२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय वनरक्षककाे अपहरणमा पर्दै सीमा क्षेत्रका नागरिक, राज्य बेखबर

भारतीय वन रक्षकको कुटाइबाट घाइते भएका खगेन्द्र। तस्बिर: निर्मल/नागरिक

नेपाल–भारतको खुला सीमा गुलरिया नगरपालिका वडा नम्बर-९ रामपुरका २० वर्षीय खगेन्द्र सुनारलाई शनिबार भारतीय वन रक्षकले अपहरण गरे।

खगेन्द्रको खोजीमा रहेका आफन्तले भारतीय वन रक्षकले बन्धक बनाएको थाहा पाए। भारतीयले पचास हजार रकम तिरेमा खगेन्द्रलाई छाड्ने सर्त राखेपछि उनका आफन्तले उक्त रकम तिर्ने सर्तमा सोमबार खगेन्द्र रिहा भएका छन्।

भारतीय वन रक्षकको कुटपिटबाट उनको देब्रे खुट्टको हड्डी दुई टुक्रा भएको एक्स-रे मा देखिन्छ। विपन्न परिवारका खगेन्द्रलाई अप्रेसन गर्न डाक्टरले सुझाए पनि उनी मात्र मलमपट्टिको सहारामा घरमै बस्न बाध्य छन्।

 खगेन्द्रकाे एक्स-रे

मानसिक असन्तुलन पिडामा रहेका खगेन्द्रको परिवारले भारतीयलाई पैसा नबुझाए ज्यानको जोखिम आँखै अघि देखेका छन् भने औषधि उपचार नगरे छोराको स्वास्थ्य अवस्था बिग्रने चिन्ताले उनको आमालाई पिरोलिरहेको छ।

सीमामा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मी वन रक्षकले नेपाली माथि ज्यादती गरेको एक पछि अर्को घटना सार्वजनिक भइरहेको छ। यसअघि घटनाका दुई जना नेपालीको अवस्था अझै अज्ञात छ।

२०७२ फागुन १२ गते दाउरा बटुल्न जाँदा भारतीय सुरक्षाकर्मीले मुर्तीहा नजिकबाट आशापुरका ४६ वर्षीय राम मिलन लोधलाई नियन्त्रणमा लिएका थिए। हालसम्म उनको अवस्था अज्ञात छ।

यस्तै, २०६७ फागुनमा जमुनि-९ बस्ने हर्क बहादुर शाहीलाई घरकै अडहर बारीबाट भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको थियो। पक्राउ पछि शाहीको अवस्था अझै खुल्न सकेकाे छैन।

अघिल्लो साता भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेर पाँच जना नियन्त्रणमा लिएर वन्यजन्तु अपराधमा भारतीय कारागार पठाएको घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको हाे।

भारतीय वनकर्मीले विपन्न वर्गका पाँच जनासँग ठूलो रकमको ‘डिमान्ड’ गर्दा जोहो नगरेपछि झुटा मुद्दामा सीमाका नेपालीलाई फसाएको यहाँका स्थानीय बताउँछन्।

सिमानामा नेपाली नागरिकलाई भारती वन रक्षकहरूले रकम असुल गर्न मात्र नेपाली भूमि प्रवेश गरेर नियन्त्रण लिने गरेको सीमावासीको गुनासो छ।

कुटपिट गर्ने धरपकड गर्ने पैसाको लागि विभिन्न आरोपमा अपहरण गर्ने बेपत्ता पारी हत्या समेत गरेका यसअघिको रेकर्डमा देखिन्छ।

नेपाल सरकार आफ्ना जनताको सुरक्षाको निम्ति केही पहलकदमी नचालेको र  मूकदर्शक बनेको गुलरिया-९ का अध्यक्ष हरिप्रसाद पासवानले बताए। राज्यले कुनैपनि सुरक्षामा कडा निगरानी नराखेको उनको गुनासो छ।

जिल्ला सुरक्षा प्रमुखले उच्च भारतीय अधिकारी समन्वयमा देखाएकाे कमजोरीका कारण सीमाका भारतीय कर्मचारीले उग्र दमन गरेको उनको तर्क छ।

बर्दियामा पाँच महिनामै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई सरुवा गरेको थियाे। एक साता अघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मा पनि यतिबेला काठमाडौंमा छन्।

नेपाल र भारतको ८३ किलोमिटर खुला सीमा नजिक दर्जन बढी सीमावर्ती गाउँ छन्। सुरक्षा प्रमुखले भारतीय उच्च अधिकारीसँग देखिएको कमजोर सम्बन्धका कारण सीमावर्ती क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मीले नेपालीहरूलाई प्रताडित गर्ने गरेको स्थानीय बताउँछन्।

प्रहरीको ध्यान किनमेलमा जाने सर्वसाधारण माथि मात्र हुन्छ। यस्ता बेपत्ता पार्ने ,नेपालको भूमिमा आएर नियन्त्रण लिने, खुलेआम भारतीयले खुलेआम असुली धन्धा चलाउँदा नेपालको प्रशासन मौन छ।

सशस्त्र प्रहरी ३१ नम्बर गणका एसपी चित्राङ दाहालले भारतीय क्षेत्र भित्र माछा मार्न गएका अवस्थामा खगेन्द्रलाई नियन्त्रणमा लिएको बताए। उनले भने ‘भारतीय पक्षका सीमा सुरक्षा बलसँग हाम्रो समन्वय भइरहेको छ। यसबारेमा भारतीय सीमा सुरक्षा बल अनभिज्ञ छ, वनको टोलीले ज्यादती गरेको देखिन्छ।’

मानसिक सुस्तता भएकालाई मानवता हेरेर पनि कुटपिट गर्न नहुने एसपी दाहाल बताउँछन्।

प्रकाशित: ४ असार २०८१ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App