इन्द्रावती खोलाको भङ्गालोमा परी शनिवारबाट बेपत्ता इङ्वा हाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)रवि रावलका अनुसार पाँचथरको याङवरक गाउँपालिका वडा नं ३ स्थित इङ्वा हाइड्रो पावरमा कार्यरत भारतीय नागरिक बैकुण्ठ बिहारीको शव आइतबार फेला परेको हो।
बिहारीको शव ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको सिदिङ्वा गाउँपालिका वडा नं ३ इन्द्रावती खोलाको सितेधार नजिक फेला परेको प्रहरीले जनाएको छ। शनिवार हाइड्रो नजिक रहेको ढुङ्गे भन्ने स्थानमा शौच गर्ने क्रममा अचानक चिप्लिएर बिहारी इन्द्रावती खोलाको भङ्गालोमा परेका थिए।
सो हाइड्रो पावरमा मिम्चर चलाउँदै आएका उनी इन्द्रावती खोलाको भङ्गालोमा परेको खबर पाउनासाथ ताप्लेजुङ र पाँचथरमा रहेका आसपासका प्रहरी युनिटहरूद्वारा खोजी कार्य जारी राखिएको थियो। खोजी गर्ने क्रममा बिहारीको शव भेटिएको र आवश्यक कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालतर्फ पठाइएको ताप्लेजुङ प्रहरीले जनाएको छ।
प्रकाशित: ९ असार २०८१ १६:४३ आइतबार