२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

मोरङमा पूर्वमुख्यमन्त्रीको ‘जनावरमैत्री जंगल’ अभियान

मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलिया सामुदायिक वनमा सोमबार वृक्षरोपण गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की। तस्बिर: नागरिक

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि झापाबाट सुरु गरिएको वृक्षरोपण अभियान मोरङ आइपुगेको छ। झापाको जामुनबारी सामुदायिक वनबाट सुरु गरिएको वृक्षरोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलिया सामुदायिक वनमा आइपुगेको हो।

बीपी कोइरालाको ४२औं जयन्तीका अवसरमा नेपाली कांग्रेस बेलबारी नगर कार्य समिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिसमेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षरोपण गरिएको छ। कार्कीले असार २९ देखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियानअन्तर्गत वृक्षरोपण सुरु गरेका थिए। कोशी प्रदेशका जंगल क्षेत्रभित्र जंगली जनवारका लागि आवश्यक फलफूल तथा रूख–बिरुवा रोप्ने अभियान पूर्वमुख्यमन्त्री कार्कीले चलाउँदै आएका छन्।

हालसम्म मोरङ र झापाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पाँच हजार बढी बिरुवा रोपी सकिएको छ। कार्कीले यो अभियान मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि चलाएको तर सरकारले जंगल, जनावर र त्यसछेउका नागरिकप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको आरोप लगाए। उनले जनावरका लागि जंगल निर्माणमा सबै नागरिकलाई कम्तीमा एउटा बिरुवा रोपेर अभियान सफल पार्न आग्रहसमेत गरे।

कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री भएको बेला गत फागुनमा सात दिन झापाको बाहुनडाँगीदेखि उदयपुरको बेलसोत बजारसम्म दुई सय ४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गराएका थिए।

विज्ञ टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहार र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले नागरिकलाई दुःख दिने गरेको निष्कर्ष निकाल्दै आर्थिक वर्ष  २०८१/८२ को नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए, तर कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैंले अभियान चलाएका हुन्।

‘सरकारले जनताको बाँच्ने अधिकारका साथै जीविकोपार्जन पनि सुरक्षित गर्न र जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो, तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ’, कार्कीले भने।

जंगलमा जनावरले खाने आहार र जनावरको वासस्थानसमेत मासिएकाले हात्ती, बाँदरलगायतका जंगली जनावर वन क्षेत्रका गाउँबस्ती पसेर अन्नबाली, घर मास्नुका साथै मान्छेको समेत ज्यान लिने गरेको उनको भनाइ छ। त्यसैले जंगल क्षेत्रमा बसोबास गर्ने यस प्रदेशका ३६ प्रतिशत नागरिकको जनधनको सुरक्षाका लागि जनावरमैत्री जंगल हुनु अपरिहार्य भएकाले वृक्षरोपण अभियान सञ्चालन गरेको पूर्वमुख्यमन्त्री कार्कीले बताए।

प्रकाशित: ८ श्रावण २०८१ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App