२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

गलेश्वर शिवालयमा पहिलो सोमबार ३ लाख ७२ हजार भेटी संकलन

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा दोस्रो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ।

मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो। सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पूजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ७२ हजार ३७३ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीय बासीको उपस्थितिमा फिजारिएर करिब साढे घण्टासम्म गनेर सार्वजनिक गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए।

‘संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ, ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’ सदस्य सचिव खत्रीले भने। दान संकलन गर्ने क्रममा छिटपुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ।

यसपटक पहिलो सोमबार अनुकूल मौसमका कारण भक्तजनको भिड लागेको थियो। भक्तजनको सहजताका लागि प्रवेशद्वारदेखि मन्दिरका विभिन्न स्थानमा स्वयंसेवक तथा सिसी क्यामेराले समेत निगरानी गरिएको छ। गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्ग पूजा अर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरूबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आएका थिए।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालीगण्डकी नदीबाट जल स्नान गर्ने व्यवस्था मिलाइएको छ। गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर पूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन्। ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणि आदि चक्रकार रूपी चिन्ह मानव निर्मित नभई स्वयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

प्रकाशित: ८ श्रावण २०८१ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App