२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बेनी-दरबाङ सडक १० दिनदेखि अवरुद्ध

दुई मिनेटको बाटो दुई घण्टा हिँड्न बाध्य

बेनी-दरबाङ सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा वृद्धवृद्धा, गर्भवती, सुत्केरी र बालबालिकालाई निकै सास्ती खेप्नुपरेको छ। करिब दुई मिनेटको बाटो पहिरोले छियाछिया बनाएपछि सर्वसाधारण पैदल यात्रासँगै सवारीसाधनले लिने मनपरी भाडा तिरेर गन्तव्यसम्म पुग्न बाध्य छन्। फापरखेत सडकको भित्तो अहिले नै खस्लाझैं भएर बसेको छ।

‘एउटै सडकले हरेक वर्ष सास्ती दिन्छ, जनताका लागि काम गर्ने जनप्रतिनिधिहरू र कर्मचारीले हाम्रो दुःख देखेनन्,’ स्थानीय रेलप्रसाद परियारले भने। पत्नी बिरामी हुँदा घण्टौँसमम्म बोकेर अस्पताल लैजानुपरेको उनले गुनासो पोखे। चिरा परेको पहाडबाट पहिरो फैलिएको छ। अहिलेसम्म भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएको छैन तर बेलैमा ध्यान नदिए ठुलै क्षति व्यहोर्नुपर्ने अवस्थामा रहेको तातोपानीका युवा कुमार केसी बताउँछन् । पहिरोनजिकै रहेको बस्ती नै जोखिममा परेको छ। बर्खाको समयबाहेक पनि सडक प्रयोग गर्दा सवारीचालक र यात्रु डराइडराई यात्रा गर्न बाध्य छन्।

अहिले पहिरोको धराप थापेजस्तै छ। कमजोर भूभाग भएकाले तत्काल वैकल्पिक मार्गलाई नै स्तरोन्नति गर्नुपर्न अवस्था रहेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। ‘पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामको प्रयास असफल भएको छ, माथिबाट पहिरो तलबाट म्याग्दी नदीको कटानको चपेटामा परेको छ,’ अध्यक्ष रोकाले भने।

मंगला–३ पखेर लुलीयाघाट र वडा नम्बर २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा पखेरदेखि लुलियाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसहितको टोलीले प्रस्तावित स्थानको अध्ययनसमेत गरेको थियो।

प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको सहमति जनाए पनि केहीले वैकल्पिक सडकले नियमित सडक मर्मतमा प्राथमिकता नपर्ने भन्दै विरोधसमेत जनाएका छन्। सडक विभागले फापरखेत–पखेर जोड्ने १०५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सो क्षेत्रबाट मार्ग व्यवस्थित बनाउन सकेमा हिउँदमा समेत फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपर्दैन। फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ। सडकदेखि साढे दुई सयमाथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घरसमेत जोखिममा परेका छन्।

म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले गृहमन्त्री रमेश लेखकलाई सडकखण्डको सबैभन्दा संवेदनशील र पहिरोका कारण यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै वैकल्पिक सडकको स्तरोन्नति र बेलिब्रिजको माग गरेका छन्। २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बांग्रेपहिरो मुख्य चुनौती बनेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले बताए।

पहिरोको भूगर्वविद्को टोलीमार्फत अध्ययनका साथै वैकल्पिक सडक र बेलिब्रिज निर्माणको कामलाई सँगसँगै अघि बढाउन लागिएको छ। बेलिब्रिज बनाउन सकिने अध्ययनलाई नै आधार बनाएर बजेट माग गरिएको पौडेलले बताए। बेलिब्रिजको लुलियाघाट नजिकैसम्म सडकको मार्ग पुगेको र सिमलचौरतर्फ करिब १ सय मिटर मार्ग खोलेर स्तरोन्नति गरेर बेनी–दरवाङ सडकमा जोड्न सकिने पूर्वाधार कार्यालयले जनाएको छ। 

प्रकाशित: ६ श्रावण २०८१ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App