२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

गलेश्वर मन्दिरमा भक्तजनको भिड

साउन महिनाको पहिलो सोमबार ड्रोनबाट खिचिएको म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाम मन्दिर। तस्बिर: हरिकृष्ण गौतम

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि नै दर्शनार्थीहरुको भिड लागेको हो।

साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ। गाउँघरमा रोपाइको चटारो भएको र बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा समेत भक्तजनहरु बिहानै मन्दिरमा दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा माधवप्रसाद रेग्मीले बताए।

‘एक महिनामा एक लाखभन्दा बढी भक्तजन आउँछन्, देशभरबाट आउने भक्तजनलाई निःशुल्क भोजनको सुविधा पनि छ’ अध्यक्ष रेग्मीले भने। बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको छ। मन्दिरमा गलेश्वर आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र, न्यु वेष्ट पोइन्ट आवासीय मावि, नेपाल प्रहरी सहित विभिन्न सङ्घसंस्थाले स्वयंसेवकको भूमिका निर्वाह गरेका छन्। पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गर्न विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ।

हरियो चुरा, हरियो तथा पहेँलो वस्त्रमा सजिएका विवाहित महिला पारिवारिक सुख र अविवाहित राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ। मन्दिरमा पूजाआजा गर्न आएका बागलुङका शिव शर्माले भक्तजनले प्रवेशद्वारदेखि मूल मन्दिरसम्म राम्रो सुविधा रहेको बताए।

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ। हिन्दु धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ। मन्दिरमा धौलागिरि अञ्चलका चार जिल्लाहरू म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका साथै देशका विभिन्न जिल्लाबाट दर्शनका लागि भक्तजन पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताए।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ। प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रबिन्दु बन्दै जान थालेको छ। गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन्। मन्दिरभित्र शिव लगायतका भगवान्हरूको मूर्तिहरू राखिएको छ।

प्रकाशित: ७ श्रावण २०८१ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App