१५ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

‘दलित हेल्प डेस्क’ का प्रहरीलाई तालिम

उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत तीस जना ‘दलित हेल्प डेस्क’ का कर्मचारीलाई जातीय विभेद तथा छुवाछूतसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिएको छ।

तीन दिने यस तालिम गत मङ्गलबारदेखि सुरु भएको थियो र बिहीबार सम्पन्न भएको हो। राष्ट्रिय दलित आयोग, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा संयुक्त आयोजनामा तालिम प्रदान गरिएको हो।

नेपालमा विद्यमान कानुन तथा संविधानले जातीय विभेद र छुवाछूतको अन्त्य गरेपनि कार्यान्वयन गर्ने प्रहरी निकायको भूमिका सशक्त बनाउन तालिमको आवश्यकता रहेको राष्ट्रिय दलित आयोगले जनाएको छ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले भने, “छुवाछूतविरुद्ध कारबाही गर्ने निकाय प्रहरीले उजुरी लिने अवस्था छैन, यो कमजोरीलाई हटाउन तालिम दिन लागिएको हो।” उनले आगामी दिनमा नेपाल प्रहरी र राष्ट्रिय दलित आयोगको समन्वयकारी भूमिका आवश्यक रहेको पनि बताए।

राष्ट्रिय दलित आयोगकी सदस्य मीना सोवले तालिमबाट सिकेका अनुभव र ज्ञानलाई व्यवहारमा लागू गर्ने अपेक्षा आयोगले लिएको बताइन्। आयोगकी प्रवक्ता सुन्दर पुर्कोटीले राष्ट्रिय दलित आयोगले देशभरका जिल्ला प्रहरी कार्यालयहरूको अनुगमन गर्दा छुवाछूतसङ गाँसिएका घटनाको कारबाही र स्थितिको अभिलेख व्यवस्थित नभएको पाइएको बताइन्।

तालिमको समापन समारोहमा सहभागी प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले तालिमबाट सिकेका विषयलाई प्रहरीका सबै निकायमा पालना गराउने प्रतिबद्धता जाहेर गरे।

“कतिपय व्यक्तिगत रूपमा भएका कमजोरी हुन सक्छन्, तर सङ्गठनात्मक रूपमा जातीय विभेदको मुद्दामा थप बल लगाउनु पर्ने देखिन्छ,” उनले भने।

तालिममा सहभागी प्रहरी एकता न्यौपानेले प्रहरी हेल्प डेस्कमा आएका जातीय विभेदसँग सम्बन्धित जस्तोसुकै हिंसामा पनि व्यवहार गर्दा विचार पुर्‍याउनु पर्ने, दलित उत्पीडनको समस्या, प्रहरीको जिम्मेवारी र उजुरीको समाधान गर्ने कानुनी तथा सैद्धान्तिक पक्ष सिक्ने अवसर मिलेको बताइन्। “सिकेको कुरा व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” उनले भनिन्।

यस्तो तालिम चालु आर्थिक वर्षभित्र सातै प्रदेशका ६० वटा दलित हेल्प डेस्कलाई दिने र पछि इलाका प्रहरी कार्यालयसम्म तालिम दिने कार्यक्रम रहेको अध्यक्ष विश्वकर्माले जानकारी दिए।

प्रकाशित: ३ श्रावण २०८१ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App