२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

मणिपालको सिसियूमा थपियो ७२ शैया

पोखराको मणिपाल शिक्षण अस्पतालले ७२ शैयाको क्रिटिकल केयर युनिट (सिसियू) थपेको छ। यसअघि ९४ शैयाको सिसियू रहेको पोखराको फूलबारीमा रहेको मणिपालमा अब १६६ शैयाको सिसियू कक्ष पुगेको जनाइएको छ। योसँगै मणिपाल गण्डकी प्रदेशकै सबैभन्दा धेरै सिसियू कक्ष भएको अस्पताल बनेकोपनि दाबी गरिएको छ।

थपिएको सिसियू कक्षको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मणिपालले नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को सिसियू कक्ष थपेको दाबी गरेको छ। नवनिर्मित सिसियू कक्ष विरामीहरुको सुरक्षार्थ केन्द्रीकृत नियन्त्रण प्रणालीमा आधारित रहेको जनाइएको छ। सिसियू कक्षमा रहेको १६६ शै्यामध्ये २ वटा शै्या आइसोलेसन र ३ वटा सिसियूसहितको क्याविन रहेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले जानकारी दिए। 

सिसियू कक्षमा मोनिटर, भेन्टीलेटर, इसिजी मेसिन, युएसजी तथा इको प्रणालीहरु जडित रहेको अस्पतालले जनाएको छ। जस्ले गर्दा विरामीहरुलाई धेरै सहज हुने अस्पतालका प्रबन्ध निर्देशक डा.अभिषेक मास्केले बताए।  

उनका अनुसार यो कक्षमा २४ सै घण्टा क्रिटिकल केयर सम्बन्धि चिकित्सक सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र विरामीको अनुपात मिलाई नर्सिङ सेवा दिईने उनले बताए। क्रिटिकल केयर प्रशिक्षित नर्सहरु भएको अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स, डाईटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने उनले जानकारी दिए। 

सिसियू कक्ष थपेको मणिपालले अब स्वास्थ्य सेवाका लागि पोखरा बाहिर जानुपर्ने स्थितिको अन्त्य हुने दाबी गरेको छ। आजको युग प्रविधि मैत्री युग हो,नया सिसियू कक्ष सञ्चालनमा आएसँगै अस्पतालले भनेको छ, ‘हरेक क्षेत्रमा प्रविधिले ठुलो भुमिका निर्वाह गर्दै आएको सन्दर्भमा उपचार पद्दती पनि अछुतो छैन। यसैलाई हृदयङ्गम गर्दै यस अस्पतालले पनि आफ्नो उपचार क्षेत्रमा नविनतम प्रविधिहरुलाई अंगिकार गर्दै आएको छ। अहिले हामीले यसैलाई निरन्तरता दिएका हौं र भविष्यमापनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्दछौ ।’

उद्घाटन कार्यक्रममा बोल्दै बरिष्ठ छाती रोग बिशेषज्ञ डा. सिपी आचार्यले अब पोखराबाट उपचारका लागि बाहिर जानुपर्ने स्थिति अन्त्य हुने बताए। उनले भने, ‘अब पोखराबाट बाहिर जाने होईन, बाहिरका पोखरा भित्राउन सक्ने भएका छौं।’ 

मणिपाल अस्पतालका अध्यक्ष आनन्दराज बतासले अस्पताललाई सुविधा सम्पन्न बनाई पोखरामै सबै उपचार सम्भव बनाउन आफूहरु लागिरहेको बताए। उनले भने, ‘मणिपाल अस्पताल केवल अस्पताल मात्र नभई एउटा शिक्षण अस्पताल भएकोले उपचार शुल्क सुपथ र सरल हुनुपर्छ भन्ने तथ्य प्रति सचेत रहेका छौं। सेवामा गुणस्तरियता र शुल्कमा सुपथ हुनुपर्छ भन्ने मान्यतामा हामी छौं।’  उनले दुर्गममा बसेकालाई पनि टेलिमेडिसिन प्रविधिमार्फत मणिपालका चिकित्सकहरुद्वारा उपचार सेवा दिइने बताए । उनले मोबाइल भ्यान चाँडै संचालनमा ल्याई टोलटोलमा गई होल बडी चेकअफ गरिनेपनि उल्लेख गरे।

प्रकाशित: २८ असार २०८१ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App