६ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा मनाइयो काफल दिवस

जुम्लामा अहिले लटरम्म काफल फलेका छन्। जेठको दोस्रो सातादेखि साउनको अन्तिम सातासम्मको अवधिलाई ‘काफलको सिजन’ भनेर चिनिन्छ।

‘काफलको सिजन’ लाई उल्लासपूर्ण बनाउन सोमबार जुम्लाको सिँजा क्षेत्रमा काफल दिवस मनाइएको छ। सिंजा क्षेत्रका जंगल यतिबेला काफल पाकेर राताम्मे छन्।

परापूर्वकालदेखि यहाँका बासिन्दाहरूले असारको अन्तिम दिन काफल खाएर असारलाई बिदाइ गर्ने परम्परा पालना गर्दै आएका छन्। यस वर्ष पनि यस परम्परालाई जोगाउन गाउँपालिकाले स्थानीय बिदा समेत दिएकाे छ।

सिँजाली क्षेत्रका बासिन्दाहरूको लागि हरेक वर्ष असारको अन्तिम दिन विशेष हुन्छ। काफल टिपेर, देउडा गाएर, रमाइलो गर्दै, उनीहरू असारलाई बिदा गर्छन्।

युवा-युवतीहरू काफल टिप्न पाटन पुग्छन्। यस परम्परालाई जोगाउन उनीहरूले हरेक वर्ष असार मसान्तमा काफल टिप्न जाने प्रचलन कायमै राखेका छन्।

विशेष गरी जुम्लाको क्षेत्र नम्बर ९ (ख), अर्थात् सिँजा क्षेत्रमा काफल टिपेर खाने प्रचलन छ। पाटनमा गएर काफल खाने चलन पहिलेदेखि चली आएको बुढापाकाहरू बताउँछन्।

यस वर्ष पनि सिँजा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष लालबहादुर बुढाले गत वर्षको गाउँ सभामा गरिएको निर्णय अनुरुपनै काफल दिवस धूमधामले मनाइएको बताए।

उनका अनुसार, गोवानी, दमाईमारे, डिके, देउलाडी, माजखरक, चौरीमेल जस्ता रमणीय पाटनमा मानिसहरू काफल टिपेर, देउडा र चड्किला गाएर रमाउने गर्छन्।

काफल टिप्नका लागि प्लास्टिक र निगालोबाट बनेका बस्तु लैजाने चलन छ। यस दिनबाट काफल बिस्तारै हराउन थाल्छ।

जुम्लामा जेठ १५ गतेबाट काफल पाक्न सुरु हुन्छ। यो दिन मन परेका युवायुवती भेटघाट गर्ने दिनको रूपमा पनि परिचित छ।

काफल टिप्न गएका युवायुवतीले मायाप्रीतिका देउडा खेल्ने गर्छन्। यो दिनमा अनिवार्य वर्षा हुनुपर्छ भन्ने विश्वास छ। साथै, गाई-गोरु लेकतिर लैजानुपर्ने मान्यता पनि रहेको छ।

पाटनमै दही, खीर, दूध, मासु, पुरी र तरकारी खाने चलन पनि रहेको छ। परम्परागत पहिरन पटुका, चोलो, धोती लगाउने र गलामा माला पहिरने गरिन्छ।

घरमा गाई नहुनेले बजारबाट पाउडरको दूध ल्याएर पनि खीर खानुपर्छ। जङ्गलमा चराचुरुङ्गीको आवाजले काफल पाकेको संकेत गर्छ। काफल पाकेपछि वन जङ्गल राताम्मे हुन्छ।

तराईमा जति जति गर्मीको राप चढ्दै जान्छ, त्यति नै पहाडका जङ्गलमा काफलको रङ्ग पनि गाढा हुँदै जान्छ।

जुम्लामा गाइने थुप्रै गीतमा काफलको प्रसङ्ग जोडिएको छ। यो दिन सिँजाली क्षेत्रका बासिन्दाहरूका लागि निकै महत्त्वपूर्ण र हर्षोल्लासपूर्ण हुन्छ।

प्रकाशित: ३१ असार २०८१ २२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App