२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

कोशीमा पानीकाे बहाव घटबढ, तटबन्ध क्षेत्रका बासिन्दा त्रसित

फाइल।

सप्तकोसी नदीमा पानी बहाव घटबढ भइरहँदा पूर्वी तटबन्ध क्षेत्रका बासिन्दा त्रसित भएका छन्। मंगलबार साँझ ६ बजे पानीको बहाव दुई लाख ३१ हजार ८०० प्रतिसेकेन्ड क्युसेक पुगेकोमा बुधबार अपराह्न ३ बजे एक लाख ६१ हजार ३२५ मा झरेको छ।

पानीको बहाव घटबढ हुँदा कटान तीव्र रुपमा हुने गरेकाले पूर्वी तटबन्ध क्षेत्रका बासिन्दा त्रसित भएका हुन्। अहिलेसम्म पूर्वी तटबन्ध क्षेत्रको अवस्था भने सामान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।

सप्तकोसी नदीमा पानीको बहाव घटबढसँगै सुरक्षामा संवेदनशील मानी सतर्कता भने अपनाइएको छ।

कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले २७ वटा खुल्ला गरिएको छ। पानीको बहाव बढेमा आवश्यकता अनुसार, अरु ढोका खुल्ला गर्न भारतीय पक्षलाई आग्रह गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको बहाव चार लाखभन्दा मुनी नै रहेकाले कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।

२०६५ भदौ–२ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर कोसी गाउँपालिकाका चारवटा बस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार कट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख कट्ने बितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

प्रकाशित: १९ असार २०८१ १९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App