । आगन्तुकहरुले प्रवेशको लागि १०० रुपैयाँ (०.७५ अमेरिकी डलर) सम्म तिर्नुपर्छ र सो आय पार्कको संचालनमा प्रयोग हुने गर्दछ, सिटौला भन्छन् । 

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

कोशी प्रदेशको सबैभन्दा ठूलो सामुदायिक चिडियाखाना जामुनखाडीमा फेब्रुअरीको भ्रमणमा बालबालिकाहरुको बाक्लो भिड देखिन्छ । यहाँ सरीसृप, चराचुरुङ्गी र स्तनपायी समेत जम्मा २८ प्रजाति छन् । सन् २०२२ को एक अध्ययन अनुसार, यीमध्ये ९ जनावर विश्वव्यापी रूपमा खतरामा परेका हुन् भने १५ वटा नेपालमै जोखिममा परेका हुन् ।

जनावरहरुलाई, जङ्गलमा भएका उनीहरुका बासस्थानको कुनै झल्को नपाइने साना खोरमा राखिएको छ । सिमेन्टको ढलान वा खस्रो जमिनको भुइँ छ । साइडमा तारजाली छन् । धेरैजसो घेरिएको ठाउँमा प्रजातिको कुनै नाम छैन र भएका थोरैमा पनि देखाइएका जनावरको बारेमा अन्य कुनै जानकारी छैनन्।

यद्यपि, सिटौला भन्छन्, यस्ता प्रदर्शनीले बालबालिकाहरुलाई किताबमा मात्रै पढ्न पाउने जनावरको बारेमा ज्ञान दिन्छ ।

उचित बासस्थानरु

सन् २०२३ मा, प्रदेश र जामुनखाडी सामुदायिक वनले २ करोड रुपैयाँ (१,५०,००० डलर) भन्दा बढी लगानी गरेर काठ र बाँसका खोरलाई सिमेन्ट र तारजालीका घेरामा प्रतिस्थापन गरी आधुनिक उद्धार केन्द्र बनाएको सिटौला बताउँछन् । जनावरहरुलाई उचितरुपमा राखिएको र रेखदेख गरिएको छ, उनी भन्छन् ।

अन्य संरक्षणविद्हरु असहमति जनाउँछन् । दुर्लभ प्रजातिलाई राखिने केन्द्रहरुलाई राम्रोसँग व्यवस्थापन गर्दा अध्ययन र अनुसन्धानको लागि उपयोगी हुने भएपनि धेरैजसो सामुदायिक चिडियाखानाहरु नाजुक अवस्थामा रहेको काठमाडौंस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रकी कार्यक्रम व्यवस्थापक रचना साह बताउँछिन् ।

विगतमा काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका प्राणीशास्त्री डा। मुकेशकुमार चालिसे भन्छन्, सामुदायिक वनहरूले खोरमा राखिएका जनावरका प्रजातिको आवश्यकता बुझेर अनुकूल र उनीहरुलाई प्रजनन गराउन मिल्ने बासस्थानको निर्माण गर्नुपर्छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत झापाका वन विज्ञानका प्राध्यापक तपिलप्रकाश राईका भनाइमा जनावरहरुलाई कहिलेकाहीं गलत पहिचान गरिएको हुन्छ । उनले हालै जामुनखाडीमा गलत पहिचान गरिएको कछुवालाई सच्याएका थिए ।

जामुनखाडी सामुदायिक वनको चिडियाघरकी वन हेरालु हरिमाया श्रेष्ठ हिमाली कालो भालुलाई दूध-भात दिंदै ।  तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल

'यदि जनावरको बारेमा गलत सूचना राखियो भने, बालबालिकाले गलत सिक्छन्,' उनी भन्छन्, 'त्यसैले पनि यस्ता उद्धार केन्द्रमा विषय विज्ञहरुको संलग्नता गराएर वन्यजन्तुको सूचना सही राख्नु आवश्यक छ ।' 

आफ्ना पाठ सिक्दै

बालबालिकाले सिक्नको लागि जनावरहरुलाई उनीहरुको उचित बासस्थानमा देख्नुपर्छ, शिक्षा विकास तथा समन्वय इकाइ झापा प्रमुख राजकुमार विक भन्छन् ।

'सूचना पाटीहरुले जनावरहरुको मूल बासस्थान र क्षेत्रको साथै कसरी उनीहरु चिडियाघरसम्म आइपुगे भन्ने जानकारी दिनुपर्छ,' उनी भन्छन्, 'बालबालिकाले बुझ्ने भाषामा हुनुपर्छ ।' 

'यस्ता जानकारी विना, केटाकेटीहरुले ती जनावरहरु चिडियाखानामै जन्मे होलान् भन्ने गलत धारणा बनाउन सक्छन्,' उनी भन्छन्, 'विद्यालय र शिक्षकहरुले विद्यार्थीलाई अवलोकनका लागि लैंजादा आफू पनि सचेत, ती जनावरको पृष्ठभूमिबारे हुन आवश्यक छ ।' 

यो पनि पढ्नुहोस्

जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू

फेब्रुअरीको भ्रमणमा स्कूलका केटाकेटीहरु उत्साहित र जनावरबारे अन्यौलमा छन् । कोही खोरका जाली हल्लाउँछन् र जनावरको प्रतिक्रिया पाउन उनीहरुलाई जिस्काउँछन् । अलग्गै रहेको र भुइँमा सिमेन्टको ढलान भएको साँघुरो ठाउँमा बसेको हिमाली कालो भालुसँग कुनै खेल्ने साथी नभएकोमा एक बालक दुस्खी देखिन्छन् ।

'दुई शिक्षकहरु पनि साँघुरो तापयुक्त घेराबारे आफू अन्यौलमा रहेको बताउँछन् । यी वन्यजन्तुलाई जङ्गलमै राख्दा राम्रो हुन्छ,' उनीहरु भन्छन् ।

(यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो। मायामितु न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।)

प्रकाशित: ८ श्रावण २०८१ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App