२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दोलखाको उत्तरमा बाढीको वितण्डा, माथिल्लो तामाकोसी आयोजना बन्द

रोल्वालिङ खोलामा आएको बाढीले तहसनहस पारेको दोङगाङ बस्ती। तस्बिर : स्थानीयको सामाजिक सञ्जालबाट

अविरल वर्षासँगै आएको बाढीले दोलखाको उत्तरमा वितण्डा मच्चाएको छ। खोलामा आएको बाढीले किनारामा रहेको एउटा सानो बस्ती बगाउँदा एक महिला बेपत्ता भएकी छन्।

यस्तै तामाकोसी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण गए राति देखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन सहित सबै प्लान्ट बन्द गरिएको छ।

स्थानीय अधिकारीहरूका अनुसार गए राति देखि नै वर्षा अत्यधिक भइरहेको छ।अविरल वर्षासँगै आएको बाढीले रोल्वालिङ पदमार्गका तिन घर बगाउँदा एक महिला बेपत्ता भएकी छन्।शनिबार राति रोल्वालिङ खोलामा आएको बाढीले उक्त पदमार्गमा रहेको दोङगाङ बस्तीका तिन घर बगाएको छ। 

जिल्लाको उत्तरी गौरीशङ्कर गाउँपालिका-९ मा पर्ने यो बस्ती च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका जाने पदमार्गमा पर्छ। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार उक्त बाढीमा परेर बेपत्ता भएकी ६० वर्षीय महिला जाङ्मु शेर्पाको खोजी भइरहेको छ।

बाढीले खोला किनारका थुप्रै  भागहरू कटान गरिदिएको छ।उत्तरी भेगमा अत्यधिक बर्षात भइरहेको र स्थानीय बासीलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन्।

तामाकोसी नदीमा बाढी पस्दा मध्यरात बाट माथिल्लो तामाकोसी जलविद्युत आयोजना बन्द गरिएको छ। आयोजनाका अधिकारीहरूका अनुसार गए राति १ बजेबाट प्लान्ट बन्द गरिएको छ।

नदीमा पानीको मात्रा २ सय ८५ घन मिटर प्रति सेकेन्ड पुगेपछि जोखिम बढेर प्लान्ट बन्द गरिएको आयोजनाका प्लान्ट प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले जानकारी दिए।

उनका अनुसार गत वर्ष २ सय घन मिटर प्रति सेकेन्ड सतह पुग्दा समेत आयोजना बन्द गरिएको थिएन।

आयोजनाले बाँधका सबै ढोका खोलेको छ। आयोजनाको प्रवेश सडकका कतिपय स्थानमा स-साना पहिरो खसेका छन्। उत्तरी केन्द्र सिंगटी बजारका स्थानीय बोधराज श्रेष्ठका अनुसार अत्यधिक बर्षातले जनजीवन अस्तव्यस्त बनाएको छ। 

प्रकाशित: २२ असार २०८१ १४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App