२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिरो र चट्याङले २७ दिनमा ७० जनाको मृत्यु

कोसी ब्यारेज। पानीको बहाव अत्यधिक बढेपछि सम्भावित दुर्घटना रोक्न आइतबार ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। तस्बिर: नागरिक

नेपालमा पछिल्लो एक महिनामा मनसुनजन्य विपत्तिका कारण ७० जनाको मृत्यु भएको छ। गृह मन्त्रालय मातहतका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले संकलन गरेको तथ्यांकअनुसार मनसुनजन्य विपत्तिमा परी ७ को ज्यान गएको हो। मनसुनजन्य विपत्तिमा परेका केही सम्पर्कविहीन छन्। तीनवटै निकायको तथ्यांकमा एकरूपता भने देखिन्न।

मुलुकका विभिन्न भागमा शनिबार र आइतबारको वर्षासँगै बाढीपहिरोमा परी १४ जनाको ज्यान गएको छ। तीमध्ये नौजनाको पहिरो र पाँचको बाढीले बगाएर ज्यान गएको हो। पूर्वी क्षेत्रमा जेठ २८ गते मनसुन प्रवेश गरेको थियो। त्यसयता बाढी, पहिरो र चट्याङमा परी ७० जनाको ज्यान गएको हो। जेठ २८ यता बाढीपहिरोमा परेर र लेक लागेर ५१ र चट्याङबाट १९ को मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ।

 बाढीपहिरोबाट काठमाडौं उपत्यकामा एक, कोसी प्रदेशमा ११, मधेसमा दुई, बागमतीमा दुई, गण्डकीमा १९, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकसहित ४८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दाङमा बाढीले बगाएका दुईको शव आइतबार साँझ भेटिएको छ भने डडेलधुरामा पहिरोमा परी एकको मृत्यु भएको छ। यसरी मृतकको संख्या ५१ पुगेको हो।

कोसी प्रदेशमा ४१, गण्डकीमा १२ जनाको उद्धार गरिएको प्रहरी तथ्यांक छ। प्राधिकरणका अनुसार यो अवधिमा ३५ जनाको पहिरोबाट, नौजनाको बाढीबाट, १९ जनाको चट्याङबाट, दुईजनाको लेक लागेर र पाँचजनाको अन्य मनसुनी कारणबाट मृत्यु भएको छ। मुलुकभर केही दिनयता मनसुन सक्रिय छ।

पहाडी जिल्लामा पहिरो र तराईमा बाढी र डुबानले जनजीवन प्रभावित भएको छ। मुख्य राजमार्ग र सडकहरू पहिरोका कारण अवरुद्ध हुने र पहिरो पन्छाएर नियमित गराउने काम जारी छ। बाढीपहिरोबाट ६७ जिल्ला प्रभावित भएको प्राधिकरणले जनाएको छ। ३३ जिल्लामा  चट्याङबाट प्रभावित भएका छन्।

शनिबार देशभर सक्रिय मनसुन आइतबार साँझसम्म आइपुग्दा सुदूरपश्चिममा बढी सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमका जिल्लाका नदी बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबारबाट मनसुनको सक्रियता केही घट्ने सम्भावना रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा यसअघि नेपालनजिक रहेकोमा सोमबारदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

मनसुनको सक्रियता घटे पनि वर्षा भने भइरहने छ। मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमस्तरको वर्षाको सम्भावना भने रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

‘वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने’ बुलेटिनमा उल्लेख छ। यस वर्ष तुलनात्मक रूपमा नेपालमा बढी मनसुन सक्रिय हुने महाशाखाले यसअघि नै जनाएको थियो। सरदरभन्दा बढी पानी पर्ने र करिब १८ लाख मानिस प्रभावित हुने प्राधिकरणको अनुमान छ।

प्रकाशित: २४ असार २०८१ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App