२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

देशभर वर्षाको वितण्डा: ९ जनाको मृत्यु, ६ जना बेपत्ता, ५० भन्दा बढी सडक अवरुद्ध

लगातारको वर्षाले देशैभर वितण्डा मच्चाएको छ। शुक्रबार साँझबाट देशका सबैजसो जिल्लामा वर्षा हुने क्रम झन् बढेको थियो।

वर्षाले सिर्जना भएको बाढी, पहिरो र डुबानले देशैभर व्यापक मात्रामा जनधनको क्षति पुगेको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै नाैं जनाको ज्यान गएको छ। यस्तै ६ जना वेपत्ता छन् भने दर्जनौं घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार मृत्यु हुनेमा तीन जना स्याङ्जा, दुई जना पर्वत, एकजना दाङ, दुई जना काभ्रे र एकजना काठमाडौंका छन्।

वेपत्ता हुनेहरूमा दुईजना दाङ, तीन जना तनहुँ र एकजना दोलखाका छन्। यद्यपि यो संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ।

यस्तै काठमाडौं उपत्यकालगायत देशभरका अधिकांश ठाउँका बस्तीमा बाढी पसेर डुबानका घटना भएका छन्। जसबाट ठूलो धनमालमा नोक्सानी पुगेको छ।

यस्तै देशभकार ४० देखि ५० ठाउँका राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सुरक्षित भनिएको ठाउँमा बस्दा गयो ज्यान

स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा पहिरोले पुरिएर तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा–६ माझकोटकी ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्मा रहेका छन्।

मृतकहरूको माझकोटको घर जोखिममा रहेको ठानेर लामाखेतस्थित ईश्वरी लम्सालको घरमा सारिएको थियो। सोही ठाउँमा पनि दिउँसो अकस्मात पहिरो आउँदा उनीहरू पुरिएका। सोही पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।

उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन्। उता पर्वतमाको फलेबास नगरपालिका–१ कार्कीनेटा टिमुरबोटमा पहिरोले घरगोठ बगाउँदा दुईजनाको मृत्यु भएको छ।

दिउँसो आएको पहिरोले कुलबहादुर उपाध्यायको घर बगाउँदा फलेबास–१ कै ४० वर्षिय झलकप्रसाद शर्मा पौडेल र आँधीखोला गाउँपालिका–३ घोरढुंगाका ३३ वर्षिय तुलसीप्रसाद शर्मा वेपत्ता भएका थिए। पछि खोजी गर्दा झलकप्रसादको शव आँधीखोला–४ सेपथमा र तुलसीरामको शव नजिकै पहिरोमा भेटिएको प्रहरीले जनाएको छ।

त्यसैगरी उक्त पहिरोले दुईवटा भैंसी, एउटा गोरु र चारवटा बाख्रा समेत बेपत्ता पारेको जनाइएको छ।

यस्तै काठमाडौंको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर गोरखाको लखन थपा गाउँपालिका–६ का मनोज विकको ज्यान गएको छ।

उनी नागार्जुनमा ट्रपिकल रेस्टुरेन्टमा काम गर्दैआएका थिए। रेस्टुरेन्टको भान्साघर पहिरोले पुर्दा उनी घाइते भएका थिए। त्यसपछि उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पुर्‍याइएको थियो। जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै दाङको राजपुर गाउँपालिका– ५ सालभौडीस्थित गंगदी खोलामा बाढीले ट्याक्टर बगाउँदा स्थानीय छेदुराम चौधरीको मृत्यु भएको छ। पहिले बाढीले ट्याक्टर डुबाएको थियो। बाढी कम भएपछि ट्याक्टर निकाल्ने क्रममा चौधरीको शव ट्याक्टरले च्यापिएको अवस्थामा फेला परेको छ।

यसैगरी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाले ज्यान गुमाएका छन्।

साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उनकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगरले ज्यान गुमाएका हुन्।

घरको सामान सार्दासार्दै..

उता तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर तीनजना वेपत्ता भएको प्रहरीले जनाएको छ।

दिउँसो पहिरोको डरले घरको सामान सार्ने क्रममा आएको पहिरोमा परेर ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षिय श्याम भण्डारी वेपत्ता भएका हुन्।

उनीहरू वेपत्ता भएकी हिरा र सुनमाया कुमालको घरको सामान सारिरहेको बताइएको छ।

यस्तै दाङको राप्ती नदीको बाढीमा बगेर दुईजना वेपत्ता भएका छन्। लमही नगरपालिका–८ बग्रापुरस्थित नयाँबस्तीका ६२ वर्षीय मनियम चौधरी र राजपुर गाउँपालिका–२ का १९ वर्षीय राजकुमार यादव भएका छन्।

यादब शनिबार बिहान दूध बेच्न लमही गएका थिए। दूध बेचेर फर्किने क्रममा लमही नगरपालिका– ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बाढीले बगाएर उनलाई वेपत्ता पारेको हो।

उनीसँगै नदी तर्न खोजीरहेका राजपुर–२ कै ४० वर्षीय दयाराम यादव र ४८ वर्षीय तुलाराम यादवको भने उद्धार गरिएको छ। यस्तै दोलखाको गौरीशंकर गाउँपालिका–९ डोडाङमा बाढीमा परेर एक जना वेपत्ता भएका छन्।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्गमा रहेको एक होटलकी सञ्चालिका ६४ वर्षीया जाङमु शेर्पा वेपत्ता भएकी छन्। सोही स्थानका तीन वटा घर बाढीले बगाएको छ। देशैभरका सडक अवरुद्ध यस्तै वर्षापछिको बाढी पहिरोले देशैभरका प्रमुख राजमार्गहरू समेत अवरुद्ध पारेको छ।

प्रहरीका अनुसार उपत्यका जोड्ने कान्ति लोकपथ, चित्लाङ मकवानपुर सडक, मुगलिन–काठमाडौं सडक पहिरोले अवरुद्ध पारेका छन्।

यस्तै विपी राजमार्ग, पासाङ ल्हामु राजमार्ग, सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्गलगायतका प्रमुख राजमार्गहरू पनि विभिन्न ठाउँमा अवरूद्ध छन्।

यस्तै कोसी राजमार्ग, सिद्धिचरण राजमार्ग, स्याफ्रुबेसी–थाम्बुचेत सडक खण्ड, चखेल—देउराली सडक, अरनिको राजमार्ग, चामे–बेसीसहर सडक, बेनी–दरबाङ सडक, बेनी–जोमसोम सडक, बेसीसहर–मनाङ सडकहरू पनि विभिन्न ठाउँमा गएको पहिरोले अवरूद्ध छन्।

उता स्याङ्जामा पहिरो जाँदा सिद्धार्थ राजमाग पनि अवरुद्ध छ। उता पश्चिमी क्षेत्रमा कर्णाली राजमार्ग, साँफे–मार्तडी सडक, जयपृथ्वी राजमार्ग, गोकुले–दार्चुला सडक, घोराही–तुल्सीपुर सडकलगायतका सडकहरू पनि अवरुद्ध छन्।

नेपाल प्रहरीका सह-प्रवक्ता अधिकारीले देशभरका कम्तिमा पनि ४०देखि ५० वटा सडकहरू अवरुद्ध रहेको जानकारी दिए।

राजधानी जलमग्न, ठुला नदीको जलसहत बढ्यो यता राजधानी उपत्यकामा भारी वर्षाले नदीमा बाढीको सतह बढ्दा जलमग्न रह्यो।

दिनभर बागमती, मनोहरा, हनुमन्ते लगायतका खोलाहरूमा बढेको जलसतहले काठमाडौं, भक्तपुर र ललितपुरका खोला आसपासका क्षेत्र दिनभर डुबानमा रहे।

डुबानकै कारण करिडोरका सडकहरू समेत दिनभर अवरुद्ध बनेका थिए। साँझ वर्षा रोकिएपछि भने सामान्य अवस्थामा फर्किन थालेका छन्। उता देशकै ठुला नदीहरू सप्तकोसी र नारायणी नदीको जलसतहले खतराको तह पार गरिसकेका छन्।

सप्तकोसीको जलसतह यसवर्षकै उच्च विन्दु पार गरिसकेको छ। दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जनाएको छ।

अहिले नदीको बहाव बढेसँगै कोसी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन्। यस्तै नारायणी नदीको जल सतहले खतराको तह पार गरेको नारायणी नदी देवघाट बाढी मापन केन्द्रले जनाएको छ।

जलसतह ९ मिटर मापन गरेर खतरा तह पार गरेको जनाएको छ।

प्रकाशित: २२ असार २०८१ २३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App