१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नदी सरसफाइमा काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले यहाँका नदीहरूको सफाइ सुरु गरेको छ। वातावरण विभागअन्तर्गतका ५५ कर्मचारीले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ। सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन्।

सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ। उक्त समूहले अन्य नदीमा भन्दा इच्छुमतीमा बढी फोहर भेटिएको समूहका ‘सुपरभाइजर’ सागर लुइँटेलले बताए।

रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ। महानगरपालिकाको समूहले सफाइ गरूञ्जेल सफा देखिएको रुद्रमतीमा अहिले प्लाष्टिक लगायत फोहर थुप्रिन थालेको छ।

सफाइ गरुञ्जेल आकर्षक देखिएको नदी अहिले फेरि फोहर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकाल बताउँछन्। महानगरपालिकाले सफाइ गर्ने तर नदीमा रेखालु नराख्दा ‘हिंड्दैछ पाइला मेट्दैछ’ भनेजस्तो अवस्था देखिएको उनले सुनाए।

महानगरपालिकाले यस क्षेत्रका अन्य नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ। महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहर हाल्नाले दुर्गन्धित बनेको छ। नदी किनारबाट हिंड्दा नाक थुनेर हिंड्नुपर्ने अवस्था छ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ सुरु गरिए पनि नदी अपेक्षा गरेअनुसार सफा हुन सकेको छैन। वाग्मती सफाइ महाअभियानले पाँच सय ८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन। वाग्मतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ सुरु भए पनि नदीका अवस्था उस्तै छन्।

जनस्तरबाट सुरु भएको महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ। गुनासोबीच नै महानगरपालिकाले नदी सफाइ सुरु गरेको हो।

प्रकाशित: ९ असार २०८१ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App