२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

जनप्रतिनिधी भन्छन्: जैविक मार्ग वन्यजन्तुको बासस्थान बनेपछि मानविय क्षति बढ्यो

अन्तर्राष्ट्रिय खाता जैविक मार्ग वन्यजन्तुको वासस्थान बन्दा समस्या भइरहेको सरोकारवालाले बताएका छन्।

दातृ निकायको सहयोगमा जैविक मार्गमा पोखरी र घाँसे मैदान व्यवस्थापनले वन्यजन्तु आक्रमणका घटना दोहोरी रहेको उनीहरूले बताएका छन्। तीन वर्षमा मधुवनमा वन्यजन्तुको आक्रमणबाट १५ जना ज्यान गएको रेकर्डमा देखिन्छ। 

खाता जैविक मार्गलाई  खुला चरिचरण बनाउने पर्ने माग मधुवन वडानं. ५ का अध्यक्ष दिलीप गुरुङले गरे। ‘जैविक मार्ग क्षेत्र वरपर मानव वन्यजन्तुको द्वन्द्व बढ्दो छ,’ उनले भने,‘ सरकारले जैविक मार्गको उचित व्यवस्थापन गर्न नसक्दा द्वन्द्व बढ्दै गएको हो।’ मानव भन्दा वन्यजन्तुलाई प्राथमिकतामा राखेर सरकारले नीति बनाएको उनले आरोप लगाए।

खाता जैविक मार्ग क्षेत्रमा मानवीय क्षति भइरहँदा सरकारले कुनै चासो नदेखाएको उनको भनाई छ। वन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरणको लागि राज्यले ठोस नीति नल्याउँदा जनप्रतिनिधिहरू आक्रोशित भएका हुन।

वनलाई घना जङ्गल बनाउँदा वन्यजन्तुको आक्रमण बढिरहेको मधुवन नगरपालिका–४ का वडा अध्यक्ष बलिराम चौधरीले बताए। ‘वनलाई झाडीसहितको जङ्गल, घाँसे मैदान र पानी पोखरी बनाउँदा वन्यजन्तुको वासस्थान भएको छ,’अध्यक्ष चौधरीले भने,‘बस्ती नजिकै वन्यजन्तुहरूको वासस्थान हुँदा मानव र वन्यजन्तु बिच द्वन्द्व भइरहेको छ।’

जैविक मार्गलाई खुल्ला चरिचरण बनाउँदा सफा हुन्छ र वन्यजन्तुहरूको आवत जावत हुन्छ तर वासस्थानको माहोल हुँदैन। वन्यजन्तुको बाटोको रुपमा जैविक मार्ग व्यवस्थापन गरेपछि मात्र मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सकिने अध्यक्ष चौधरीले सुझाव दिए।

मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न वनमा आश्रितलाई रोजगारी सिर्जना हुने विशेष कार्यक्रम ल्याउन जरुरी रहेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए। ‘वन्यजन्तुले घर, अन्नबालीमा पु¥याएको सम्पूर्ण क्षति सरकारले व्यहोर्ने ग्यारेन्टी लिनुपर्छ,’नगर प्रमुख भाटले भने,‘अनि मात्र वन्यजन्तु अन्नबाली नोक्सान गर्दा धपाउन जादैनन र मानवीय क्षति हुँदैन।’ 

वन जङ्गल जान नपर्ने र घाँसको विउबिजन जस्ता सामान्य प्रकारको सहयोग नगरपालिकाले गरिरहेको उनले खुलाए। ठुला प्रकारका क्षति स्थानीय सरकारले दिन सक्दैन त्यसको लागि सङ्घीय र प्रदेश सरकारले ध्यान दिन पर्ने नगर प्रमुख भाटको भनाई छ। वन्यजन्तुको द्वन्द्वको समस्या लिएर केन्द्रमा पटक पटक जाँदा कुनै सुनुवाइ नभएको नगर प्रमुख भाटले भनाई राखे।

युएसएआईडी जैविक विविधताको सहयोगमा डिएआइ नेपाल द्वारा सञ्चालित ‘जल जङ्गल’ कार्यक्रम अन्तर्गत वन, वातावरण, जलवायु परिवर्तन, प्राकृतिक विपद्, जनजीविका तथा मानव र वन्यजन्तु बिचको द्वन्द्व विषयमा सरोकारवालासँग मित्र समाज काठमाडौँले छलफल गरेको छ। मानव वन्यजन्तु बिचको द्वन्द्व किन भइरहेको छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। 

प्रकाशित: २ श्रावण २०८१ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App