३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध: झरीले पहिरो पन्छाउन समस्या

अविरल वर्षाले पहिरो खस्दा म्याग्दीका सदरमुकाम बेनी र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन्।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएकाे छ।

प्रहरीका असुसार सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गरेका छन्।

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताए। आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन्। पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ।

पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन। 

प्रकाशित: २२ असार २०८१ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App