२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

मनहरी- ८ मा नेपालकै अग्लो बुद्ध मुर्ति निर्माण हुँदै

करिब ४ करोड रुपैयाँ खर्च हुने

मनहरी- ८ सिमपानी देवकोट सामुदायिक वनमा निर्माण हुँदै गरेको बुद्धको मुर्ति । तस्बिर : गणेशदर्पण अधिकारी/नागरिक

मकवानपुरको मनहरी- ८ सिमपानीमा नेपालकै सबैभन्दा अग्लो (६५ फिटको) बुद्धको मुर्ति निर्माण भइरहेको छ । सामुदायिक वनको चिहानडाँडा क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ टासी फुन्छोक छ्योलिङ गुम्बाको अग्रसरतामा मनहरी- ८ सिमपानी देवकोट सामुदायिक वनको जग्गामा धमाधम बुद्धको मुर्ति निर्माण भइरहेको हो ।  

मुर्तिसँगै अष्टमांगल र ध्यान केन्द्र समेत निर्माण हुनेछ । सबै संरचना निर्माणका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपालमा कोभिडको संक्रमण सुरु हुनुअघि बुद्ध मुर्तिको शिलान्यास गरी निर्माण कार्य थालनी गरिएको गुम्बाका गुरु सुल्ठिम लामा थोकरले जानकारी दिए ।

‘१० वर्षभित्र मुर्तिदेखि सबै संरचना निर्माण गरी सम्पन्न गर्ने योजना रहेको छ’, थोकरले भने, ‘यसका लागि वडा कार्यालय, मनहरी गाउँपालिका र प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले बजेटको व्यवस्था गरिरहनुभएको छ ।’  

बुद्धको मुर्ति पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्नेहरुले सडकबाट सहजै देख्न सक्नेछन् । यस्तै मनहरीको रमनटारदेखि ज्यामिरेसम्मबाट देख्न सकिने जानकारी दिइएको छ । मनहरी ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीले आफ्नो वडामा बसोबास गर्ने बौद्ध धर्मावलम्वीहरुको सम्मानसहित धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले नेपालकै अग्लो बुद्धको मुर्ति निर्माण भैरहेको बताए ।  

चिहानडाँडाको रुपमा परिचित स्थलमा नेपालकै नमूनाको रुपमा अग्लो बुद्धको मुर्ति निर्माण गर्न लागिएको उनले जानकारी दिए ।  

‘यस क्षेत्रमा तामाङ जातिको बाहुल्यता रहेको छ । म वन समितिको अध्यक्ष हुँदा यस क्षेत्रमा बुद्धको मुर्ति निर्माण गर्ने निर्णय गरेका थियौं’, वडा अध्यक्ष उप्रेतीले भने, ‘चिहानडाँडालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्य रहेको छ ।’  

एकीकृत शवदाह स्थल बनाएर चिहानडाँडालाई पार्कसहितको धार्मिक संरचना निर्माण गर्न लागिएको उनले बताए । यस कार्यका लागि मनहरी गाउँपालिकाले ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि समेत ३० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।  

बुद्धको मुर्ति निर्माणका लागि हालसम्म १ करोड रुपैयाँ भन्दा बढी लगानी भैसकेको गुम्बाका गुरु थोकरले जानकारी दिए । २०८४ साल सम्ममा बुद्धको मुर्तिसहितको संरचना निर्माण  कार्य सम्पन्न गर्ने लक्ष्यउ लिइएको छ । टासी फुन्छोक छ्योलिङ गुम्बामा हाल २० जनाले लामा शिक्षा अध्ययन गरिरहेका छन् ।  

सिमपानी देवकोट सामुदायिक वनको चिहानडाँडा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले समेत आवश्यक लगानी गर्ने पालिका अध्यक्ष रञ्जन कालाखेतीले प्रतिबद्धता जनाए ।

प्रकाशित: ४ श्रावण २०८१ १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App